तथ्यांकहरुले देखाउँछन्, हामीकहाँ असुरक्षित गर्भपतन बढ्दो छ । यसमा पनि किशोरीहरुको गर्भपतन, जो अविवाहित छन् । अनिच्छित गर्भधारणपछि धेरैले गर्भपतनको विकल्प अपनाउने गरेका छन् । त्यसमा किशोरीको संख्या अधिक छ ।
यस्तो किन पनि भइरहेको छ भने हामीकहाँ गर्भपतनलाई १२ वर्षयता कानूनी मान्यता छ । यसले कानूनी झण्झट निम्त्याउँदैन । यद्यपि, स्वास्थ्यमा ?
स्वास्थ्यको हकमा भने गर्भपतनले अनेकौं शारीरिक समस्या निम्त्याउन सक्छ ।
गर्भपतनको प्रक्रिया
सामान्यतया गर्भको बच्चा बाहिर निकालिएमा बचाउन नसकिने अवस्थामा नै गर्भको अन्त्य गर्नुलाई गर्भपतन भनिन्छ । यस हिसाबले विकसित मुलुकहरुमा २० साता र विकासोन्मुख देशहरुमा २२ सातासम्मको गर्भ अन्त्य गरिनुलाई गर्भपतन भनिन्छ ।
तर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अवधिभन्दा पनि तौल पाँच सय ग्रामभन्दा कम भएको अवस्थामा गर्भ तुहाउनु वा तुहिनुलाई गर्भपतन भनेको छ । डब्लूएचओको पछिल्लो प्रतिवेदनअनुसार विकासोन्मुख देशहरुमा प्रतिएक हजार महिला (१५-४५ वर्ष) मा २९ ले गर्भपतन गर्छन् भने विकसित मुलुकमा यो संख्या २४ छ । नेपालमा यसको अवस्था अलिक फरक छ ।
सन् २०१६ को तथ्यांकअनुसार प्रतिएक हजार महिलामा गर्भपतन गराउनेको संख्या ४२ छ र यो संख्या हरेक विकास क्षेत्रमा फरक-फरक छ । सबैभन्दा बढी मध्यमाञ्चलमा ५९, पूर्वाञ्चलमा ३९, पश्चिमाञ्चलमा ३२, मध्यपश्चिममा २७ र सुदूरपश्चिममा सबैभन्दा कम २१ रहेको तथ्यांकले देखाउँछ ।
किशोरीमा गर्भपतन
पछिल्लो समयमा किशोरावस्थामा गर्भपतन रोज्ने क्रम बढ्दो छ । नेपालमा यसको कुनै आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन । तथापि, गर्भपतन गराउने भीडमा किशोरीहरु नै बढी देखिने गरेका छन् ।
न्युयोर्कका जोन आरके र साथीहरुले सन् २००८ मा गरेको अध्ययनले अमेरिकामा हुने कुल गर्भपतनमध्ये १८ प्रतित किशोरी रहेको देखाएको छ । अमेरिका र नेपालको अवस्था एउटै नहोला । तर, पछिल्लो चरणमा व्यस्त अनि पश्चिमा जीवनशैलीको विकास हेर्दा हामी प्रेम, यौन र गर्भपतनमा धेरै पछाडि नरहेको देखिन्छ ।
वर्षमा एक करोड ६० लाख गर्भपतन
डब्लूएचओको सन् २०१४ को तथ्यांकअनुसार एक करोड ६० लाख किशोरी (१५-१९ वर्ष) बर्सेनि गर्भवती हुने गरेका छन् । र, तीमध्ये १० लाख जना १५ वर्षमै आमा बन्छन् ।
तीमध्ये ९५ प्रतिशत कम तथा मध्यम आय भएका मुलुकका हुन्छन् । करिब ३० लाख किशोरीले बर्सेनि असुरक्षित गर्भपतन गराउने उक्त प्रतिवेदनमा उल्लेख छ ।
प्रेमको चक्कर र गर्भपतन
किशोरावस्थामा आफ्नै उमेरका साथीहरु रोज्ने, उनीहरुसँगै घुम्ने र रमाउने स्वभाव अधिकांशको हुन्छ । यस अवस्थामा यौनसम्पर्कको असर तथा गर्भवतीका सम्भावनाको ख्याल नगरी रमाइलो वा साथीहरुको करले मात्र पनि असुरक्षित यौनसम्पर्क हुन सक्छ ।
साथी गुम्ने वा रिसाउने डरका कारण पनि किशोरीहरु यौनसम्पर्क राख्न बाध्य भएका हुन्छन् । अहिले आमाबाबु व्यस्त हुने वा छोराछोरी अध्ययनका लागि घरबाहिर बस्ने, चलचित्रको प्रभाव, धुम्रपान तथा मद्यपानको लत, परिवार नियोजनसम्बन्धि ज्ञानको कमिका कारण किशोरीहरु गर्भवती हुने गरेको देखिन्छ ।
यसकारण रोज्छन् गर्भपतन
गर्भवती भइसकेपछि थप जिम्मेवारी पूरा गर्न नसक्ने, अविवाहित रहेको, रोजगारी नभएको, कमजोर आर्थिक अवस्था, पारिवारिक समस्या, शैक्षिक तथा सामाजिक कारणहरुले किशोरीहरुले गर्भपतन रोज्नुपर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
कसरी अपनाउने सुरक्षा ?
किशोरावस्थामा गर्भपतन गर्न मिल्दैन भन्ने छैन । सामान्यतयाः वृद्धावस्थामा गर्भपतन गर्दा जति जटिल हुन्छ, किशोरावस्थामा त्यसभन्दा कम जटिल हुन्छ । तर, किशोरीहरु डर र अज्ञानताका कारण असुरक्षित गर्भपतन रोज्ने सम्भावना बढी हुन्छ ।
असुरक्षित गर्भपतनका कारण रक्तश्राव, संक्रमण र बाँझोपनको जोखिम निम्तिन सक्छ । अधिकांश किशोरीमा गर्भपतनका कारण उत्पन्न हुने मानसिक तनावले कुशल अभिभावकत्व नपाएमा डिप्रेसनमा जाने जोखिम पनि रहन्छ ।
नियन्त्रणको विधि
गर्भपतन गर्नुभन्दा पनि परिवार नियोजनका साधन अपनाउनु र अनिच्छित गर्भ रहन नदिनु राम्रो हो । साथमा, सुरक्षित गर्भपतनको सेवा विस्तार र यससम्बन्धि जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।
किशोरावस्थामा हुने चरम यौन चाहना तथा गर्भ रोक्ने उपायबारे किशोर-किशोरीहरुलाई पर्याप्त जानकारी दिनुपर्ने देखिन्छ ।
अशिक्षित, निमुखा किशोर-किशोरीदेखि लिएर स्कुल, कलेजका किशोर-किशोरीहरु, अभिभावक, शिक्षक अनि समाजका सबै वर्ग र समुदायलाई २० वर्ष पार नगरी गर्भवती हुन नदिन प्रेरित गर्नुपर्ने देखिन्छ । संयमित यौन व्यवहार, परिवार नियोजनका साधनहरु र आकस्मिक गर्भनिरोधक साधनका बारेमा पूर्ण जानकारी, सुरक्षित यौनसम्पर्क आदि गर्भ रोक्ने उपाय हुन सक्छन् ।
प्रतिक्रिया 4