Comments Add Comment

मायाका दुई सन्तान बगे, सानुमायालाई नियतिले बचायो

लालु भन्छन्- 'आफू बाँचियो, भविश्य बाँचेन !'

३२ साउन, इटहरी । उपमहानगरपालिका-४ स्थित गैरीगाउँका लालु साहमाथि बाढीले ठूलो बज्रपात गरेको छ । उनको घरमात्रै भत्किएन, परिवार पनि भत्कियो । अहिले उनी इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा पत्नी र छोरीको काजकिरिया गर्दैछन् ।

शुक्रबार राति अकस्मात आएको बाढीमा बगेकी श्रीमती मालादेवी साह र छोरी सिठी साहको काजकिरिया गर्ने ठाउँसम्म नभएपछि लालु प्रणामी मन्दिरमै काजकिरिया गर्न बाध्य भए । कृष्णअष्टमीका दिनमा पनि उनी प्रणामी मन्दिरमै थिए ।

लालुले ओछ्यानमा सँगै सुतेकी श्रीमती र छोरीलाई बचाउने प्रयास नगरेका होइनन् । तर, उनीहरुलाई तान्दातान्दै पनि लालुको केही जोर चलेन । उनले मसिनो स्वरमा भने- ‘आफू त बल्ल-बल्ल बाँचियो, तर आफ्नो भविश्यलाई बचाउन सकिनँ ।’

‘घरमा किरिया गर्ने ठाउँसम्म नभएपछि मन्दिरको शरणमा आएँ, बचाउ-बचाउ भन्दै छोरी र जीवनसंगीनी बगिन्,’ भावुक हुँदै उनले भने ।

लालु र उनकी पत्नी लामो समयदेखि इटहरीस्थित बसपार्कमा बसका यात्रुहरुलाई पानी बेच्ने काम गर्दै आएका थिए ।

विगत १० वर्षदेखि टीनको घर बनाएर इटहरी उपमहानगरपालिकाको गौरीगाउँमा बस्दै आएका साहको आफन्तका नाममा एकजना दाजु मात्र छन् । उनै दाजुले मन्दिरभित्र लालुलाई सहयोग गर्दै आएका छन् ।

माया राईका दुई सन्तान गुमे

लालुको जस्तै गैरीगाउँकी माया राईका पनि आँखामा आँशु थामिएका छैनन् । बाढी आएपछि दुई बालबच्चा हरप्रयत्न गर्दा पनि उनले बचाउन सकिनन् । र, हेर्दाहेर्दै बगे ।

घरमा बाढी पसेपछि तीन बर्षका छोरा रुपेश राई र ८ बर्षकी छोरी रुपसनी राईलाई पिठ्युमा बाँधेर मायाले बचाउने प्रयास गरिन् । ‘तर सकिनँ,’ मायाले गहभरि आँश झार्दै भनिन्, ‘कोठाबाट बाहिर निस्कन सक्ने अवस्था थिएन, टीन भत्काएर छानामा चढ्ने क्रममा छोरा र छोरी दुबै तल झरे, हेर्दाहेर्दा दुबैलाई बगायो ।’

मायाका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा छन् । घरमा भवितव्य परेको सुनेपछि उनी स्वदेश र्फकंदै छन् । माया रुँदै भन्छिन्- ‘भाग्यले हामीलाई नराम्रोसँग ठग्यो ।’

सानुमायाः ४ घण्टा बगेर बाँच्न सफल

इटहरीकै सानुमाया राईको भने कस्ता अलि बेग्लै छ । चार घण्टा बाढीमा बगेर पनि सानुमाया राई बाँच्न सफल भएकी भाग्यमानी हुन् ।

सानुमायासँगै सुतेकी दिदीको शब बिराटनगरको जोगवनीमा भेटियो । भिनाजु र भदाको अहिलेसम्म अत्तोपत्तो छैन । भदैनी भने रुखमा चढेर बाँचिन् ।

इटहरीको पूर्वमा पर्ने बुढीखोलाको बाढीमा झण्डै १० किलोमिटर बगेकी सानुमाया भने बाँच्न सफल भइन् । उनी अहिले इटहरी-५ जनता वस्तीमा रहेको मामाघरमा छिन् ।

त्राशदीपूर्ण रातको सम्झना गर्दै उनले अनलाइनखबरसँग भनिन्- ‘बाढी ठूलो आइरहेको थियो, दिदीभिनाजु र भदाभदैनीलाई उठाएँ । हामीले बाँच्ने संघर्ष गर्‍यौं । तर, अरु कहाँ पुगे केही थाहा भएन, मचाँहि बल्ल-बल्ल करीब ४ घण्टा डुबेर बाँचे, अरु हराइरहेकाछन् ।

सानुमायाले सम्झने प्रयास गरिन्- ‘भेलले कहिले कता लान्थ्यो, कहिले कता । मचाहिँ रुखका ठूटाहरु समात्दै हातखुट्टा चलाउँदै बाँचे ।’

सुनसरीमा १२ को मृत्यु

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जिल्लामा अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा रुपेश राई, रुपसनी राई, माला साह, सिठी साह, ईश्वर सुनुवार, आशदेवी राई, अनिता घिमाल, उपेन मण्डल, कृष्ण खत्वे र चन्दा तामाङ छन् । तरहरामा एक वृद्धको भने सनाखत हुन सकेको छैन ।

सुनसरीमा अझै ५ जना वेपत्ता भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए । बाढीका कारण सुनसरीमा ३ हजार घर पूर्णरुपमा ध्वस्त भएका र ४० हजार घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment