Comments Add Comment

सल्यान र रुकुममा खोलामा गुड्छन् गाडी

२७ साउन, रुकुम । सल्यानको थारमारे हुँदै रुकुमको चौरजहारी पुग्ने सडक खण्ड निर्माण भएको दशक पुगे पनि स्तरोन्नति नहुँदा यात्रा जोखिमपूर्ण वन्दै गएको छ ।

सडक खण्डमा पर्ने चिसापानीदेखि रागेचौरसम्म सावारी साधनहरु वर्खे भेलसहितका खोलालाई नै सडक मानेर जोखिममा गुडिरहेका छन् ।

१० वर्ष अघि जग्गा नासिने डरले स्थानीयहरुले खेत सडक वनाउन नदिँदा सडक निर्माणको जिम्मा पाएकाहरुले खोलालाई नै सडकको रुपमा रुपान्तरण गरेका थिए ।

जसका कारण अहिले थारमारेदेखि रुकुमको चौरजहारी सडकखण्डको चिसापानीदेखि स्यानी पिप्ली सडकखण्डमा सडक विना वगरमै विगत वर्षदेखि गाडी गुड्दै आएका छन् ।

वर्षायाममा खोलैखोला गाडी गुडाउँदा भगवान भरोसा गर्नु पर्ने वाध्यता रहेको सवारी चालकहरुको भनाई छ ।

सडकखण्ड मध्येको चार किलोमिटर यात्रा निकै जोखिमपूर्ण छ । ‘वर्षायाममा खोलामा गाडि गुडाउदै गर्दा कतिखेर खोला आउने हो र दुर्घटना हुने हो भन्ने त्रास कायमै रहन्छ’, चालक प्रवेश गिरीले भने, ‘मर्म खोलामा मात्रै गाडिले २७ ठाउँ तर्नुपर्ने वाध्यता छ ।’
एउटै खोलालाई २७ पटक तर्नुपर्ने गरी सडक निर्माण गर्दा जोखिम थप बढेको गिरीको भनाई छ ।

पहरोको सास्ती पनि उस्तै

त्यतिमात्र होइन वर्षासँगै सडकको विभिन्न ठाउँमा पहिरो जाँदा विभिन्न पैदल वाटोहरु समेत अवरुद्ध भएका छन् ।

रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ११ दमदम्यामा पहिरो जाँदा आवत जावत वन्द भएको छ । लगातार सडकमा पहिरो खसेपछि आवतजावत गर्न समस्या भएको हो ।

प्रहरी चौकी सर्केनाले पहिरो हटाएर पटक पटक बाटो खुलाए पनि लगातार पहिरो खसिरहेकाले पूर्ण रुपमा बाटो खुल्न सकेको छैन ।

बाटो बन्द हुदा बिशेष गरी बिद्यार्थीलाई समस्या भएको छ ।

पहिराले बाटोे बन्द भएपछि बिद्यालय आउन र जान समस्या भएको हिमालय माविका बिद्यार्थी नबिन ओलिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment