Comments Add Comment

सुध्रियो त्रिभुवन विमानस्थलको आगमन कक्ष

यात्रु तान्नेलाई प्रहरीले नियन्त्रणमा लिने !

१ असोज, काठमाडौं । कतारबाट नेपाल आएका पोखराका संयोग लामा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर निस्किँदा छक्कै परे ।

कारण हो, उनलाई यसपटक निस्कँदा-निस्कँदै आगमन कक्षको बाहिरी भागसम्म नै कोही अपरिचित व्यक्ति तान्न आएनन् । यसअघि निस्कँदा-निस्कँदै देखिने अनावश्यक भीड यसपटक हराएको देखेपछि उनले आश्चर्य प्रकट गरे ।

‘अघिल्लो पटक कतारबाटै फर्किँदा ट्याक्सी र होटलवालाले भीडले घेर्दा ह्याण्ड ब्याग नै हरायो । यसपालि यहाँ त अच्चमै भएछ ‘ लामाले अचम्म मान्दै सोधे ,’बाहिरसम्म नै मेरो होटल जाउँ, मेरो ट्याक्सीमा जाउँ भन्दै तान्न आउने त एउटै छैनन्, कता गएछन् ?’

उनले यसो भन्दै गर्दा गाडी छाडेर अघि बढेका एक प्रिपेड ट्याक्सी चालकलाई प्रहरीले सिठ्ठी फुकेर आफ्नै स्थानमा फर्काए ।

लामाले जस्तै अनुभव गरेका रहेछन् मलेसियाबाट फर्किएका चितवनका गौरब अधिकारीले पनि । यसअघि साउदी गएर फर्किँदा होटलवालाले दुःख दिएको उनले सम्झिए ।

‘आउँदा-आउँदै पाखुरामा समातेर दाई कहाँ जाने, हाम्रोमा जाउँ, यस्तो छ, त्यस्तो छ भन्नेको घुइँचो हुन्थ्यो, एयरपोर्ट लुटिने नै हो कि जस्तो डर हुन्थ्यो’ अधिकारीले भने, ‘आज त आधा घण्टा बस्दा पनि सोध्न आउने एउटै छैनन्, आनन्दै छ ।’

लामा र अधिकारीले जस्तै धेरैले त्रिभुवन विमानस्थलको आगमन कक्षतर्फको भागमा आजभोलि सुधारको अनुभुति गरेका छन् । सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखामा आएपछि उनको पहलबाट सुरु भएको सुधारको अभियानले त्रिभुवन विमानस्थलमा केही सकारात्मक काम देखिएका छन् ।

अहिले आगमन कक्षबाट बाहिर निस्कएपछिको यार्डमा हो-हल्ला हुन छाडेको छ । आफन्त लिन गएकाहरु आफ्नो तोेकिएको ठाउँभन्दा बाहिर आएको देखिँदैन ।

सँगै लगेज लिएर ट्रली गुडाउँदै अन्तिम गन्तब्यसम्म पनि यात्रुलाई डिस्टर्ब गर्नेहरु भेटिँदैनन् । एयरपोर्टमा पुग्दा यात्रुको आगमनतर्फको भागमा पहिलेभन्दा धेरै सुधारिएको अनुभव जो-कोहीले गर्न सक्छ ।

डीआईजी खनालले राजधानीमा सवारी साधनको बेथिति व्यवस्थापनको सुरुवातमा त्रिभुवन विमानस्थलका ट्याक्सीबाट सुरु गर्ने घोषणा नै गरेका थिए । त्यसैअनुसार उनले यात्रुलाई सहज रुपमा एयरपोर्टबाट निस्कने वातावरणका लागि त्रिभुवन विमानस्थलको प्रहरीसमक्ष पहल गरेका थिए ।

तर, उनी एक्लोको प्रयासमा भने यो सम्भव भएको हैन, एयरपोर्ट प्रहरीका डीआईजी पंकज श्रेष्ठसहित एसएसपी गणेश चन्दले पनि यो कामको नेतृत्व लिएका छन् । अहिले ड्युटीमा खटिएका प्रहरीलाई निर्देशन छ, ‘यात्रुलाई दबाव र तनाव दिने गरी तान्न जाने जो-कोहीलाई समातेर नियन्त्रणमा लिनू ।’

प्रहरीले नेपाली र विदेशी यात्रुलाई आगमन कक्षको द्वारमै तान्न र अनावश्यक दबाव दिन जानेहरुका कारण अन्तर्राष्ट्रियरुपमै विमानस्थलको साखः गिरेको भन्दै यसलाई रोक्न काम सुरु गरेको छ । अहिले यसको सकारात्मक प्रभाव त्रिभुवन विमानस्थलमा राम्रैसँग परेको देखिन्छ ।

एयरपोर्टका पि्रपेड ट्याक्सीदेखि त्यहाँ यात्रुलाई दुःख दिने होटल एजेन्ट, उनीहरुका गाडी चालक तथा भाडाका ट्याक्सी चालकसम्म प्रहरीको सुधारमुखी कदमपछि तितर-वितर भएका छन् ।

‘यात्रुलाई ट्याक्सी वा होटलवालाले कहाँ जाने भनेर सोध्ने होइन भन्ने मान्यताअनुसार सुधार अभियान थालेका हौं । अब यात्रुले आफूलाई चाहिने सेवा खोज्छ’ ड्युटीमा खटिएका एक प्रहरी जवान भन्छन्,’एयरपोर्ट प्रहरीले पनि यो सुधारको काम गर्न खोज्दै थियो । ट्राफिकमा खनाल डीआईजी साहेबले पनि यसमा पहल लिनुभयो । दुईजनाको ट्युनिङ मिल्दा गजबको सुधार भयो ।’

आजभोलि विमानस्थलको पि्रपेड ट्याक्सीका चालकहरु आफ्नो गाडीभन्दा अघि बढेर आउँदैनन् । दिउँसो घाम हुने भएकाले गाडीको बाहिर उभिनसम्म प्रहरीले दिएको छ । बेलुका भने उनीहरुलाई ट्याक्सी बाहिर ओर्लने अनुमति पनि छैन ।

उनीहरुले यात्रु कुर्छन र सोध्न आएका यात्रुलाई लिएर जान पाउँछन् । यात्रुलाई कन्भिन्स गर्न ट्याक्सी छाडेर अघि आउनै पाउँदैनन् । उनीहरुलाई प्रहरीले परिचय पत्र र पहिचान दिनै एउटै किसिमको बाहिरी ड्रेस अनिवार्य गरेको छ ।

यात्रुले चाहेमा सीधा पि्रपेड ट्याक्सीको काउन्टरमा गएर तोकिएको भाडा अनुसार शुल्क बझाउँछन् । एयरपोर्टभित्रै भाडाका मिटर ट्याक्सीका लागि पनि ठाउँ छुट्याएको छ । डीआईजी सर्वेन्द्र खनालले पि्रपेड ट्याक्सीको भाडा दर महंगो भएको भन्दै यात्रुलाई विकल्प दिन भाडाका १० वटासम्म ट्याक्सीलाई पनि पार्किङ गरेर यात्रु कुर्ने अवस्था बनाएको बताउँछन् ।

यसैगरी होटलका गाडी पार्किङका लागि ट्राफिक प्रहरीले पार्किङलट तोकेको छ । होटलका गाडी चालक पनि यात्रु खोज्दै आगमन कक्ष वरपर घुम्न पाउँदैनन् । तोकिएको संख्या भन्दा बढी गाडी पार्क गर्न पनि ट्राफिकले अनुमति दिएको छैन ।

यदि यात्रुलाई निषेधित क्षेत्रमा गए र यात्रुलाई अनावश्यक झञ्झट दिए तुरुन्तै प्रहरीले नियन्त्रणमा लिए पहिलोपटक ३ घण्टा प्रहरी कार्यालयमा राख्ने गरेको छ । दोस्रोपटक पनि सोही व्यक्ति समातिए कानुनअनुसार हिरासतमै लिएर कारवाही गर्न थालिएको एसपी चन्दले बताए ।

‘यहाँ पहिला होटलहरुले भाडा माझ्ने मान्छेसम्म ग्राहक खोजेर ल्याउन पठाउँथे । तिनले विदेशीलाई पनि विनाअर्थ दुःख दिन्थे ।

ट्याक्सीवालाले पनि विदेशबाट फर्किएकालाई जबरजस्ती आफूले कमिसन बुझ्ने होटलमा लिएर जान्थे’ एक प्रहरी जवानले भने,’पि्रपेड ट्याक्सीवालाको पनि दादागिरी हुन्थ्यो, चोरी र झगडा नभएको दिन नै हुँदैनथ्यो, अब सुधारियो ।’

एसपी चन्द पनि आफूहरुले कागजमा रहेको नियमलाई कार्यान्वयन मात्रै गराएको बताउँछन् । यात्रुले धेरै दुःख पाएकाले कडा रुपमा अघि बढ्नुपर्ने महसुस गरेर यस्तो कदम चालिएको उनको भनाइ छ ।

‘एयरपोर्टमा को-को कहाँ बस्ने, को कहाँबाट अघि नआउने भन्ने सबै विमानस्थल प्रशासनले यसअघि नै तोकेको थियो । तर, कार्यान्वयनमा कसैको चासो थिएन,’ एसपी चन्दले भने, ‘हामी पहिलो आँखा चिम्लिन्थ्यौं । तर, यसपटक हामीले आँखा खोलेर नियम बसाल्यौं ।’

उनले अब यो सिस्टमलाई भत्किन नदिने बताउँछन् । प्रहरीको आँखा छलेर हुने अनियमित कमालाई पनि प्रभावकारी ढंगबाट योजना बनाएर रोक्ने उनको प्रतिवद्धता छ ।

ट्याक्सीको मनपरि कायमै

विमानस्थलमा केही सुधारका कामहरु देखिए पनि बाहिर निस्किएर ट्याक्सी समात्ने बेलामा भने अझै पनि यात्रुहरु ठगिने क्रम रोकिएको छैन । ट्याक्सीवालाले मिटरमा जान नमान्ने र लाग्ने भाडा भन्दा दोब्बर माग्दै यात्रुलाई दुःख दिने क्रम अझै यथावत छ ।

तस्वीरः कमल प्रसाइँ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment