Comments Add Comment

देउवालाई ओली र प्रचण्डको चेतावनी-चुनावबाट भाग्ने बहाना नखोज्नुस्

माओवादीका मन्त्री हटाए निर्वाचन आचारसंहिता र संविधान विपरित

२७ असोज, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर चुनावबाट भाग्ने बहाना नखोज्न चेतावनी दिएका छन् । जवाफमा देउवाले भने कुनै हालतमा चुनान नसर्ने बताएका छन् ।

चुनावलाई लिएर आशंकाहरु भइरहेका बेला तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा वाम गठबन्धन बनाएका एमाले र माओवादीका नेताहरुले चुनावबारे नै प्रश्न गरे ।

कांग्रेस चुनावबाट भाग्ने बहाना खोजिरहेको आशंका गर्दै नेताहरुले प्रधानमन्त्रीलाई त्यसबाट हुनसक्ने संवैधानिक र राजनीतिक संकटबारे सचेत गराएका छन् ।

जवाफमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले मंसिर १० र २१ मा निर्धारित निर्वाचन कुनै हालतमा तलमाथि नहुने बताए । उनले पटक पटक चुनाव सार्नेमा शंका नगर्न आग्रह गर्दै निर्धारित मितिमा नै हुने आश्वासन दिएका छन् ।

वामपन्थी नेताहरुले चुनावको मुखमा मन्त्रिपरिषद हेरफेर नगर्न चेतावनी समेत दिएका छन् । नेताहरुले सम्बन्धित दलको सिफारिस बिना मन्त्री हटाउन नपाउने संवैधानिक व्यवस्था रहेको प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता विपरित आफूले कुनै गतिविधि नगर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले बताए ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐनबारे छलफल भएपनि कुनै सहमति हुन सकेन । सरकारले समान्य बहुमतीय प्रक्रियाबाट राष्ट्रियसभाक चुनाव गर्ने गरी विधेयक ल्याएको छ । तर, सत्तारुढ कांग्रेस नै एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नु पर्ने भन्दै विधेयकको विपक्षमा उभिएको छ ।

राष्ट्रियसभा समानुपातिक र समावेशी संस्था भएकाले बहुमतका आधार एकलौटी गर्न नहुने कांग्रेस नेता रामचन्द्र पौडेलले बताए । उनले भने, ‘प्रतिनिधिसभामा बहुमत आएको आधारमा सरकारले गरेका गलत काम कारबाही सच्याउने अवसर दिने संस्था राष्ट्रिय भएकाले सबै पार्टीको यसमा सहभागिता आवश्यक छ ।’

एमालेले भने बहुमतका आधारमा नै राष्ट्रियसभा गठन गर्ने अडान लिएको छ । यसबारे सहमति खोज्न भोलि तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ ।

संसदको अन्तिम बैठक भोलि नै बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment