Comments Add Comment

देउवालाई प्रश्न सोध्ने युवकलाई आफैं प्रधानमन्त्री बन्ने रहर

'म एमाले हैन, नयाँ शक्तितर्फ आशा छ'

३ साउन, काठमाडौं । अघिल्लो साता प्रधानमन्त्री शेरबहादुर देउवाले बीबीसी साझा सवालमा एक युवाको आलोचना खेपे । ती युवकले सोधेको एउटा प्रश्नमा देउवाले ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भनेपछि यो विषयले सामाजिक सञ्जाल निकै दिनसम्म तरंगित बनायो । अहिले त्यो तरंग मत्थर भएको छ ।

तर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने २६ वर्षीय सागर ढकालको मन-मस्तिष्कमा उब्जेको प्रश्न भने अझै मत्थर भएको छैन । उनी अझै पनि आफैंलाई सोधिरहेका छन्, आखिर मेरो प्रश्नमा के खराबी थियो ?

‘म अझैसम्म बुझ्न सकिरहेको छैन प्रधानमन्त्रीज्यू किन त्यसरी क्रोधित हुनुभयो?’ अनलाइनखबरसँग ढकालले भने, ‘मैले त एउटा नागरिकको नाताले आफ्नो मनमा रहेको जिज्ञासा प्रधानमन्त्रीसमक्ष राखेको थिएँ ।’

यद्यपि, नजिकका व्यक्तिहरुले उनलाई त्यही प्रश्न अलिकति नरम शैलीमा सोधेको भए हुन्थ्यो कि भनेर सुझाव पनि दिएका छन् । ‘परिवार र केही साथीभाइले मलाई भने कि प्रश्न राम्रो थियो, तर म बढी आक्रामक भएँ,’ उनले भने, ‘तर देशको राजनीतिप्रति असन्तुष्टिको ज्वारभाटा बोकिरहेका म जस्ता युवाहरुमा त्यति आक्रोश सामान्य हो ।’

देशको प्रधानमन्त्री जनताबाट आउने जस्तोसुकै प्रश्नको पनि सामना गर्न तयार रहनुपर्ने उनको तर्क छ ।

उदाहरण दिँदै उनले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लाइभ कार्यक्रममा कस्ता-कस्ता प्रश्न फेस गर्नुपर्छ ? उनीहरु त कहिल्यै यसरी उत्तेजित बनेको हामीले देखेका छैनौं ।’

को हुन् सागर ढकाल ?

गुल्मी घर भएका सागर पेशाले इन्जिनियर हुन् । राजनीतिमा उनको गहिरो अभिरुची छ ।

उनले दुई वर्षअघि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट हाइड्रो मेकानिकल इन्जिनियरिङको पढाइ पूरा गरेका थिए । पुल्चोक क्याम्पसमै बसेर उनले विगत ३ वर्षदेखि ‘लो हेड हाइड्रपावर रिसर्च’मा काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय पत्रिकाहरुमा आफ्ना रिसर्च पेपर प्रकाशित भएका सागर बताउँछन् ।

उर्जा मन्त्रालय अन्तरगत ४१० मेघावाटको नलसिङगाड हाइड्रोपावर विकास समितिमा हाइड्रो मेकानिकल इन्जिनियरका रुपमा पनि उनी काम गरिरहेका छन् । उनी पढाउछन् पनि । पुल्चोकमा १२ कक्षाको परीक्षा दिइसकेका र इञ्जिनियरिङ पढेका विद्यार्थीहरुलाई गणित र ड्रोइङ पढाउँछन् । अहिलेसम्म ७-८ वटा किताब पनि लेखिसकेको उनले सुनाए ।

कसरी पुगे साझा सवालमा ?

‘पुल्चोक क्याम्पसमा अध्ययन गर्ने मैले ट्यूसन पढाएकी एउटी बहिनी साझा सवालमा पहिले गएकी रहिछन् । प्रधानमन्त्रीसँग हुने अन्तरक्रियामा प्रश्न सोध्नका लागि उनलाई एक जना सिफारिस गर्न भनिएछ र उनले मेरो नाम टिपाइछन् । अनि, मलाई साझा सवालबाट फोन आयो र मैले निमन्त्रणा स्वीकार गरे’ सागरले साझा सवालमा पुग्नुको कारण खुलाए ।

देशको प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाइने भनेपछि सागर निकै उत्साहित बनेका थिए । मनमा थुप्रै प्रश्नहरुका गुच्छा बोकेर उनी साझा सवालमा भाग लिन बालुवाटार पुगे । त्यहाँ पुगेपछि उनलाई थाहा भयो कि एकजनाले एउटा प्रश्न मात्र सोध्न सक्छन् ।

‘त्यसपछि एउटा सबैभन्दा महत्वपूर्ण प्रश्न आफूसँग राखेर बाँकी प्रश्न अरु सहभागीलाई बाडेँ,’ उनले भने ।

सागरले सोधेको प्रश्न हामी सबैलाई थाहै छ । तैपनि पुनस्मरणका लागिः

‘ली क्वान यूलाई सिंगापुर दिँदाखेरि ढुंगा दिइएको थियो, उनले हिरा बनाए । नेपाललाई तपाईंको हातमा दिँदा हिरा दिइएको थियो तर ढुंगा बनाएर छोड्नुभयो । यसको कारवाही कसले गर्ने ?’

त्यसमै उनले थपेका थिए, ‘सिंगापुर, अमेरिका, चाइना, बेलायत सबै देशमा अति उत्कृष्ट विद्यार्थीहरु मात्रै प्रधानमन्त्री भएका छन् । उदाहरणका लागि बेलायतको विगत ७० वर्षदेखि सम्पूर्ण प्रधानमन्त्रीहरु अक्सफोर्ड विश्वविद्यालयबाट छन् । नेपालको विगत ७० वर्षदेखि हाम्रो मन बुझ्ने प्रधानमन्त्री हामीले कुनचाहिँ पायौं ? तपाईं कहिले विस्थापित हुने ? चारचोटि, पाँचचोटि प्रधानमन्त्री भइसक्नुभो, तर जनताको प्रधानमन्त्री तपाईं कहिले हुने ?’

यो प्रश्नबाट चिढिएका देउवा प्रश्नकर्तामाथि यसरी खनिएका थिएः

‘हेर्नुस, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ । कहाँबाट ल्याउने अक्सफोर्ड विद्यालय यहाँ ? तपाईंले चाहँदैमा हुने कुरा होइन नि । तपाईंले चाहेकै व्यक्ति -प्रधानमन्त्री) हुनुपर्छ भन्ने छ ? म तपाईंले चाहेजस्तै बन्नुपर्छ भन्ने के छ ? जनताको इच्छा अनुसार प्रधानमन्त्री भएको हुँ । जनताले चुनेको होइन मलाई ? पार्लियामेन्टबाट बहुमत पाएको होइन ? तपाईं बढ्ता नबोल्नुस ।’

यस्तो प्रश्नोत्तरपछि सामाजिक सञ्जालमा धेरैले प्रधानमन्त्री देउवाको विरोध गरे । तर, कांग्रेस र देउवाप्रति सहानुभूति राख्ने एकथरीले उनको बचाउ गर्ने क्रममा बीबीसी र प्रश्नकर्तामाथि आलोचना गरे । सहभागीलाई तुच्छ प्रश्न सोध्न लगाएर बीबीसीले प्रधानमन्त्रीलाई खुइल्याउन खोजेको भनेर बीबीसीको समेत आलोचना भयो ।

हामीले ढकाललाई सोध्यौं, ‘कतिपयले त तपाईंले सोधेको प्रश्न नै प्रायोजित थियो भने नि ?’

सागरका अनुसार कार्यक्रमअघि सबै सहभागीहरुलाई प्रश्न सोध्ने अभ्यास गराइएको थियो तर, प्रश्नहरु स्वतःस्फूर्त थिए । ‘सबैलाई मनमा लागेको प्रश्न सोध्न भनिएको थियो,’ उनले भने ।

आफूले सोधेको प्रश्नलाई प्रधानमन्त्रीले गलत रुपमा बुझेको सागरको तर्क छ । उनले भने, ‘मैले नेपालमा अक्सफोर्डमा पढेको प्रधानमन्त्री चाहियो भनेको थिइनँ, उदाहरण मात्र दिएको थिएँ । नेपालमा पनि पढाईमा अब्बल व्यक्तिहरु राजनीतिमा आएर मन्त्री, प्रधानमन्त्री बन्नुपर्छ भन्ने मेरो आशय थियो ।’

अझै जवाफ खोज्दैछु

सागर अहिले पनि आफ्नो प्रश्नको जवाफ खोजिरहेका छन् । ‘नेपालमा ब्याक बेन्चरहरुले मात्रै देश हाँक्ने कहिलेसम्म ?’ उनी सोध्छन्, ‘पढाइमा अब्बल विद्यार्थीहरु राजनीतिमा आउने बाटो कहिले खुल्छ ?’

‘तर, देउवा नपढेका नेता होइनन् नि ? राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । कानूनमा स्नातक गरेका छन् । लन्डनमा पनि पढेर आएका हुन्,’ उनलाई भनियो ।
सागरले जवाफ दिए, ‘मैले देउवाले पढ्नुभएको छैन भनेको होइन । पढाइसँगै भिजन पनि चाहिन्छ । उहाँको भिजन जिरो छ ।’

सागरले चीनको उदाहरण दिए ।

‘चीनका राष्ट्रपति सी जिन पिङ केमिकल इन्जिनियर हुन् । उनीसँग भिजन पनि ठूलो छ । हेर्नुस, उनले देश कसरी हाँकिरहेका छन्,’ उनले भने । सागरले यो पनि दावी गरे कि चीनमा विगत ३० वर्षयता जति पनि राष्ट्रपति भएका छन्, सबै इञ्जिनियर हुन् ।

अनि भने, ‘देश विकासको खाका कोर्न सक्छन् इञ्जिनियरले । तर, नेपालमा खोई इञ्जिनियरहरुलाई नेतृत्वमा ल्याइएको ? खोई मन्त्रीपरिषदमा एकजना पनि इञ्जिनियर ? इञ्जिनियरलाई पाखा लगाइएपछि कसरी बन्छ देश ?’

ओली र प्रचण्डलाई पनि प्रश्न

प्रधानमन्त्री देउवालाई कडा प्रश्न सोधेपछि कतिपयले सागरलाई एमालको बिल्ला पनि भिराए । तर, उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झन् कडा प्रश्न सोध्न चाहन्छन् ।

उनले आफूले सोध्न चाहेको प्रश्न त खुलाएनन्, तर यति भने, ‘मेरो प्रश्नको जवाफ उहाँले पनि दिन सक्नुहुन्न र यसैगरी उम्लिनुहुन्छ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले त झन् आफूलाई फेसै गर्न नसक्ने उनको दाबी छ ।

यसकारण बिग्रियो देश

देशको दुरावस्थाप्रति चिन्ता लिइरहने युवा हुन् सागर । ठूला राजनीतिक दलका सीमित नेताहरुका कारण देशको यो ‘विजोग’ हुन पुगेको उनी टिप्पणी गर्छन् ।

‘५०-६० वर्षअघि हाम्रो देश कुन स्थानमा थियो र आज कुन स्थानमा छ ?’ उनले प्रश्न गरे, ‘त्यतिबेला सबै जनता मिलेर बसेका थिए । जातजातिबीच भाँडभैलो थिएन । राष्ट्रियता हराएर जातीयता हावी भएको छ । देशका युवाहरु विदेशमा हाड घोटिरहेका छन् । हामी विश्वकै गरिब देशका रुपमा चिनिन थालेका छांै । यो सबैको जिम्मेवार को हो ? ‘

उनलाई सबैभन्दा बढी बिझेको विषय हो राजनीतिक भागबण्डा र कोटा प्रणाली ।

‘न्यायाधीश नियुक्तिदेखि राजदूत नियुक्तिसम्म दलहरुबीच भागबण्डा गरिन्छ । सरकारी जागिरमा योग्यता र क्षमता होइन, जात हेरिन्छ । राजनीतिक भागबण्डा र जातका आधारमा आरक्षणको अन्त्य नभएसम्म देश उँभो लाग्दैन,’ उनले ठोकुवा गरे ।

उनले उदाहरण दिए, ‘मानौं तपाईं घर बनाउँदै हुनुहुन्छ । अब घर बनाउने मिस्त्री खोज्दा तपाईंले सीप र दक्षता हेर्नुहुन्छ कि राजनीतिक आस्था र जात हेर्नुहुन्छ ? राजनीतिक आस्था र जातका आधारमा मिस्त्रिहरु ल्याउनुभयो भने तपाईंको घर कस्तो बन्ला ? हो नेपालको यही घरको जस्तै हालत हुनेवाला छ ।’

उनी भन्छन्- ‘राजनीतिक भागबण्डाका आधारमा स्तरहीन मान्छे मन्त्री बन्छन्, अनि उनीहरुले पढेलेखेका र अनुभवी सचिवहरुलाई थर्काउँछन् । यो सिस्टमलाई कसरी गतिलो मान्ने ?’

अन्य देशका मन्त्रीहरुसँग नेपालका मन्त्रीहरुको तुलना गर्दा लाज लाग्ने उनले बताए ।

नयाँ पार्टीहरुबाट आशा

देशका पुराना राजनीतिक दलहरुसँग सागरलाई अब कुनै आशा छैन । बरु नयाँ खुलेका पार्टीहरु विवेकशील र साझा पार्टीबाट उनलाई केही आशा छ । आगामी दिनमा विवेकशील नेपाली पार्टीबाट आफूले राजनीति गर्न सक्ने उनले संकेत गरे ।

‘मेरो धेरै विचार विवेकशीलसँग मिल्छ, र उहाँहरुसँग सम्पर्कमै छु,’ ढकालले भने । भविष्यमा आफैंले पहल गरेर विवेकशील र साझा पार्टीलाई एक गराउने र एकीकृत पार्टीले चुनावमा बहुमत हासिल गरेर सरकारको नेतृत्वमा पुर्‍याउने उनको सपना हो ।

उनले स्थानीय चुनावमा विवेकशील र साझा पार्टीबीच तालमेल गराउन आफूले जोडतोडले प्रयास गरेको तर सफल नभएको बताए । ‘मैले रवीन्द्रजीलाई भेटेर रञ्जु दर्शनालाई मेयर र किशोर थापालाई उपमेयरमा उठाउने गरी तालमेल गर्न धेरै आग्रह गरेँ,’ ढकालले भने, ‘तर, सफल भइनँ । अन्ततः दुवै जनाले हार्नुभयो ।’

पश्चिमाले संस्कृत चोरे, हामी हेरेको हेर्‍यै

सागर आफ्नो धर्म र संस्कृति भनेपछि हिरिक्क गर्छन् । उनले अहिलेसम्म टुप्पी काटेका छैनन् । अन्डा, माछा, मासु, रक्सी छोएका छैनन् । उनले संस्कृतका धेरै ग्रन्थहरु पढेका छन् । आफ्नो सभ्यता र इतिहासको ज्ञान पाउनका लागि सबै नेपालीले संस्कृति अनिवार्य पढ्नुपर्ने उनको भनाइ छ ।

सागरले भने, ‘अहिले बेलायत, अमेरिका जस्ता देशहरुमा संस्कृत सिकाइन्छ, तर हाम्रै देशमा चाहिँ हेय दृष्टिले हेरिन्छ । संस्कृत हाम्रो हो, यसलाई हामीले संस्कृतलाई जरैदेखि स्थापित गर्न सक्नुपर्छ ।’

उनले मार्क्स र लेनिनका ग्रन्थहरु छोडेर भागवत गीता पढ्न कम्युनिष्ट नेताहरुलाई सुझाव दिए ।

विदेश जान्छु तर उतै भासिन्न

सागरले प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयको प्रसंग थियो । खासमा अहिले उनी आफैं अक्सफोर्ड पढ्न जाने तयारीमा छन् । उनले वाटर पोलिसी एन्ड म्यानेजमेन्ट विषयमा मास्टर्स डिग्रीका लागि एक पूर्ण छात्रवृत्ति पाएको बताए ।

‘यो छात्रवृत्ति पाउने पुल्चोक क्याम्पसको म पहिलो विद्यार्थी हुँ,’ उनले बताए ।

आफू अध्ययन र भ्रमणका लागि विदेश गएता पनि उतै नभासिने सागरको भनाइ छ । ‘मैले चाहेँ भने विदेशमै करिअर बनाउन सक्छु, वल्र्ड बैंकमा जागिर खान सक्छु’ उनले भने, ‘तर, मेरो त्यो चाहना छैन । एक वर्षको पढाई सकेर आफ्नै देश फर्किनेछु । पीएचडी गर्नेतिर पनि लाग्दिनँ । मलाई नेपालका निम्ति केही गर्नुछ ।’

आफैं प्रधानमन्त्री बन्ने धोको

भविष्यमा देशको प्रधानमन्त्री बन्नेछु भन्ने महत्वाकांक्षा बोकेका युवा हुन् सागर । आज देउवा बसेको कुर्सीमा एक दिन आफैंलाई देख्न चाहन्छन् । ‘म अहिले जग खनिरहेको छु, भविष्यमा प्रधानमन्त्रीको चुनाव लड्ने हो र देशको विकास गर्ने हो,’ उनले छाति पिट्दै भने, ‘मलाई विश्वास छ, सम्पूर्ण देशवासीले मलाई विश्वास गर्नुहुनेछ ।’

प्रधानमन्त्री बनेपछि के-के गर्ने भनेर उनले मार्गचित्र अहिलेदेखि नै तयार गरिरहेका छन् । उनले फेसबुकमा राखेका मार्गचित्रमा लामा-लामा २० बुँदा छन् । यसलाई अद्योपान्त पढिदिन उनले आग्रह गरे ।

आफूलाई तत्काल प्रधानमन्त्री बनाइदिने हो भने पनि शेरबहादुरले भन्दा कयौं गुणा राम्रा काम गरेर देखाइदिने उनको चुनौति छ । ‘मैले धेरै पैसा कमाउनका लागि प्रधानमन्त्री बन्ने सपना देखेको होइन,’ उनले भने, ‘देशका जनतालाई धेरै पैसा कमाउने बनाउनका लागि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment