
१९ भदौ, काठमाडौं । भारतीय नाकाबन्दीका कारण नेपालले औषधि किन्न साविकभन्दा कम परिमाणको औषधिका लागि करिब रू २ अर्ब बढी खर्च गर्नु परेको तथ्य प्रकाशमा आएको छ ।
लन्डनबाट प्रकाशित हुने ‘बायो मेड सेन्ट्रल‘ को एक जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार उक्त रकमले काठमाडौको आधा जनसंख्यालाई एक वर्षसम्म स्वास्थ्य सेवा उपलब्ध गराउने पुग्छ ।
बोस्टन विश्वविद्यालयका अभिषेक शर्मा, नेपाल डेभेलपमेन्ट सोसाइटीका शिवराज मिश्र र बोस्टनकै वारेन काप्लनाले गरेको सो अध्ययनले भारतीय नाकाबन्दीको बेला सेप्टम्बर २०१५ देखि फेब्रुअरी २०१६ सम्मको अवधिमा भारतीय नाकाहरूबाट नेपालले ३ लाख ४३ हजार ८७० केजी औषधि आयात गरेको थियो । अघिल्लो वर्ष सोही अवधिमा नेपालले करिब ४६.५ प्रतिशत बढी अर्थात् ६ लाख ४२ हजार १६३ केजी औषधि आयात गरेको थियो ।
आयात हुने औषधिको परिमाणमा ४६.५ प्रतिशतले कमि आए पनि नेपालले २ अर्ब २३ करोड रूपैयाँ बढी रकम भुक्तान गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।
‘नाकाबन्दी छोटो समयकालागि भए पनि यसले नेपाल जाने औषधिको परिमाण र मूल्यमा तत्काल प्रभाव पारेको र औषधि खरिदमा खर्च भएको अतिरिक्त रकम जनस्वास्थ्यका अरु कार्यहरूमा लगाउन सकिन्थ्यो’, अध्ययनको निष्कर्ष छ ।
प्रतिवेदनका लेखकहरुले भनेका छन्, ‘भारतले लगाएको नाकाबन्दी एउटा भू-राजनैतिक तथा प्राकृतिक प्रयोग थियो र यसले एउटा भूपरिवेष्ठित देश आफ्नो प्राथमिक व्यापार सझेदारको अनपेक्षित व्यवहारका कारण कसरी जोखिममा पर्न सक्छ भनेर देखाएको छ ।’
प्रतिक्रिया 4