
२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार किशोर थापा र रञ्जु दर्शनाले मेयर विद्यासुन्दर शाक्य १०० दिनमा फेल भएको बताएका छन् ।
महानगरका जनप्रतिनिधिको सय दिनको कामको समिक्षा गर्दै थापा र रञ्ज दुबैले समग्रमा शाक्य फेल भएको बताएका हुन् । उनीहरुले अब पुनः परीक्षा दिएर पास हुने प्रयत्न गर्न समेत शाक्यलाई सुझाव दिएका छन् ।
साझा विवेकशील दलकी नेतृ समेत रहेकी रञ्जुले भनिन्, ‘अझै पनि उहाँलाई पुरक परीक्षा दिएर पास हुने मौका छ । हामी ट्यूसन पढाउन तयार छौं ।’
मेयर शाक्यले सय दिनमा गर्छु भनेको १०१ काम नगरी नागरिकमा वितृष्णको वीउ रोपेको उनको आरोप छ । आफूहरुले सहयोग गर्न भूमिका खोजिरहँदा शाक्यले सहयोग लिन नचाहेको उनले बताइन् ।
कार्यक्रममा मेयरका अर्का प्रतिस्पर्धी किशोर थापाले मेयर शाक्य फेल भइसकेको भन्दै १०१ कामको भारी बोक्न नसकेको बताए ।
विभिन्न व्यक्ति, समूह र पार्टीको सहयोगमा निर्वाचन जितेका शाक्यले सय दिनमा १०१ कामको भारी बोक्नु नै असफलता भएको उनले बताए ।
थापाका नजरमा एउटा राम्रो काम
पत्रकार सम्मेलनमा थापाले विद्यासुन्दरले एक सय दिनमा सन्चालन गरेको एउटा काम मात्रै आफूले सम्झिने बताए ।
महानगरपालिकाले सुरु गरेको ‘क्लीन दी सीटी’ कार्यक्रमले मात्र आफूलाई प्रभावित गरेको बताउँदै उनले यस्ता कामहरु सुरु गरिए सँधै साथ सहयोग गर्ने बताए । ‘उहाँले सुरु गरेको क्लीन दी सीटी’ कार्यक्रमले मलाई प्रभावित पारेको छ,’ उनले भने, ‘यस्ता काम गरे हामी सधै सहयोग गर्छाै ।’
‘क्लीन दी सीटी’ बाहेकका अन्य शाक्यका कामले नागरिकहरुको जीवनलाई सहज बनाउन नसकेको उनले बताए ।
मनो रेलको योजना शाक्यको पाँच वर्षे कार्यकालमा पनि सफल हुन नसक्ने दाबी गर्दै थापाले भने, ‘काठमाडौंवासीका लागि मनो रेल आवश्यक हो, सम्भव पनि छ । तर, विद्यासुन्दर ज्यूले दुई वर्षसम्म मनो रेल सन्चालन गर्छ भन्नुभएको थियो । यो पाँच वर्षसम्म पनि पुरा हुने देखिएन ।’
चुनावका बेला अलग अलग पार्टी रहेका साझा र विवेकशील मिलेर विवेकशील साझा पार्टी बनेको छ । पत्रकार सम्मेलनमा उपमेयरकी उम्मेदवार निरुपमा यादवले महानगरका निर्वाचित मेयर र उपमेयरलाई जनताको मतको सम्मान गर्दै पदको मर्यादा कायम गर्न सुझाव दिइन् ।
मेयर र उपमेयरवीच वेमेल रहेकोतर्फ इकिंत गर्दै उनले महानगरवासीका लागि मिलेर काम गर्न सुझाव दिइन् ।
प्रतिक्रिया 4