३० साउन, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा स्थगित गर्न सरकारलाई दबाव परेको छ । परीक्षा सार्ने विषयमा शिक्षा मन्त्रालय र शिक्षक सेवा आयोगबीच सोमबार छलफल समेत भएको छ ।
अस्थायी शिक्षकहरुलाई स्थायी गर्नका लागि लिइने परीक्षा आगामी भदौ ३ गते तोकिएको छ । तर, परीक्षा सार्नुपर्ने, शिक्षा ऐन संशोधन गर्नुपर्ने लगायतका माग राख्दै अस्थायी शिक्षकहरु आमरण अनसन बसेको आज १३ दिन पुगेको छ ।
अनसनरत शिक्षक विष्णुहरी दनुवारको स्वास्थ्य गम्भीर बनेर अस्पताल भर्ना भएकै दिन शिक्षा मन्त्रालयको टोली शिक्षा बिभागका पदाधिकारीलाई भेट्न भक्तपुर पुगेको छ । शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल र शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल रहेको टोलीले आयोग पदाधिकारीलाई परीक्षा सारिदिन आग्रह गरेका छन् । आयोगका अध्यक्ष ताना गौतमले यसबारे छलफल गर्ने जवाफ दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. लम्सालले अनलाइनखबरसँग भने, ‘आयोगको मर्यादा पनि र स्वायत्तता पनि रहने गरी शिक्षक साथीहरुको माग सुन्दिनुपर्यो भनेका छौं । उहाँहरुले हामी छलफल गर्छौं भन्नुभएको छ ।’
भेटमा शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतम, सदस्यद्वय सिताराम पोखरेल र ज्ञानी यादव तथा प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेल सहभागी थिए । उनीहरुले परीक्षा सार्दा फेरि जाँचै नहुने हो की भन्ने चिन्ता व्यक्त गरेका थिए ।
तर मन्त्रालयका सचिव श्रेष्ठले यसबारे हामी पनि उत्तिकै चिन्तित छौं भन्दै अनसनरत शिक्षकको नाजुक अवस्था, बाढी पहिरोको बितण्डा र काठमाडौंमा भेला भएर आन्दोलनरत शिक्षकहरुलाई जिल्ला फर्किने वातावरण निर्माणका लागि पनि परीक्षा सार्नुपर्ने बताएका थिए ।
‘अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्नुपर्ने, ऐन संशोधन गर्नुपर्ने सरकारले काम हो । यत्तिले बाटो खुल्छ भने केही दिन परीक्षा सार्दा राम्रो हुन्छ भनेर हामीले भन्यौं,’ डा. लम्सालले भने ।
माग सम्बोधनका लागि सरकारलाई दबाव दिने उद्देश्यले अस्थायी शिक्षकहरु भद्रकालीमा आमरण अनसन बसेको १३ दिन पुगेको छ । अनसनरत शिक्षक विष्णुहरी दनुवारको स्वास्थ्य गम्भीर भएपछि सोमबार नयाँबानेश्वरस्थित एभरेष्ट हस्पिटलमा भर्ना गरिएको छ । उनको अवस्था नाजुक छ ।
आन्दोलनरत अस्थायी शिक्षक सरस्वती आचार्यले माग सम्बोधन नभएसम्म अनसन लगायतका आन्दोलन जारी रहने बताइन् ।
यसअघि पनि दुवारको स्वास्थ्य बिगि्रएपछि शिक्षकहरुले अस्पताल भर्ना गरेका थिए । तर, शिक्षकहरुले पुनः भद्रकालीस्थित अनसनस्थल फर्काएका थिए । भर्ना भइसकेको बिरामीलाई कागज नगराइकन पठाइएको भन्दै अस्पतालको आलोचना समेत भएको थियो ।
प्रतिक्रिया 4