२७ साउन, काठमाडौं । तेलको वितरण रोकेर आन्दोलनमा उत्रिएका ब्यवसायीको मागमा नेपाल आयल निगम लचिलो बनेको छ । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगम स्रोतले जानकारी दियो ।
सञ्चालक समितिको बैठकले हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर पुर्याइएको छ ।
पेट्रोल ढुवानीका क्रममा ६५ लिटरभन्दा माथि हुने प्राविधिक क्षति हुने दावी गर्दै सोअनुसार क्षतिपूर्ति पाउनुपर्ने मागसहित व्यवसायी आन्दोलनमा छन् । त्यस्तै, डिजेलमा यस्तो क्षतिपूर्ति ४० लिटरभन्दा माथि पाउनुपर्ने माग व्यवसायीको छ ।
क्षतिपूर्ति नबढाएको भन्दै व्यवसायीले बिहीवारदेखि निगमसँग पेट्रोल-डिजेल किन्नै छाडेका छन् । माग सम्बोधन नभए ३१ गतेदेखि पेट्रोलियम बिक्री नै ठप्प पार्ने व्यवसायीको चेतावनी छ ।
निगमले क्षतिपूर्ति बढाएपनि व्यवसायीले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
‘हामीलाई आधिकारिक पत्र आएको छैन, पत्र आएपछि आवश्यक निर्णय लिन्छौं,’ नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले अनलाइनखबरसँग भने । निगमले भने आधिकारिक पत्र पठाइसकिएको जनाएको छ ।
प्रतिक्रिया 4