Comments Add Comment

भक्तपुरको गाईजात्राः घिन्ताङ घिसीदेखि मोदी र ट्रम्पसम्म

२४ साउन, भक्तपुर । भक्तपुरमा मनाइने परम्परागत गाईजात्रा पर्वमा घिन्ताङघिसी नाच नौलो होइन तर यसपटक भने नौलो दृष्य देखियो । नौलो यस अर्थमा भक्तपुरका बासिन्दाले शक्ति राष्ट्रका प्रमुख नेताहरुप्रति व्यंग्य प्रहार गरेर गाईजात्रा मनाए ।

भक्तपुरका बासिन्दाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिन पिङदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई व्यंग्य हाने ।

सीमा क्षेत्रमा सैनिक तैनाथीको विषयलाई लिएर चीन र भारतबीच सम्बन्ध बिगि्रदै गएको छ ।

यसैगरी विवादित अमेरिकी राष्ट्रपति ट्रम्प र एकपछि अर्को मिसाइल प्रक्षेपण गरेर विश्वलाई चुनौति दिँदै आएको उत्तर कोरियाप्रति पनि भक्तपुरका बासिन्दाले व्यंग्य गर्दै जात्रा निकालेका छन् । युरोपेली युनियन र सिरिया पनि भक्तपुरको गाईजात्रामा समेटिए ।

मंगलबार भक्तपुरका बासिन्दाले उल्लासका घिनताङ घिसी नाच नाच्दै गाईजात्रा पर्व मनाएका छन् । समूहमा एकएर्काको लठ्ठी ठोक्काएर नाचिने नाचले सबैको ध्यान तान्छ । मौलिक पोशाक हाकुपटासीमा सजिएका महिलाहरु बाजाको तालमा घिनताङ घिसी नाच नाच्दा मन्चमुग्ध नहुने कमै हुन्छन् । घिनताङ घिसी नाचमा युवा युवतीको सक्रिय सहभागिता हेर्दा लाग्छ पश्चिमा सँस्कृतिको प्रभावले भक्तपुरका युवा युवतीमा परे पनि उनीहरु आफ्नो मौलिक सँस्कृति र परम्परा जोगाउन सक्रिय छन् ।

जात्रामा सहभागीहरुको संख्या र उनीहरुका अनुहार हेर्दा लाग्छ भूकम्पले क्षतविक्षत पारेका मनहरु पनि गाईजात्रामा प्रफुल्ल छ ।

साताव्यापी रुपमा मनाइने गाईजात्रा पर्व भक्तपुरमा जनैपूर्णिमाको दिनदेखि नै सुरु हुन्छ । जनैपूर्णिमाका दिन अपराहृन तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङ घिसी नाच निकालेर भक्तपुर परिक्रमा गरिएपछि जात्रा सुरु हुने गुठी कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदी बताउँछन् । त्यसपछि तलेजुको पूजा गरी साँझ गाईजात्रा निकालिन्छ ।

मुख्य रुपमा जनैपूर्णिमाको भोलिपल्ट दिवंगत व्यक्तिको सम्झनामा नेवार समुदायको घर-घरबाट गाईजात्रा निकाल्ने परम्परा छ । अन्य दिनमा भने घिनताङ घिसी नाच र व्यंग्य प्रस्तुत गरेर गाईजात्रा मनाइन्छ ।

गाईजात्राको अन्तिम दिन श्रीकृष्ण जन्माष्टमीमा भैरव मन्दिरमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध महिलाले टोल-टोल घुमेर बत्ती दिने परम्परा छ । यसैगरी टोल-टोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment