Comments Add Comment

विश्वसम्पदा सूचीको चाँगुनारायण मन्दिरको जीर्णोद्वार सम्पन्न

२५ असोज, काठमाडौं । भक्तपुरस्थित भूकम्पबाट क्षतिग्रस्त चाँगुनारायण मन्दिरको जीर्णोद्वार सकिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत यो मन्दिरको जिर्णोद्वारकोे काम डेढ वर्षअघिबाट सुरु भएको थियो ।

मन्दिरको जीर्णोद्वार सकेर मन्दिरलाई पुरानै अवस्थामा फर्काइएको पुरतत्व विभागका इञ्जिनियर सम्पत घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

मन्दिरको पुननिर्माणको कामा पुरातत्व विभाग अन्तरगतको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले गरेको हो । जीर्णोद्वारका लागि कुल ९४ लाख ६५ हजार ८४८ मा ठेक्का दिइएको थियो ।

भूकम्पपछि तयार पारिएको प्रतिवेदनमा मन्दिरको माथिल्लो एक भागको मुठल ८ इञ्च ढल्केको उल्लेख थियो । त्यस्तै माथिल्लो भागकै गारो ३ इन्चसम्म बाहिरिएको थियो । मन्दिरलाई नभत्काई रेट्रोफिट गरी जीर्णोद्वार गरिएको इञ्जिनियर घिमिरेले बताए ।

‘अब मन्दिरको सबै काम सकियो, मन्दिरलाई रेट्रोफिट गरेर पुरतात्विक अवस्थामा नै पुनस्र्थापित गराएका छौं,’ घिमिरेले भने । बढी क्षति भएको मन्दिरको माथिल्लो छानासम्म भत्काएर मन्दिर जीर्णोद्वार गरिएको हो ।

मन्दिरभित्रको प्रथम प्रदक्षीणा, गर्भको प्रदक्षीणासहित पहिलो तलाको भण्डारमा रहेको पुरातात्विक वस्तुहरु निकालेर जिर्णोद्वार गरिएको छ । जिर्णोद्वारका समयमा अर्को अस्थायी भवनमा स्थानमा भण्डार गरिएका पुरातात्विक देवदेवीको मूर्ति, हातहतियार, गरगहना र वस्तुहरु मन्दिरमै राखिने विभागका महानिर्देशक भेषनारायण दहालले जानकारी दिए ।

मन्दिरका केही पुरातात्विक सामग्री हनुमानढोकामा भण्डारण गरिएको स्थानीय बताउँछन् । मन्दिर परिसरको किलेश्वर महादेव मन्दिर दातृ संस्था हेरिटेज एन्ड इन्भाइरोमेन्ट कन्जरभेसन फाउन्डेसन नेपालले पुनर्निर्माण गरेर विभागलाई जिम्मा लगाइसकेको छ ।

चाँगुनारायण परिसरका विभिन्न पुराना सम्पदाको पुननिर्माणको जिम्मा भने विभिन्न विदेशी दातृ निकायलाई दिने तयारी भएपनि निर्णय हुन बाँकी रहेको महानिर्देशक दाहालले बताए ।

मन्दिर परिसरको चौघेरा सत्तल, अमात्य सत्तल, पुजारी घर, शिव मन्दिर, लक्ष्मीनारायण मन्दिर लगायत पुननिर्माण गर्नुपर्ने अवस्थामा छन् । चाँगुनारायणसँगै ललितपुरको बुङ्मतीस्थित मनकानाको मन्दिरको पुननिर्माण पनि सकिएको छ ।

विभागले पछिल्लो समयमा पुरतात्विक सम्पदाको पुनर्निर्माणले थप गति लिएको दावी गरेको छ । तर, काष्ठमण्डप, रानीपोखरी, धरहरा लगायत महत्वपूर्ण सम्पदाहरु भने निर्माणको जिम्मा लिएका काठमाडौं महानगर लगायत अकर्मण्यताको शिकार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment