Comments Add Comment

राजमार्गका २७ स्थानीय तहः चुनावी हलचलको ‘इपिसेन्टर’

को बन्ला 'महेन्द्र राजमार्ग' मा पहिलो दल ?

राजमार्गमा विगत मधेस अान्दाेलनको दृश्यः फाइल तस्वीर

२८ भदौ, काठमाडौं । प्रदेश नम्बर दुईको निर्वाचनको तिथि नजिकिँदै जाँदा ‘पूर्वपश्चिम राजमार्ग एरिया’ निकै चर्चामा छ । मानिसहरुको थेगोजस्तै भएको छ कि ‘राजमार्ग क्षेत्रमा एमाले बलियो छ ।’

आखिर कुन हो राजमार्ग क्षेत्र ? राजमार्ग क्षेत्रमा कतिवटा स्थानीय तह छन् ? र, यहाँ खासमा एमाले नै बलियो छ कि अरु दलहरु पनि बलिया छन् ? यो विषयमा रौंचिरा विश्लेषण बाहिर आएको छैन ।

दुई नम्बर प्रदेशमा को पहिलो दल बन्ला भन्ने चर्चा भइरहेका बेला जनसंख्याको फरक आयामको प्रतिनिधित्व गर्ने राजमार्गका २७ स्थानीय तहमा कुन दल पहिलो बन्ला भन्ने प्रश्न पनि कम्ता रोचक छैन ।

अनलाइनखबरले प्रदेश नम्बर २ को राजमार्ग क्षेत्रबारे सामान्य विश्लेषण गर्ने प्रयास गरेको छ ।

राजमार्ग क्षेत्र, अर्थात् २७ स्थानीय तह

दुई नम्बर प्रदेशका कुल १३६ स्थानीय तहमध्ये २७ वटा स्थानीय तहहरु राजमार्ग क्षेत्रमा पर्छन् । बाँकी १०९ वटा स्थानीय तहचाहिँ पूर्व-पश्चिम राजमार्ग भन्दा दक्षिणमा पर्छन् ।

सप्तरीदेखि बारासम्म ७ जिल्लाले पूर्व-पश्चिम राजमार्गलाई छोएका छन् । सप्तरीदेखि बारासम्म राजमार्गसँग जोडिएका र राजमार्ग छेउछाउमै रहेका समेत २७ वटै स्थानीय तह घना आवादीको क्षेत्र हुन् । यीमध्ये राजमार्गमा एउटा उपमहानगरपालिका र अधिकांश नगरपालिका छन् । मुख्य राजमार्ग आसपास गाउँपालिकाको संख्या न्यून छ ।

राजमार्ग आसपासका यिनै २७ स्थानमा एमालेको प्रभाव राम्रो रहेको बताइने गरेको छ । जसका कारण यी स्थानीय तहमा एमालेको आश र कांग्रेसको त्रास देखिँदै आएको छ । राजमार्ग क्षेत्रमा पहाडे समुदायको सघन बसोबास छ भने थारु र अन्य मधेसी समुदायको बसोबास क्रमशः दोस्रो र तेस्रो संख्यामा छन् । पहाडे समुदायको भोट आफूतिर आउने एमालेको विश्वास छ ।

कसको दाबी कति ?

राजमार्ग क्षेत्रका २७ मध्ये कम्तिमा २० स्थानीय तह जित्ने दाबी एमालेको छ । चुनावी अभियानका क्रममा जनकपुरमा रहेका एमाले केन्द्रीय सदस्य श्रीप्रसाद साहले उम्मेदवारी चयनका क्रममा कतिपय ठाउँमा अशन्तुष्टि नभएको भए २७ मध्ये २५ स्थानीय तह जित्न सकिने थियो भन्ने दाबी गरे ।

कांग्रेसले पनि राजमार्ग क्षेत्रका २७ मध्ये कम्तिमा १० स्थानीय तह जित्ने आंकलन गरेको छ । त्यस्तै माओवादीले पनि राजमार्ग क्षेत्रका कम्तिमा १२ स्थानीय जित्ने आन्तरिक विश्लेषण गरेको छ । संघीय समाजवादी फोरमले समेत राजमार्गमा ४ स्थानीय तह जित्ने दाबी गरेको छ ।

एमालेले राजमार्गका २० स्थानमा जित्ने दाबी गरे पनि सबै स्थानीय तहको विश्लेषण गर्दा एमालेले बढीमा १५ स्थानमा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको जानकारहरु बताउँछन् ।

एमालेले आफ्नो बलियो आधार क्षेत्र मानेको राजमार्ग आसपासमा कांग्रेस-माओवादी तालमेल नभएको फाइदा केही हदसम्म लिन सक्ने सोचेको छ । तर, अघिल्लो चुनावमा उत्तरी मोरङको राजमार्ग क्षेत्रमा अप्रत्याशित पराजय भोगेजस्तै दुई नम्बर प्रदेशको राजमार्ग क्षेत्रमा पनि एमालेले पराजय नभोग्ला भन्ने स्थिति पनि छैन ।

अघिल्ला चुनावी नतिजाहरुबाट कांग्रेसभन्दा ५० सीट अगाडि रहेको एमालेका लागि पहिलो दलमा कायम रहनका लागि राजमार्ग क्षेत्रमा कम्तिमा १५ स्थानीय तह जितेर राजमार्ग दक्षिणबाट सीट थप्नुपर्ने बाध्यता छ ।

एमालेले आफ्नो आधार क्षेत्र नै सुरक्षित गर्न सकेन भने कांग्रेसले अहिले कायम रहेको ५० सिटको अन्तरलाई कभर गर्न सक्ने भएकाले एमालेको ध्यान राजमार्गतिर बढी देखिनु स्वाभाविक छ । तर, राजमार्ग पनि एमालेले सोचेजस्तो छैन, उसका लागि निकै ‘रिस्की’ खेल मैदान बन्न पुगेको छ ।

हामीले राजमार्ग क्षेत्रका स्थानीय तहमा कुन-कुन दल मुख्य प्रतिस्पर्धी हुन् र कसको सम्भावना बलियो छ भनेर खोज्ने प्रयास छौं । यसक्रममा राजनीतिक दलका नेता, स्थानीय पत्रकार र सुरक्षा अधिकारीहरुसँगको कुराकानीका आधारमा हामीले मोटामोटी आँकलन गरेका हौं ।

सप्तरीको राजमार्गमा एमालेको अनौठो दाबी

सप्तरीमा राजमार्गसँग जोडिएका ६ स्थानीय तह छन् । राजमार्ग क्षेत्रका खडग नगरपालिका, सुरुङ्गा नगरपालिका, शम्भुनाथ नगरपालिका, कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका, कृष्ण सवरण गाउँपालिका पर्छन् ।

यीमध्ये अधिकांशमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । कञ्चनरुपमा माओवादी पनि तीब्र प्रतिस्पर्धामा छ । ६ मध्ये ५ स्थानीय तह जित्ने दाबी एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेको अनौठो दाबी छ ।

तर, कांग्रेस जिल्ला सभापति दिनेश यादवले राजमार्ग क्षेत्रका कम्तिमा तीन ठाउँमा जित्ने दाबी गरे । पहाडे र थारु बाहुल्य यी स्थानीय तहमा एमाले मुख्य प्रतिस्पर्धी रहेको उनले बताए ।

रुपनीमा भने राजपाको राम्रो प्रभाव रहेको स्थानीय बताउँछन् ।

सिरहाका राजमार्गमा कम्युनिष्टहरु भिड्दै

सिरहा जिल्लाभित्र राजमार्ग क्षेत्रमा ५ नगरपालिका पर्छन् । यीमध्ये लहानामा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने अन्य दलले पनि स्वीकार गरेका छन् । त्यस्तै धनगढीमाईमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

गोलबजार, कर्जन्हा र मिर्चैया नगरपालिकामा भने कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा छ । यहाँ संघीय समाजवादी फोरम पनि प्रतिस्पर्धी छ ।

माओवादीले यी तीन नगरपालिका आफूले जित्ने दाबी गरेको छ । एमालेका जिल्ला अध्यक्ष प्रमोद यादवले भने राजमार्गका ५ मध्ये चार नगरपालिका जित्ने दाबी गरे ।

सिरहाका एक सुरक्षा अधिकारीले राजमार्ग क्षेत्रका ५ नगरपालिकामा एमाले र माओवादी नै हाबी हुने आँकडा सुनाए । उनले भने-राजमार्गमा एमाले र माओवादीले कम्तिमा दुई-दुई नगरपालिका जित्ने देखिन्छ । लहानमा एमाले र कांग्रेसमध्ये को फुत्किन्छ, अहिले नै भन्न सकिन्न ।

धनुषाको राजमार्गमा बेग्लै रमिता !

धनुषामा राजमार्ग क्षेत्रमा तीनवटा नगरपालिका पर्छन् । बटेश्वर गाउँपालिकाले राजमार्ग नछोए पनि राजमार्गसँगै छ । मिथिला नगरपालिकामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ । यहाँ एमालेका केन्द्रीय सदस्य हरिनारायण महतो मेयरका उम्मेदवार छन् ।

यहाँ तालमेलका कारण एमालेलाई अप्ठेरो पर्ने देखिन्छ । तर, कांग्रेसकै रामनारायण महतो मेयरमा बागी उठेका कारण एमालेलाई केही राहत महसुस भएको छ ।

उता कांग्रेसकै जस्तो हालत गणेशमान चारनाथ नगरपालिकामा एमालेको छ । रघुबीर महासेठले एकलौटी ढंगले टिकट वितरण गरेपछि एमालेका पुराना नेता पुरुषोत्तम लामा घर चिन्ह लिएर जनमुक्ति पार्टीबाट मेयरको बागी उम्मेदवार बनेका छन् । नगरपालिकाका ८ वटा वडामा एमालेका वडाध्यक्षका उम्मेदवार नै जनमुक्तिबाट उम्मेदवार बनेका छन् ।

पार्टीका नेता कार्यकर्ताको भावना विपरीत एमाले नेता महासेठ हाबी भएको भन्दै एमाले कार्यकर्ताहरु घर चिन्हमा भोट माग्दै हिँडेका छन् । यहाँ घर चिन्ह लिएका एमाले र संघीय समाजवादी फोरमबीच प्रतिस्पर्धा रहेको छ ।

धनुषाधाम नगरपालिकामा भने हेमबहादुर मल्लकी बुहारी प्रेक्षा मल्ल राप्रपाबाट मेयरमा उम्मेदवार बनेका कारण त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यहाँ एमाले, कांग्रेस र राप्रपा हाराहारीमा देखिएका छन् ।

महोत्तरीको राजमार्गमा कांग्रेस भर्सेस माओवादी

महोत्तरीमा राजमार्गसँग जोडिएका दुई वटामात्रै नगरपालिका छन्, बर्दिबास र गौशाला । बर्दिबास माओवादीको परम्परागत पकड क्षेत्र हो । यही क्षेत्रबाट दुईपटक गिरिराजमणि पोखरेलले चुनाव जितेका छन् । यसपटक बर्दिबासमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

एमालेले आफ्नो अवस्था सुधार गरेको देखिएकाले बर्दिबासमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको कांग्रेस नेता गुरुङले बताए । ‘मूलतः कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने ठानेको हो, तर पछिल्लो समय एमाले पनि प्रतिस्पर्धामा आएको छ’ उनले भने ।

गौशाला नगरपालिकामा भने कांग्रेस र माओवादीबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ माओवादी कांग्रेसभन्दा अगाडि देखिएको स्थानीय बताउँछन् ।

सर्लाहीको राजमार्गः एमालेको बढ्ता आश

सर्लाही जिल्लामा राजमार्गसँग र आपपासमै रहेका ६ वटा नगरपालिका छन् । लालबन्दी, ईश्वरपुपर, हरिवन र बागमति नगरपालिका राजमार्गमै छन् । बरहथवा र हरिपुर नगरपालिका राजमार्गबाट केहीभित्र परे पनि आमरुपमा राजमार्गसँगै गाँसिएका छन् ।

सर्लाहीमा चुनावी अभियानको नेतृत्व गरिरहेका एमालेका २ नम्बर प्रदेश कमिटी सदस्य राजनारायण साह राजमार्ग क्षेत्रका ६ वटै नगरपालिका एमालेले जित्ने दाबी गर्छन् । तीमध्ये बागमती र लालबन्दीमा माओवादीसँग र अन्यत्र कांग्रेससँग प्रतिस्पर्धा रहेको साहले बताए ।

माओवादीले लालबन्दी र बागमती जित्ने अपेक्षा राखेको छ । कांग्रेसले बागमती र लालबन्दीमा माओवादीसँग र अन्यत्र एमालेसँग प्रतिस्पर्धा हुने आँकलन गरेको छ ।
माओवादीले दुई नगरपालिका जित्ने दाबी गरेजस्तै कांग्रेस नेता गुरुङले ६ मध्ये कम्तिमा ३ नगरपालिका जितिने दाबी गरे ।

चन्द्रपुरमा एमाले विवादले माओवादीलाई फाइदा ?

रौतहटमा राजमार्गभित्र पर्ने एउटा मात्रै स्थानीय तह चन्द्रपुर नगरपालिका हो । पहाडे र थारु समुदायको मिश्रति बसोबास रहेको चन्द्रपुरमा कांग्रेस र एमाले दुवै पार्टीभित्र उम्मेदवारीको ठूलो विवाद भयो । यसको फाइदा माओवादी केन्द्रका युवराज भट्टराईले लिन सक्ने स्थानीय बताउँछन् ।
चन्द्रनिगाहपुरलाई समेटिएको चन्द्रपुर नगरपालिकामा एमालेका आधिकारिक उम्मदेवारलाई बाइपास गरेर अर्कोलाई खडा गरिएको भन्दै जिल्ला पार्टीले आपत्ति जनाएको छ । यो विवाद केन्द्रसम्म आइपुगेको छ । र, यही कारणले एमाले विभााजित मानसिकता लिएर चुनावमा होमिएको अवस्था छ ।

बाराका दुई स्थानीय तहमा को बलियो ?

बारामा राजमार्गसँगै जोडिएको उपमहानगरपालिका जितपुर सिमरा र निजगढ नगरपालिका छन् । निजगढमा कांग्रेस माओवादीबीच तालमेल छ ।

एमालेको गढ मानिने निजगढमा दुई पक्षीय तीब्र प्रतिस्पर्धा देखिएको छ । निजगढ जित्ने अपेक्षा गरिएको कांग्रेस नेता शोभाकर पराजुलीले बताए । एमाले नेता तथा सोही क्षेत्रका सांसद पुरुषोत्तम पौडेलले भने कांग्रेस माओवादी लगायत सबै दल मिले पनि निजगढमा एमालेलाई हराउन नसक्ने दाबी गरे ।

जितपुर सिमरा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा छ । यहाँ कांग्रेस माओवादीबीच तालमेलको अन्तिम निर्णय हुने बेला कांग्रेसले माओवादीलाई मेयर दिन नमानेपछि तालमेल हुन सकेको छैन । र, तीनवटै दल एक्लाएक्लै लड्दैछन् ।

कांग्रेस माओवादी दुवैको प्रतिस्पर्धी एमाले ?

चुनावी अभियानकै क्रममा गृहजिल्ला महोत्तरीमा रहेका कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले राजमार्गमा एमाले नै मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेस पहिलो बन्ने दाबी गरे ।

माओवादीसँग तालमेल सफल नभएकाले कतिपय स्थानमा एमाले अगाडि रहे पनि समग्रमा कांग्रेस र एमालेबीच अधिकांश स्थानमा तीब्र प्रतिस्पर्धा रहेको उनले बताए ।

माओवादीले पनि राजमार्ग क्षेत्रमा एमालेसँग नै मुख्य प्रतिस्पर्धा रहेको बताएको छ । चुनावी अभियानका क्रममा सर्लाहीमा रहेका माओवादीका केन्द्रीय सचिवालय सदस्य प्रल्हाद बुढाथोकीले राजमार्गमा कांग्रेस केही ठाउँमा मात्रै प्रतिस्पर्धामा आउने दाबी गरे । उनले अधिकांश ठाउँमा एमाले र माओवादीको प्रतिस्पर्धा रहेको बताए ।

उम्मेदवार मनोनयनको अघिल्लो रातिसम्म पनि कांग्रेस र माओवादीका शीर्षनेताबीच राजमार्ग क्षेत्रका कम्तिमा १० स्थानीय तहमा तालमेल गर्ने सहमति भएको थियो । तर, अन्तिममा धनुषाको मिथिला र बाराको निजगढमा मात्रै तालमेल भएको छ ।

कांग्रेस-माओवादी तालमेल नभएपछि राजमार्ग क्षेत्रमा एमाले अलि बढी हौसिएको छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्दा राजमार्ग क्षेत्रका ७० प्रतिशत स्थानीय तह जित्ने निश्चित भएको सो क्षेत्रको भ्रमणबाट हालै काठमाडौं फर्किएका एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले दाबी गरे ।

चुनावी सुरक्षाको अनुगमनमा निस्किएका सशस्त्र प्रहरीका एक उच्च अधिकारीले चुनाव प्रचार अभियानको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रमा एमाले केही अगाडि देखिएको बताए । तर कांग्रेस, एमाले र माओवादीबीच ठाउँ अनुसार त्रिपक्षीय प्रतिस्पर्धा देखिएको उनको विश्लेषण छ ।
ती अधिकारीले भने- महेन्द्र राजमार्ग क्षेत्रका अधिकांश स्थानीय तहमा एमाले प्रतिस्पर्धी देखिन्छ । ठाउँ अनुसार कतै कांग्रेससँग उसको प्रतिस्पर्धा छ, कतै माओवादीसँग छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका बाहेक अन्यत्र एमाले प्रतिस्पर्धामा छ ।

हाल सर्लाहीमा रहेका कांग्रेस नेता अमरेशकुमार सिंहले पनि अनलाइनखबरसँगको कुराकानीमा राजमार्गमा एमालेको प्रभाव रहेको बताएका छन् । तर, दक्षिणमा एमाले कमजोर रहेको सिंहको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment