Comments Add Comment

आफूले चाहेको राष्ट्रपति पाउँदा पनि खुशी छैनन् सिंगापुरवासी

२८ भदौ, काठमाडौं । हलिमा याकुव सिंगापुरको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।

तथापि, निकै लोकपि्रय नेतृ हलिमा राष्ट्रपति बन्दा पनि सिंगापुरवासी खुशी छैनन् । कारण हो, उनीहरु मतदानबाट उनलाई जिताउन चाहन्थे । उनी चुनिइन्, वाक ओभरबाट ।

किनकि, राष्ट्रपतिका लागि अन्य उम्मेवार नै मैदानमा देखिएनन् ।

सिंगापुरका बासिन्दा चुनावमा प्रयोग मात्र हुन्छन् । यस दक्षिणपूर्वी एसियाली मुलुकको स्वतन्त्रताको इतिहास जम्मा ५२ वर्षको हो । यसबीचका हरेक निर्वाचनमा पिपुल्स एक्सन पार्टी -पीएपी) नै विजयी हुँदै आएको छ ।

निरन्तर विजयको कारण उक्त पार्टीप्रतिको विश्वास नभई सरकारले सञ्चारमाध्यम र राजनीतिक स्वतन्त्रतामा गरेको नियन्त्रण हो ।

राष्ट्रपतिको भूमिका ‘सेरेमोनियल’ छ । र, राज्यको शक्ति प्रयोग गर्न पाउँदिनन् । उनको हातमा सिंगापुरको भव्य आर्थिक भण्डार प्रयोग गर्न सक्ने सीमित अधिकार मात्र छ ।

त्यसका बाबजुद मतदाता मताधिकार प्रयोग गर्न उत्सुक थिए । तर, राष्ट्रपतिमा हलिमा मात्र उम्मेदवार रहेको सुनेपछि उनीहरु निरास भएका छन् ।

राष्ट्रपतिका लागि व्यवसायी सलेह मारिकन र फरिद खानलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको थियो । तर, सरकारी समितिले उनीहरुको कम्पनीमा सेयरहोल्डरहरुको हिस्सा कम्तिमा ५० करोड डलर नभएको ठहर गर्दै दुवैलाई उम्मेदवार बन्न अयोग्य घोषित गर्‍यो ।

त्यसो त, हलिमाले पनि यो मापदण्ड पुरा गर्दिनन् । तर, संसदको सभामुखको भूमिका निर्वाह गरिसकेकाले उनी योग्य भइन् । सिंगापुरमा निश्चित सरकारी पदमा पुगिसकेकाहरुलाई राष्ट्रपति बन्न योग्य मानिन्छ । यही कारण उनी राष्ट्रपति छानिएकी हुन्, चुनिएकी होइनन् भन्न थालिएको छ ।

हलिमा मुस्लिम हुन् र मले जनजाति अल्पसंख्यक हुन् । र, अल्पसंख्यक समुदायबाट सिंगापुरको राष्ट्रपति हुने दोस्रो व्यक्ति बनेकी छन् । उक्त निर्वाचनमा सरकारले मल अल्पसंख्यक समुदायको व्यक्ति मात्र उम्मेदवार बन्न सक्ने कानुनी व्यवस्था गरेको थियो ।

यसरी राज्यको उच्च पदमा कुनै निश्चित समुदायलाई मात्र पुग्न पाउने कानुनी व्यवस्था गरिएको पनि सिंगापुरको इतिहासमा पहिलो पटक हो ।

अल्पसंख्यक समुदायको व्यक्ति राष्ट्रप्रमुख बन्दा सिंगापुरका बासिन्दा उत्साहित देखिनुपर्ने हो । तर, त्यस्तो हुन सकेन ।

चिनियाँ मुलका नागरिकको बाहुल्यता रहेको देशमा अल्पसंख्यकहरु पनि उच्च पदमा पुग्न सक्छन् भन्ने देखाउन सरकारले यस पटक होसियारीपूर्वक कदम चालेको थियो । सोही कारण निश्चित उम्मेदवारले मात्र प्रतिस्पर्धा गर्न पाए । र, तीमध्ये पनि हलिमाले बाजी मारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment