+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंमा नौलो ट्याक्सी सेवा: बार्गेनिङ हुँदैन, मिटरमै जानुपर्छ !

नेपाली 'उबर'- सारथी

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७४ कात्तिक ७ गते १७:३९

७ कात्तिक, काठमाडौं । मंगलबार बानेश्वरमा एक महिलाले ट्याक्सी रोकेर सोधिन्, ‘रातोपुल जानु छ, कति लाग्छ ? चालकले उत्तर दिए, ‘मिटरमा जति उठ्छ त्यति दिनुभए हुन्छ म्याडम ।’

उनले आश्चर्य मान्दै भनिन्, ‘किन हो त्यस्तो ? कति पैसा लिने भन्नुस् न ?’

चालकले पुनः जवाफ फर्काए, ‘सरी म्याडम, यो सारथि कम्पनीको ट्याक्सी हो । मिटरमै चल्नुपर्छ । उठेकोभन्दा एक रुपैयाँ बढी भाडा लाग्दैन ।’

हाँस्दै ती महिला ट्याक्सी त चढिन् तर उनलाई ट्याक्सीले मिटरमा नचलाई जान्न भनेको सुन्दा विश्वास लागिरहेकै थिएन ।

हो, काठमाडौंमा ट्याक्सी रोकेर सोधिन्छ- फलानो ठाउँसम्म जानु छ, कति भाडा लिने ? काठमाडौंमा चालकले भनेजति भाडा दिएन र उसलाई जान मन लागेको गन्तव्य भएन ट्याक्सी चढ्नै पाइँदैन ।

मिटरमा जाने हो भनेर सोध्ने यात्रुलाई ट्याक्सीहरुले ‘अपराध’ नै गरेजस्तो व्यवहार देखाउँछन् । यहाँ प्रायः ट्याक्सी मिटरमा चल्दैनन् । चले पनि ‘अर्थिङ’ गर्दै मिटरमा अपत्यारिलो बिल उठाएर ठग्छन् ।

तर, अब पनि यात्रुलाई यो गुनासो गरिरहने छुट हुने छैन । नेपालमै पहिलोपटक ट्याक्सी चढ्दा नठगिने ग्यारेन्टी गर्दै ‘सारथि’ले सेवा सुरु गरेको छ । अनलाइन सेवा सुरु गर्न नपाउँदै यो सेवाले चर्चा बटुलेको छ ।

साहित्यकार बुद्धिसागरले केही दिनअघि आफ्नो फेसबुक वालमा लेेखे, ‘काठमाडौंमा अचेल सारथि क्याब सुरु भएको रै’छ । ट्याक्सी चढ्दा पहिलो पल्ट ठगिएको महशुस भएन ।’ उनले ट्याक्सी चढ्दा पाएको बिल पनि पोस्ट गरेका छन् ।

आजभोलि ‘सारथि क्याब’ को सेवा लिएका धेरैले आफ्नो ट्याक्सी यात्राको अनुभवलाई ‘अपत्यारिलो’ भनेर सेयर गरिरहेका छन् । आईटीका युवा विद्यार्थी क्याब रवि सिंघल र प्रकाश न्यौपानेले परिकल्पना गरेर स्थापना भएको कम्पनी हो, सारथि ।

विदेशमा ट्याक्सी सेवामा चर्चित उबर र ओलाको जस्तै सेवा नेपालमा दिन सकिन्छ कि भनेर उनीहरुले यो कम्पनी दर्ता गरेका थिए । तर, नेपालमा ट्याक्सी सञ्चालनको नीतिलाई हेरेर उनीहरुले नयाँ आइडिया जन्म दिए र सारथिमार्फत् सेवा थाले । उनीहरु कम्पनीका सह-संस्थापक हुन् ।

केही समयभित्रै आफ्नो सेवालाई अनलाइनमा लगेर नेपालको ‘उबर’ बनाउने तयारीमा छन्, उनीहरु ।

यसकारण चर्चामा

सारथिका ट्याक्सीलाई आफूले सेवा लिने स्थानमा फोन गरेर बोलाउन सकिन्छ । यदि सारथिका ट्याक्सीलाई बाटोमा रोकेर यति भाडामा फलानो ठाउँमा जाऔं भन्नेलाई भने जवाफ आउँछ, ‘मिटरमा उठेजति दिनुस् । मिटर नचलाई जानै मिल्दैन ।’

सारथिको अर्को विशेषता हो, जुन गन्तव्यमा जानुपरे पनि ‘नाईं’ नभन्ने । अहिले धेरै ट्याक्सी आफूलाई राम्रो कमाइ हुने ठाउँ नपाएसम्म चल्न मान्दैनन् ।

सारथिका ट्याक्सी भने छोटादेखि उपत्यकाभित्रका सबै गन्तव्यमा जान तयार छन् । जस्तै- नयाँ बानेश्वरबाट तीनकुने जान ट्याक्सी खोज्नुभयो भने तपाईंले मुस्किलले पाउनुहोला । आकस्मिक अवस्थामा गइहाले पनि मागेजति भाडा दिनुपर्छ ।

 

तर, सारथिले यात्रुले रोकेर जतिसुकै छोटो दूरीमा जान्छु भने पनि ‘नाईं’ भन्दैन । मिटरमा उठेको रकम दिई बिल लिएर उत्रिन पाइन्छ ।

के हो सारथि ?

सारथि नेपालमा ट्याक्सीको सेवालाई यात्रुमैत्री र सम्मानित गर्न स्थापना गरिएको कम्पनीका सह-संस्थापक सिंघलले बताए । उक्त संस्थासँग अहिले २५ वटा मात्रै ट्याक्सी छन् । तर, अबको एक वर्षभित्र एक हजार ट्याक्सीलाई आफूसँग आवद्ध गरेर सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।

सिंघलका अनुसार विदेशमा उबरले सेवा दिएजस्तो नेपालमा कुनै कम्पनीमार्फत् नै ट्याक्सी सेवा दिन कठीन छ । यहाँ ट्याक्सीमा राज्यले सीमित कोटा निर्धारण गरेको छ । यी कोटामा व्यवसायी र स्वरोजगार मजदुरले ट्याक्सी किनिसकेका छन् ।

काठमाडौंमा अहिले झण्डै सात हजार ट्याक्सी चलिरहेका छन् । नयाँ नथप्ने सरकारी योजना छ ।

नयाँ ट्याक्सी ल्याउने र सञ्चालन गर्ने कम्पनी स्थापना गर्न कुनै कानूनी र नीतिगत आधार पनि छैन । ट्याक्सीमा राज्यकै सिन्डिकेट छ ।

त्यसैले सारथिले उपलब्ध भएका ट्याक्सीलाई नै नठग्ने ग्यारेन्टीसहित आफूसँग आवद्ध गरेर सेवा दिइरहेको छ ।

छोटो समयमै सारथिमा आवद्ध भएर सेवा दिन तीन सय ट्याक्सीले सम्झौता गरिसकेको अर्को सह-संस्थापक न्यौपानेले जानकारी दिए ।

‘ड्राइभरलाई यात्रुसँग सम्मानजनक व्यवहार र ट्याक्सीमा प्रयोग हुने प्रविधिमा अभ्यस्त गराउने काम गाह्रो छ,’ न्यौपानेले भने, ‘यात्रुलाई राम्रो व्यवहार गर्न सिकाउन हामी तालिम नै दिन्छौं । त्यसैले सम्झौता भएका सबैलाई एकैपटक सेवामा लगाइहाल्न सकिएको छैन ।’

सारथिले यात्रुमैत्री सेवा दिनसक्ने ट्याक्सी र चालकलाई मात्रै आफूसँग आवद्ध गराएर सेवामा लगाएको छ ।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष होमनाथ गौतमले नै सारथिले सुरुवातबाटै यात्रुलाई राम्रो सेवा दिएकाले आफ्नो ट्याक्सी उक्त कम्पनीमा आवद्ध गराएको बताउँछन् ।

यसरी लिने सेवा

सीधा सारथिको सेवा लिन चाहनेले ९८१०१००६०० नम्बरमा फोन गर्छन् र ट्याक्सी बुक गर्छन् ।

सारथिको हटलाइनमा ट्याक्सी चढ्ने स्थान जानकारी गराएपछि अपरेटरले आइपुग्ने समय जानकारी गराउँछन् ।

यात्रु लिन आउने ट्याक्सीका चालकले तपाईंलाई फोन गरेर प्रतीक्षाका लागि आग्रह गर्छन् । सारथिका सबै ट्याक्सीमा ठूलो डिस्प्लेसहितको अत्याधुनिक ट्याब्लेट जोडिएको छ । यात्रु चढेपछि चालकले ट्याब्लेटमा यात्रा सुरु गरेको जानकारी दिने बटन थिच्छन् ।

यो जानकारी सारथिको कन्ट्रोल रुममा पुगिरहेको हुन्छ । त्यसपछि सोही ट्याब्लेटमा ट्याक्सीले यात्रु रिसिभ गरेपछि पार गरेको दूरी, लागेको समय, उठेको भाडा र जाममा बस्दा रोकिएको समयसमेत डिस्प्लेमा हरेक समय हेर्न सकिन्छ ।

ट्याक्सी गुडिरहेको सडकको नक्सा पनि डिस्प्लेमा देख्न सकिन्छ । सँगै ट्याक्सीमा जोडिएको मिटर पनि हेर्न सकिन्छ ।

आफ्नो गन्तव्यमा पुगेपछि ट्याक्सीले सबै विवरणसहितको बिल पि्रन्ट गरेर दिन्छ । मिटरको बिलअनुसार यात्रुले भाडा तिर्नुपर्छ ।

ट्याक्सी भाडा डेबिट वा क्रेडिट कार्डमार्फत् पनि भुक्तानी गर्न सकिन्छ । सारथिले आफ्ना ट्याक्सीमा ‘पोइन्ट अफ सेल’ -पीओएस) मेसिन राखिएको छ ।

‘काठमाडौंमा मिटरमा जान नमान्ने यात्रु पनि थुप्रै रहेछन्, कसै-कसैलाई त बुुझाउनै गाह्रो पर्छ,’ सारथिका एक चालकले भने, ‘तर, एकपटक हाम्रो सेवा लिएकाहरुले सजिलो अवस्थामा अरु ट्याक्सी चढ्दैनन् ।’

फोनबाट बुक हुने मात्रै होइन, सारथिका ट्याक्सी खाली हुँदा जोसुकैले पनि रोकेर चढ्न पाउँछन् । त्यसरी चढ्दा पनि मिटरमै उठेको बिल तिर्दा पुग्छ ।

सबै ट्याक्सीको ‘ट्रयाकिङ’

यी ट्याक्सीको जीपीएस ट्रयाकिङ सारथिको कन्ट्रोलमा हुने भएकाले कुन, कहाँ छ, उसले कहाँ यात्रु लैजाँदा कति भाडा उठायो भन्नेसम्मका सबै रेकर्ड कन्ट्रोल रुममा पुगिरहेको हुन्छ ।

सोही कारण पनि सारथिका यात्रु ठगिने सम्भावना नहुने सञ्चालकद्वय सिंघल र न्यौपानेको दाबी छ । कुनै अवस्थमा कम्पनीलाई ट्याक्सीले गलत गरेको शंका लागे त्यसको भिडियो पनि कम्पनीले कन्ट्रोल रुममै बसेर हेर्न सक्छ ।

‘हामीले यसमा उच्चस्तरीय प्रविधि प्रयोग गरेका छौं । यात्रुलाई सफा ट्याक्सीमा सजिलोसँग सम्मानजनक ढंगले सरकारले तोकेको भाडादरमा यात्रा गराउने काममा हामी सफल छौं,’ सञ्चालक सिंघलले भने ।
कम्पनीले चौबीसै घण्टा सेवा दिइरहेको छ । सुरक्षित यात्रालाई पनि यसले प्राथमिकतामा राखेको छ ।

छिट्टै अत्याधुनिक अनलाइनमा पनि

उक्त कम्पनीले आफ्नो सेवा लिनेका लागि अनलाइन सेवा पनि प्रारम्भ गर्ने योजना बनाएको छ । त्यसका लागि मोबाइल एप पनि तयार छ ।

यो सेवा सुरु भएपछि मोबाइल एपमार्फत् सारथिका ट्याक्सी बुक गर्न सकिनेछ । कुन ट्याक्सी कहाँ छन् भनेर हेर्न मिल्ने एपमा आफूनजिक रहेकोलाई बोलाएर सेवा लिन सकिन्छ ।

तर, एपलाई बढी सुविधायुक्त र उपभोक्तामैत्री बनाएर मात्रै सार्वजनिक गर्ने योजनामा कम्पनी छ ।

अहिले अनलाइन ट्याक्सी सेवा सुरु गरेकाहरुले एकैपटक यात्रुको विश्वास लिन नसकेको देखिएकाले केही समय कल सेन्टरबाटै सेवा दिइने सह-संस्थापक न्यौपानेले बताए ।

कम्पनीले अनलाइन ट्याक्सी बुकिङसँगै ट्याक्सी चढेकै बेलामा मोबाइल रिचार्ज गर्ने, बिजुली र टेलिफोनको बिल तिर्ने, बैंकमा पैसा डिपोजिट गर्नेलगायत सुविधा पनि दिने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?