Comments Add Comment

बाढी पीडितका लागि नमूना वस्ती बनाउने धुर्मुस सुन्तलीको घोषणा

१९ भदौ, काठमाडौं । हास्य कलाकार तथा समाजसेवी धर्मुस सुन्तलीले तराईका डुवान तथा बाढी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने भएका छन् ।

तराई क्षेत्रमा डुवान र बाढीबाट प्रभावित भएकाहरुलाई सुरुदेखि नै राहत वितरण गर्दै आएका उनीहरुले फाउण्डेशनमार्फत एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पीडितहरुको अवस्थालाई देखेर आफूहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताए । ‘उहाँहरु अझै पनि पालमुनी बसीरहनुपरेको अवस्था छ र उहाँहरुका लागि यतिबेला बासस्थानको आवश्यकता छ’ धुर्मुसले भावुक हुदै भने, ‘फेरि अर्को मानवीय क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमूना वस्तीको आवश्यकता महशुस भएको हो ।’

बाढीका कारण पीडित बनेका तराई वासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले उनीहरुका लागि राहत मात्र भन्दा पनि एउटा वासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पीडितहरुका लागि आएको सहयोग रकमले उक्त नमूना वस्ती निर्माण गर्ने बताइन् ।

एकीकृत नमूना वस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनीहरुले बताएका छन् ।

राहत वितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले एकीकृत नमूना वस्ती पीडितहरु धेरै भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने बताए ।

अझै पनि आफूहरु स्थल छनौटमा रहेको र बस्तीमा बन्ने घरहरुको प्रकृती र त्यसको खाका तयार गरेपछि मात्र अन्य कुराहरु सार्बजनिक गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ ।

बाढी पीडितहरुका लागि एकीकृत नमूना वस्ती निर्माणसँगै केही समयअघि मात्रै ५ अर्वको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमूना नेपालको कामपनि निरन्तर अगाडि बढिरहने फाउण्डेशनले बताएको छ ।

फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त वस्ती पनि अन्य वस्ती जस्तै बालमैत्री, अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment