Comments Add Comment

लेटस् र्‍याप, इट्स एनएसके हिपहप स्टाइल


काठमाडौं । टाउकोमा सेतो स्कार्फ, त्यसमाथि रातो क्याप । गलामा लामो सिक्री । कालो चस्मा । कालो लुज टिसर्ट ।

कम्मरभन्दा अलि तल झरेको भाङ्ग्रो पाइन्ट । पाइन्ट पछाडिको खल्तिमा झुण्ड्याइएको सेतो स्कार्फ । एकातिर नाडीमा सेतो बेन्ड अनि गोडामा ठूलो जुत्ता ।

ठ्याक्कै यही हुलियामा भेटिन्छन्, गायक निर्णय श्रेष्ठ अर्थात् एनएसके । उनलाई कहिल्यै कोट, पाइन्ट र पार्टी सुजमा देखिँदैन । फिटिङ जिन्स र स्पोर्टस् सुज या ट्राउजर र ज्याकेटमा पनि उनलाइ भेटिँदैन ।

यो एनएसकेको आफ्नै स्टाइल हो । फेसन स्टाइल । यो शैलीलाई उनले किशोरवयको पूर्वार्द्धबाटै अँगालेका हुन्, जतिबेला उनी अमेरिकामा थिए । बुवा पीएचडीका लागि सपरिवार अमेरिका पुगेका थिए । निर्णय उतै हुर्किए । त्यही बेलादेखि हो, उनी हिपहप देखिन थालेको ।

झट्ट हेर्दा लाग्छ, कस्तो भाङ्ग्रा लुगा । चाहिनेभन्दा लामो टिसर्ट, चाहिनेभन्दा लुज पाइन्ट, चाहिनेभन्दा ठूलो जुत्ता । कस्तो बेढंगको मानिस । तर, जसलाई हिपहपको इतिहास थाहा छैन, उसलाई मात्र यस्तो लाग्नसक्छ ।

हिपहप इतिहास

आदिमकालका मानिस रुखको पात/बोक्रा, जीवजन्तुको छाला/प्वाँख लगाउँथे । लाज छोप्न र राम्रो देखिन होइन, गर्मी/जाडो छल्न । प्रतीकुल मौसमबाट ज्यान बचाउन । सभ्यताको विकास हुँदै जाँदा पोशाक लाज ढाक्ने माध्यम बन्यो ।

कृषि युगपछि औद्यागिक युग सुरु भयो । र, टेक्सटाइल कम्पनीहरुले विभिन्न रुप र रंगका कपडा उत्पादन गर्न थाले । पोशाक अब अरुभन्दा भिन्न र आकर्षक देखिने माध्यम बन्यो । विभिन्न धर्म, जाति र समुदायको पहिचानको आधार मात्र होइन, अब पोशाक फेसन नै बन्न पुग्यो ।

फेसन भन्नासाथ विभिन्न बान्कीका लत्ताकपडा या थरिथरिका शैली अपनाएर लगाइने पहिरन भन्ने हामी ठान्छौं । तर, यति मात्र पनि होइन । पहिरन शैलीले अनेक अर्थ र भाव बोकेका हुन्छन् । इतिहास र कथा बोकेका हुन्छन् । यसको गुह्य कुरा बुझ्न अन्त जानुपर्दैन । र्‍यापर एवं हिपहप गायक निर्णय श्रेष्ठलाई नै भेटे पुग्छ ।

‘हिपहपको विशेषता के हो भने यसमा कुनै बाउन्ड्री छैन । जस्तो लाए पनि हुन्छ, जसरी गाए पनि हुन्छ । पूर्ण स्वच्छन्द ।’

एनएसकेले लगाउने हिपहप पहिरनलाई खासमा ‘क्रान्तिकारी स्टाइल’ भन्दा पनि फरक नपर्ला । ‘टोटल फ्रिडम’ अर्थात् स्वच्छन्दताको चाहना अभिव्यक्त गर्ने जागरणकालीन आवाजसँग यसको साइनो जोडिएको छ ।

सन् १९८० को दशकबाटै हिपहप संस्कृति सुरु भएको थियो । त्यो स्वच्छन्दता र विद्रोहको प्रतीक थियो, केवल तन्नेरी-लहड मात्र थिएन । पार्कमा भेला भएका बेरोजगार युवालाई अपि|mकी मूलका अमेरिकी अर्थात् काला जातिहरुले फास्ट बिटमा कविता सुनाउँथे । जुन ‘स्ट्रिट पोइम कल्चर’का रुपमा विकास भयो । यसैलाइ ‘रिदम एन्ड पोइम’ अर्थात् र्‍याप भनियो । जमैकाका बासिन्दा गीतबाट विद्रोहको आवाज ओकल्थे । आफ्ना दुःख, पीडा, अपहेलना र कुण्ठा पोख्थे ।

गीतसँगै नृत्यमार्फत् पनि उनीहरुले आफ्नो भँडास निकाले, त्यसपछि फेसनबाट । उनीहरुको पहिरन स्वच्छन्द हुन्थ्यो, कुनै सूत्र नभएजस्तो । अर्थात् जे, जसरी लगाए पनि हुने । बस्, आफूलाई सहज भए पुग्ने । त्यही पहिरन शैली हिपहप फेसनमा बदलियो । जमैकाका आप्रवासी कुल हर्क नै विश्वका पहिलो र्‍यापर र हिपहपको संस्थापक मानिन्छन् ।
हिपहप फेसन कतिसम्म लोकप्रिय भयो भने यसलाई काला जातिले मात्र होइन, सारा विश्वका युवाले पच्छ्याए । त्यहीमध्येका एक हुन्, निर्णय ।

अमेरिका हुँदा निर्णय संगीतमा रुचि राख्थे । गाउँथे, गितार बजाउँथे । उनमा हिपहप संगीतकै बढी प्रभाव पर्‍यो ।

‘सानैदेखि मन परेको,’ उनले भने, ‘पछि बानी नै पर्‍यो ।’

अर्थपूर्ण गेटअप

निर्णय रातो क्याप लगाउँछन् । यस्ता दुई दर्जनभन्दा बढी क्याप उनको कलेक्सनमा छन् । रातो नै किन त ?

‘यो रगतको प्रतीक हो । यसले गरिब, धनी, कथित तल्लो र माथिल्लो वर्ग सबैको रगत एउटै हुन्छ भन्ने सन्देश दिन्छ,’ निर्णयले भने ।

रातो क्याप पहिरिनुअघि उनी टाउकोमा सेतो स्कार्फ बाँध्छन् । नाडीमा सेतो बेन्ड बाँध्छन् । सेतो अर्थात् शान्तिको प्रतीक ।

गलामा झुन्ड्याइएको लकेट नियाल्ने हो भने त्यसमा चिल र चितुवाको ‘कम्बिनेसन’ छ । चिल जतिसुकै माथि पुगे पनि उसले आफ्नो धरातल बिर्सिंदैन । चितुवाको गति न धेरै तीव्र हुन्छ, न सुस्त, एक समान ।

‘यसबाट चाहिँ म के रिप्रेजेन्ट गर्न चाहन्छु भने हामी जतिसुकै माथि पुगे पनि आफ्नो धरातल भुल्नु हुँदैन,’ निर्णयले भने, ‘साथै हाम्रो गति सधैं एकसमान हुनुपर्छ ।’

उनले लगाउने टिसर्ट र पाइन्टचाहिँ प्रायः कालो हुन्छ, किन नि ?

‘योचाहिँ यत्तिकै,’ उनी हाँसे, ‘मेरो फेवरेट कलर ।’

लुगा लुज अनि ज्यानभन्दा ठूलो लगाउनुको पनि कारण रहेछ ।

‘ठूलो होइन, कम्र्फटेबल,’ उनको तर्क थियो, ‘हिपहपको विशेषता के हो भने यसमा कुनै बाउन्ड्री छैन । जस्तो आफूलाई सहज लाग्छ, त्यस्तै लगाउने हो । लुज पहिरन सजिलो हुन्छ ।’

कम्मरभन्दा मुनि पाइन्ट लगाउनुको अर्थ पनि हामीले खोज्यौं । निर्णय एकछिन मज्जाले हाँसे । र, हाँसो मत्थर भएपछि भने, ‘हिपहप कल्चर नै हो यो । त्यसबेला जेलमा बस्दा काला जातिहरु दुब्लाउँदै जान्थे । त्यसकारण उनीहरुको शरीरभन्दा लुगाको आकार ठूलो हुन्थ्यो, पाइन्ट, कम्मरभन्दा तल हुन्थ्यो । पछि त्यही फेसन बन्यो ।’

गाडीभित्रै दराज

हामीले निर्णयलाई अर्का पप गायक प्रशान्त ‘मिस्ट’को निवासमा भेटेका थियौं ।

‘गाडीमा हेर्नुहोस् त, उसको लुगा, जुत्ता, टोपी, स्कार्फ सबै त्यही हुन्छ । हिँड्दा अर्कै, गाडीमा अर्कै प्रयोग गर्छ,’ प्रशान्तले यसो भन्दा निर्णय अलि लजाएझैं गरेर हाँसे ।

हामी पार्किङ लटमा पुग्यौं । र, निर्णयको निख्खर रातो कार, सेभरलेट एभिआको खानतलासी गर्न थाल्यौं । नभन्दै त्यहाँ २/४ जोर जुत्ता, २/४ जोर जिन्स र टिसर्ट भेटिए । २/४ थान स्कार्फ, बेन्ड र आधा दर्जन क्याप र केही थान सनग्लास पनि फेला परे ।

 

पछाडि डिक्कीमा केही पहिरन प्याकिङ गरिएका थिए, एक पटक पनि नलगाएका । यस्तो लाग्थ्यो, उनको गाडी नै लत्ताकपडाको दोकान हो ।

‘उसलाई मनपर्ने लुगा देख्नै हुन्न, गाडी रोकेर किनिहाल्छ,’ प्रशान्तले भने ।

सपिङका लागि निर्णय दरबारमार्गका ब्रान्डेड पसल चाहर्दैनन् । न कुनै निश्चित सपिङ डेस्टिनेसन नै छ । फुटपाथमा होस् वा सपिङ मल, आफूलाई सुहाउँदो र मनपर्ने लुगा जहाँ भेट्यो, उठाइहाल्छन् ।

निर्णय गाडी कुदाउँदा स्पोर्टस् सुज लगाउँदा रहेछन् । जब गाडीबाट ओर्लिन्छन्, उनको गोडाको जुत्ता फेरिन्छ । क्याप फेरिन्छ । सनग्लास पनि फेरिन्छ । मौका मिल्यो भने टिसर्ट पनि फेरिन्छ । गज्जब रहेछ, उनको बानी ।

‘म नेपाली’

‘म नेपाली, हामी नेपाली’

निर्णयले करिअरको पूर्वार्द्धमै यो गीतबाट वाहवाही बटुले । त्यसबेला उनको हुलिया धेरैलाई ‘बिचित्र’को लाग्थ्यो । हेर्दा अर्कै लोकको मान्छेजस्तो तर गीत ‘म नेपाली ।’ शब्द मात्र होइन, गीतको भाका र पृष्ठभूमिको वाद्ययन्त्र पनि ‘टिपिकल नेपाली’ ।


हिपहप संगीत नै हो उनले गाएको । तर, मौलिक नेपाली स्वाद मिसाइएको । हिपहपको विशेषता के रहेछ भने यसलाई जसले, जसरी ‘मोडिफाइ’ गरेपनि हुने । निर्णयले हिपहप संगीतलाई नेपाली सुर र धुनमा ढाले । गीत चल्यो । सुपरहिट भयो ।

हिपहप डान्स पनि अहिले मोडिफाइ भएको छ । यसमा जिम्न्यास्टिक पनि मिसिएर ‘बी-बोइङ’ बनेको छ । म्युजिकमा पनि र्‍याप, पप घुसेको छ ।

‘हिपहप पपुलर हुनुको कारण यही हो,’ उनले थपे, ‘जसले, जसरी लगाए पनि भयो, जसरी गाए पनि भयो, जसरी नाचे पनि भयो । यसमा कुनै बाउन्ड्री छैन ।’

निर्णयलाई कहिल्यै कोट, पाइन्ट र पार्टी सुजमा देखिँदैन । यो एनएसकेको आफ्नै स्टाइल हो ।

दौरा सुरुवालमा फिट

‘निर्णय दी एनएसके’ भन्नासाथ हिपहप गेटअपमा एउटा तन्नेरी गायक हाम्रो स्मृतिमा आउँछ । उनले फिटिङ जिन्स र टिसर्ट लगाए भने कस्तो देखिएला ? कोट, पाइन्ट र टाईमा उनी कस्ता देखिलान् ?

हाम्रो जिज्ञासाको जवाफअघि नै निर्णयको हाँसो फुत्कियो ।

‘त्यस्तो लुगा मैले खासमा लगाएकै छैन । लगाउन कम्र्फटेबल पनि लाग्दैन । सुट त छ तर एकाध पटक मात्र प्रयोग गरियो होला,’ उनले भने ।

बरु, उनी दौरा सुरुवालमा ठाँटिएका छन् । दौरा सुरुवाल उनलाई सुहाउँदो लाग्छ र पि्रय पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment