Comments Add Comment

रौतहटमा तीन नेताको प्रतिष्ठाको लडाईं

१९ भदौ, रौतहट । मधेश आन्दोलनको केन्द्रविन्दु रौतहटमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीहरुबीच वर्चश्वको लडाईं सुरु भएको छ । खासगरी, एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राजपाको अध्यक्ष मण्डलका नेता अनिल झा र शहरी विकास मन्त्री (माओवादी केन्द्रका) प्रभु साहबीचको त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

रौतहटमा आफ्नो बलियो पकड रहेको दाबी तीनै नेताले गर्दै आएका छन् । चार दिनअघि शहरी विकास मन्त्री साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चन्द्रपुरदेखि गौरसम्मका गाउँबस्तिमा पुर्‍याए । धेरै स्थानमा पार्टी प्रवेशलगायत कार्यक्रम भए ।

त्यसरी माओवादी केन्द्र प्रवेश गर्नेहरुमा अन्य दलका केन्द्रीयदेखि क्षेत्रीय स्तरसम्मका नेता थिए । मौलापुर नगरपालिकामा आधार इलाका नै तयार पारेको माओवादी दाबी छ । र, सञ्चारकर्मीमाझ गौरमा साहले त भन्नै भ्याए, ‘रौतहटमा माओवादी पहिलो पार्टी बन्छ ।’

माओवादीले चन्द्रपुर नगरपालिकाबाहेकका स्थानीय तहमा उम्मेदवार टुंगो लगाइसकेको छैन । अन्य दलसँग गठबन्धनको सम्भावनाका कारण उक्त पार्टीले उम्मेदवारको टुंगो नलगाएको हो ।

नेपाल एक साता ढिलो

साउन तेस्रो साता रौतहट बाढीका कारण अस्तव्यस्त थियो । अन्य दलका नेता तत्काल पीडित परिवारसम्म पुगे । क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित एमाले वरिष्ठ नेता नेपाललाई भने प्रभावित इलाकामा पुग्न सातादिन लाग्यो ।

उनी उत्तरकोरियाको भ्रमणबाट फर्किँदा बाढीको कहरबाट तंगि्रने प्रयासमा लागिसकेका थिए, जिल्लावासी । तथापि, उनले भन्न छुटाएनन्, ‘रौतहटमा एमाले कमजोर भएको छैन ।’ पार्टीमाथि मधेशविरोधीको ‘ट्याग’ लागेको धेरै भइसक्यो । नेपालले भने मधेशीको हकहीत र राष्ट्रिय एकताका लागि आफूहरु सदैव लागिपरेको दाबी गरे ।

एमालेले जिल्लाका अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाइसकेको छ । केही वडा अध्यक्ष र नगरपालिकाहरुमा उपमेयरको स्थानचाहीं खाली छ । तिनको पनि चाँडै टुंगो लगाइने एमाले जिल्ला सचिव लक्ष्मण रेग्मी बताउँछन् ।

गौर, गरुडा र चन्द्रपुर नगरपालिकासहित १० भन्दा बढी स्थानीय तहमा एमालेले जीत हात पार्ने उनको दाबी छ । भन्छन्, ‘बौधिमाई, देवाही गोनाही र यमुनामाईमा कडा प्रतिस्पर्धा हुन सक्छ । अन्य तहमा एमालेको पकड बलियो छ ।’

राजपाको रन्को

पार्टीको नामका हिसाबले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पहिलो पटक चुनावमा सामेल हुँदैछ । उक्त पार्टी मैदानमा निस्किने कुराले जिल्लाको चुनावी माहोलमा बेग्लै रौनक ल्याएको छ ।

राजपाको अध्यक्ष मण्डलका नेता झाको गृहजिल्ला भएकाले पनि मतदातामाझ सम्भावित चुनावी परिणामको विश्लेषण सुरु भएको छ । मधेशकेन्दि्रत दलहरुमध्ये राजपाको पकड बलियो नै मानिन्छ, रौतहटमा ।

र, राजपाका नेता/कार्यकर्ताको चुनावी तारो एमाले बनेको छ । संविधान संशोधन विधेयकको विपक्षमा मत हालेर फेल गराएको बदला चुनावी मोर्चामा लिने उनीहरुको मनोकांक्षा देखिन्छ । राजपा नेता/कार्यकर्ताको घेराबन्दीमा अहिले कोही छ भने त्यो एमाले नै हो ।

‘रौतहट राजपाको हृदय भूमि हो, त्यसैले सबैभन्दा बढी सिट हामीले नै ल्याउँछौं,’ झा भन्छन्, ‘अधिकांश तहमा यस पटक हामी विजयी हुन्छौं ।’

सबैजसो तहमा सक्षम र कर्मठ व्यक्तिलाई उम्मेदवार बनाइएका कारण पनि जीत निश्चित रहेको उनको भनाइ छ ।

संविधानमा मधेशीको हक लेखिनु पर्ने र लेखिन नहुने धारबीच चुनावमा कडा टकराव हुने झाको तर्क छ । आफ्नो पार्टीमा टिकटका आकांक्षी बढी देखिनु पनि त्यसैको प्रमाण भएको उनी दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment