+
+

देउवा र मोदीले दिल्लीबाट स्विच थिचेर गरे कटैया-कुशाहा प्रशारणलाइनको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ८ गते १४:१६

८ भदौ, नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटैया-कुशाहा १ सय ३२ केभीए प्रसारणलाइनकोे संयुक्त रुपमा उदघाटन गरेका छन् ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेका बेला हैदराबाद हाउसबाट  बिहीबार दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रशारणलाइनको उदघाटन गरेका हुन्।

यो उदघाटनसँगै यो कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब यो प्रशारणलाइनबाट पनि विद्युत आयात सुरु हुनेछ ।’

आगामी वर्षको माग धान्ने नदेखेपछि प्राधिकरणले अहिले थप प्रसारणलाइन मार्फत विद्युत ल्याउने भएको हो । कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन । यो प्रसारणलाइनबाट ५० मेगावाट विद्युत आयात गर्न मिल्नेछ ।

त्यस्तै अहिले रक्सौल-परवानीपुरको १ सय ३२ केभी प्रसारणलाइन पनि निर्माण सम्पन्न भइसकेको छ । जसबाट पनि ५० मेगावाटको विद्युत आयात गर्न सकिन्छ ।

यि दुवै प्रसारणलाइन भारत सरकारको अनुदानमा निर्माण भएका हुन् । जग्गा प्राप्ती नेपाल सरकार तथा विद्युत प्राधिकरणले गरिदिएको थियो भने अन्य खर्च सबै भारतको अनुदानबाट गरिएको थियो ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले ढल्केबर-मुजफ्फरपुर १ सय ३२ केभी प्रसारणलाइन संयुक्त रुपमा उदघाटन गरेका थिए ।

ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन अहिले १ सय ३२ केभीमा चार्ज भइरहेको छ । यो प्रसारणलाइन २ सय २० केभीमा चार्ज गर्नका लािग अहिले तयारी भइरहेको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार २ सय २० केभीको लागि निर्माण कार्य अघि बढेको छ अगष्टसम्म यसको पनि निर्माण सकिन्छ ।

यी दुईबाट आयात हुने बिजुलीको मूल्य एक युनिटको ५.५ भारु पर्दछ । गत साउनसम्म १ सय ३२ केभी ट्रान्समिसन लाइनबाट आउने एक युनिट बिजुलीको मूल्य ५.६२ भारु पर्दथ्यो ।

सन् २०११ मा नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बसेर हरेक वर्ष बैठक बस्ने र वार्षिक ५.५ प्रतिशतका दरले बिजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । त्यसयता पावर एक्सचेन्ज कमिटीको बैठक नबसेकाले बढेर ५.६२ भारु पुगेको थियो । जसलाई कुलमानले सच्चाएका थिए ।

अन्य साना केभीका प्रसारणलाइनबाट विद्युत आयात गर्दा महंगो पर्दछ । ११ केभीको प्रसारणलाइनबाट आयात गर्दा अहिले ६.४५ भारु पर्दछ । साना केभीका प्रसारणलाइनबाट विद्युत आयात गर्दा महँगो पर्ने भएकाले प्राधिकरणले अहिले १ सय ३२ केभी र योभन्दा माथिका लाइनबाट विद्युत आयात गर्ने रणनीति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?