Comments Add Comment

माओवादीले माग्यो काठमाडौंमा ४ सिट,बढीमा ३ सिट दिन एमाले तयार

माधव नेपाल,ईश्वर पोखरेलसहित ५ सर्वसम्मत,अष्टलक्ष्मी र कृष्णगोपालको विवाद

२० असोज,काठमाडौं । देशकै सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाबाट बामपन्थी गठबन्धनको माओवादीले चार सिट दावी गरेको छ ।

२०७० सालको संविधानसभा निर्वाचन र २०७४ को स्थानीय तह निर्वाचनमा तेस्रो पनि हुन नसकेको माओवादीले ४ सिट मागेपछि एमालेमा खैलाबैला मच्चिएको छ ।

६०/४० को अनुपातमा माओवादीले १० सिटमध्ये ४ सिट मागे पनि आफ्नो प्रभावका अन्य जिल्लामा थप सिट पाए काठमाडौंमा धेरै जोडबल नगर्ने एक माओवादी नेताले बताए । माओवादीले काठमाडौंको क्षेत्र नम्बर १,६,८ र १० मा दावी गरेको छ ।

एमाले स्रोतका अनुसार बढिमा ३ सिट छाड्नुपर्दा माओवादीलाई क्षेत्र नं. १, ६ र ८ छाड्न सकिनेछ । यद्यपी ६ नम्बर र १० नम्बर मध्ये कुन छाड्ने भन्ने बहस पनि एमालेभित्र चलेको छ ।

क्षेत्र नं. ६ बाट २ पटक झिनो मतले पराजित भएका योगेश भट्टराई ताप्लेजुङ गएपछि यहाँ एमालेका ठूला नेता छैनन् ।

जनमतको हिसाबले स्थानीय चुनावमा एमाले पहिलो पार्टी बनेको यो क्षेत्रबाट केशव स्थापित,योगेन्द्र संग्रौला लगायत दाबेदार छन् ।

माओवादी नेता हितमान शाक्य पनि यहि क्षेत्रबाट २०६४ मा निर्वाचित भएकाले यसपटक पनि माओवादीले यहाँ दावी गर्न सक्छ ।

१० नम्बर क्षेत्रमा एमालेका सुरेन्द्र मानन्धर सशक्त दाबेदार हुन् । २०७० मा प्रचण्ड तेस्रो हुँदा दोस्रो स्थानमा रहेका मानन्धरले यसबीचमा कीर्तिपुर नगरपालिका जिताएर आफ्नो अवस्था सुदृढ पारेका छन् ।

माधव नेपाल र र्इश्वर पोखरेल सर्वसम्मत

एमालेले काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गरिसकेको छ । बरिष्ठ नेता माधवकुमार नेपाल २ नम्बर क्षेत्रबाट सिफारिस भएका छन् भने महासचिव ईश्वर पोखरेल ५ नम्बरबाट सिफारिस भएका छन् ।

पार्टीका जिल्ला अध्यक्ष कृष्ण राई ३ नम्बर क्षेत्र र केन्द्रीय सदस्य राजन भट्टराई ४ नम्बरबाट सिफारिस भएका छन् । जिल्ला उपाध्यक्ष रामवीर मानन्धर ७ नम्बरबाट सर्वसम्मत सिफारिस भएका छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

१,६,८,९ र १० नम्बर निर्वाचन क्षेत्रमा सर्वसम्मतिको प्रयास भइरहेको र शुक्रवार साँझसम्म एक एक जनाको नाम सिफारिस गरिने जिल्ला अध्यक्ष राईले बताए ।

क्षेत्रीय कमिटीमा छलफल हुँदा १ नम्बरमा जिल्ला इन्चार्ज साबित्रा भुसाल र काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर बिदूर मैनालीको नाम आएको छ ।

६ नम्बरमा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित,पूर्व वडाध्यक्ष योगेन्द्र संग्रौला लगायतको नाम आएको छ ।

८ नम्बरबाट ३ नम्बर प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य जीवनराम श्रेष्ठको दावी परेको छ ।

यद्यपी अष्टलक्ष्मी शाक्यले भने ८ नम्बरबाट आफ्नो नाम मेटाउन निर्देशन दिएकी छन् । उनले ९ नम्बर क्षेत्रबाट उम्मेदवार बन्न चाहेको बताइएको छ । सोही क्षेत्रमा कृष्णगोपालको पनि दावी छ ।

१० नम्बरबाट केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धर,रत्न महर्जन र उर्मिला कर्माचार्यको नाम सिफारिस भएको छ । सोही क्षेत्रका अर्का दाबेदार पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठ भने प्रदेशसभाको उम्मेदवार बन्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment