Comments Add Comment

अन्तिममा किन भाँडियो कांग्रेस–माओवादी तालमेल ?

सत्तापक्ष आपसी दोषारोपणमा, एमाले उत्साहित

 

२२ भदौ, काठमाडौं । प्रदेश नम्बर २ का एमालेको प्रभाव रहेका करिब एक दर्जन स्थानीय तहमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको प्रयास अन्तिम समयमा आएर भाँडिएको छ । तालमेल भाँडिनुमा कांग्रेस र माओवादीले एकअर्कालाई दोष लगाउन थालेका छन् भने एमालेले राहत महसुस गरेको छ ।

उम्मेदवारी मनोनयनको केही घण्टा अगाडि मात्रै भइसकेको तालमेल भाँडिएको हो । तालमेल भाँडिएकै कारण सर्लाही लालबन्दीको मेयर उम्मेदवार बन्न गएका माओवादीका केन्द्रीय कार्यालय सचिव प्रल्हाद बुढाथोकी उम्मेदवार नबनी फर्किए ।

लालबन्दीमा माओवादीले मेयर र कांग्रेसले उपमेयर लिएर चुनावी तालमेल गर्ने निर्णय एक साताअघि नै भएको थियो । तर, अन्यत्र कुरा नमिलेपछि लालबन्दीको पनि तालमेल भाँडिएको कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले बताए ।

कांग्रेस र माओवादीका शीर्ष तहमा तालमेलको सहमति भएको थियो । प्रचण्डले शेरबहादुर देउवासमक्ष राखेको ६०÷४० अनुपातको शक्ति सन्तुलनबाट वडादेखि मेयरसम्म तालमेल गर्ने गरी दुबै पक्षका नेताहरुबीच वार्ता भएको थियो ।

मेयर उपमेयरमा मात्र तालमेल गर्दा अपेक्षित सफलता नभएकाले यसपटक वडादेखिनै तालमेल गर्ने निर्णय भएको थियो । तर कांग्रेसले धेरै वडा दाबी गरेका कारण कुरा नमिलेको माओवादी नेता बुढाथोकीले बताए । माओवादीलाई निकै तल राखेर वडा बिभाजन गर्न खोजेपछि कार्यकर्ता भड्किएको उनले बताए ।

तर, कांग्रेस नेता शोभाकर पराजुलीले भने माओवादीले हैसियतभन्दा बढी माग गरेपछि तालमेल सफल नभएको प्रतिक्रिया दिएका छन् । ‘संगठन र जनमत नै नभएको ठाउँमा पनि माओवादीले दाबी ग¥यो, जितपुर सिमरा उपमहानगरमा मेयर दाबी गरेपछि अरुतिर के माग्यो होला आफैं बुझ्नुस्’ उनले भने ।

कांग्रेस र माओवादीबीच बिशेष गरी पूर्व–पश्चिम महेन्द्र राजमार्ग आसपासका स्थानीय तहमा तालमेल गर्ने सहमति भएको थियो । ती क्षेत्रमा तुलनात्मक रुपमा एमाले बलियो रहेका कारण तालमेल गर्न खोजिएको कांग्रेस नेता तथा कृषिमन्त्री रामकृष्ण यादवले स्वीकार गरे । तर, माओवादीले बढी माग्नु र कांग्रेसले आफ्नै कार्यकर्ता व्यवस्थापन गर्न नसक्नुको कारण तालमेल भाँडिएको उनले बताए ।

माओवादी नेता बुढाथोकीले भने माथिबाटै तालमेलको निर्णय भए पनि तल निर्णय कार्यन्वयन गर्ने सन्दर्भमा कार्यकर्ताले नमानेको बताए । उनका अनुसार मुख्य समस्या कांग्रेसमा देखियो भने वडा विभाजनका सन्दर्भमा कांग्रेसले हेपेपछि माओवादी कार्यकर्ताले पनि तालमेल स्वीकार गरेनन् ।

 तालमेल कहाँ भयो, कहाँ भाँडियो ? 

कांग्रेस र माओवादीबीच सप्तरीको कञ्चनरुप र राजविराज नगरपालिकाका साथै रुपनी र सप्तकोशी गाउँपालिकामा तालमेलको सहमति भएको थियो ।

त्यस्तै सिराहाको सिरहा नगरपालिका, लाहानमा, मिर्चैया, गोलबजार र कर्जन्हा नगरपालिकामा तालमेलको अन्तिम कसरत भइरहेको थियो ।

महोत्तरीको बर्दिबास, गौशाला, औरही नगरपालिकामा पनि तालमेलका लागि प्रयास भएको थियो । सर्लाहीको लालबन्दीमा तालमेलको निर्णय नै भएको थियो भने हरिवन, ईश्वरपुर, बागमती, बरहथवा नगरपालिकामा तालमेलको अन्तिम तयारी थियो ।

रौतहटको चन्द्रपुर नगरपालिकामा तालमेलको निर्णय हुनै लाग्दा कांग्रेसका जिल्ला नेताहरुले विज्ञप्तिनै जारी गरेर अरु दलसँग तालमेल भए चुनाव बहिस्कार गर्ने चेतावनी दिएपछि भाँडियो । चन्द्रपुरमा भाँडिएपछि रौतहटका अन्य ठाउँमा तालमेल हुन सकेन ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिएर कलैया लगायत अन्य स्थानीय तहमा माओवादीले कांग्रेसलाई छाड्ने सहमति भएको थियो । तर, अन्तिममा कांग्रेसका कार्यकर्ता मानेनन् ।

अब कांग्रेस र माओवादीबीच जम्मा दुई स्थानीय तहमा मात्र तालमेल भएको छ । धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा दुई दलबीच तालमेल भएको छ । दुवै ठाउँमा कांग्रेसले मेयर र माओवादीले उपमेयर पाएका छन् ।

दुबैको प्रतिस्पर्धी एमाले

तालमेल भएका र भाँडिएका यी सबै स्थानीय तहमा मुख्य प्रतिस्पर्धी एमाले रहेको दुबै दलले स्वीकार गरेका छन् । एमालेलाई राजमार्ग क्षेत्रमा दुई दल मिलेर रोक्न सक्दा उसको साइज घटाउन सकिने आँकलन दुबै दलको थियो । तर माथिको निर्णय तलका कार्यकर्ताले नमान्दा तालमेल सफल नभएको नेताहरुले बताएका छन् ।

एक्लाएक्लै लड्दा राजमार्ग क्षेत्रमा एमाले पंक्ति उत्साहित देखिएको छ । सर्लाहीस्थित हरिवन नगरपालिकाको मेयरका एमाले उम्मेवार गणेश प्रसाईले भने– कांग्रेस माओवादी मिल्दा हामी केही सयको मार्जिनले जित्ने थियौं, अब एक्लै लड्दा मार्जिन केही हजारमा हुन्छ ।

चुनावी अभियानका क्रममा महोत्तरीमा रहेका कांग्रेस नेता गुरुङले एक्लै लड्दा मुख्य प्रतिस्पर्धा एमालेसँगै हुने बताए । उनले दक्षिण क्षेत्रका केही ठाउँ बाहेक समग्रमा एमालेसँगै प्रतिस्पर्धा रहेको दाबी गरे ।

माओवादी नेता बुढाथोकीले पनि तीन दल एक्लाएक्लै लड्दा आफूहरुको मुख्य प्रतिस्पर्धा एमालेसँगै हुने बताए । उनले भने–‘कांग्रेससँग तालमेल सफल भएन, अब राजमार्गमा कांग्रेस होइन, एमालेसँगै प्रतिस्पर्धा हुन्छ । कांग्रेस तेस्रो स्थानमा छ ।’

यद्यपि कांग्रेस नेताहरु राजमार्ग क्षेत्रमा एमालेको स्थिति उनीहरुले सोचेको जस्तो नरहेको र आफ्नो दलको प्रभाव बढेको दाबी गर्छन् ।

राजमार्गमा एमालेको आँकलन यस्तो छ

एमालेका २ नम्बर प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले भने २ नम्बर प्रदेशमा समग्रमा कांग्रेससँगै प्रतिस्पर्धा भए पनि राजमार्ग क्षेत्रमा कतै कांग्रेस र कतै माओवादी प्रतिस्पर्धामा आउन सक्ने बताए ।

एमालेले सिरहाको मिर्चैया, गोलबजार, महोत्तरीको बर्दिबास, सर्लाहीको लालबन्दी र बागमतीमा माओवादीसँग प्रतिस्पर्धा हुन सक्ने आँकलन गरेको छ । अन्य ठाउँमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी रहेको निष्कर्ष एमालेको छ ।

तालमेल भएका मिथिला र निजगढमा एमालेले आफू जित्ने दाबी गरेको छ । यदि तालमेल भएको भए एमालेले लालबन्दी, बागमती, बर्दिबास र जितपुर सिमरामा आफूलाई अप्ठेरो पर्ने आँकलन गरेको थियो ।

अब २ नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये दुई नगरपालिका बाहेक सबैतिर दलहरु एक्लाएक्लै चुनावमा लड्ने अवस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment