Comments Add Comment

तिहारलाई १५ लाख माला आवश्यक, एउटाको मूल्य ७० रुपैयाँसम्म

२७ असोज, काठमाडौं । हरेक तिहारमा मुलुकभर करिब १५ लाख थान माला खपत हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार त्यसका लागि आवश्यक फूल जुटाउन व्यवसायी लागिपरेका छन् । ‘आन्तरिक उत्पादनलाई हेरेर विदेशबाट पनि आयात गर्ने तयारीमा छौं,’ उनले भने ।

करिब तीन लाख थान मालाका लागि फूल अपुग हुने एसोसिएसनको अनुमान छ । फूल आयात मूलतः भारतबाटै हुन्छ ।

श्रेष्ठका अनुसार गत वर्ष करिब ११ लाख वटा मालाको कारोबार भएको थियो । त्यसमध्ये दुई लाख फूल भारतबाट आयात गरिएको थियो । गत वर्षको मालाको माग र बर्सेनि देखिएको बढोत्तरीलाई आधार मान्दा यस वर्ष करिब चार लाख थान थप खपत हुने अनुमान छ ।

तिहारमा सबैभन्दा धेरै सयपत्रीको माला खपत हुन्छ । कुल खपतमध्ये सयपत्री ५०, गोदावरीले ३५ र मखमलीले १५ प्रतिशत हिस्सा ओगट्छन् ।

एउटाको मूल्य ७० रुपैयाँसम्म

श्रेष्ठका अनुसार तिहारमा प्रतिमाला ५५ देखि ७० रुपैयाँसम्ममा कारोबार हुन्छ । गत वर्ष पनि सोही दरमा मालाको किनबेच भएको उनी बताउँछन् ।

तिहारका लागि काठमाडौं उपत्यकासहित काभे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, चितवन, मकवानपुरलगायत जिल्लाबाट फूल भित्रिन्छ । पछिल्लो समय व्यावसायिक उत्पादन बढेकाले विस्तारै आयात प्रतिस्थापन हुने क्रममा छ । खासगरी, लक्ष्मीपूजादेखि भाइटीकासम्म बढी खपत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment