१४ कात्तिक, काठमाडौं । केही साताअघि दृष्टीविहीन सञ्चारकर्मी वासुदेव अधिकारी भद्रकालीबाट भृकुटीमण्डपतर्फ जाँदै गर्दा प्रतीक्षालयमा नराम्रोसँग ठोक्किए । टाउकोमा सामान्य चोट पनि लाग्यो । यसको कारण थियो, ट्याकटाइल टायल (ब्रेलमार्ग)कै भर परेर हिँड्नु ।
काठमाडौंका मुख्य सडकपेटीमा दृष्टीविहीनलाई हिँडडुलमा सहज बनाउने उद्देश्यले करोडौं खर्चेर पहेँलो रंगका ब्रेलमार्ग टायल बिछ्याएको एक वर्ष बितेको छैन । यसको प्रमुख उद्देश्य थियो, दृष्टीविहीनलाई सम्भावित दुर्घटनाबाट बचाउनु ।
तर, अहिले ‘ट्याकटाइल टायल’को भर परेर दृष्टीविहीन हिँड्न सक्दैनन् । उनीहरु त्यसकै भरमा हिँडे झनै ठूलो दुर्घटनामा पर्ने जोखिम बढेको छ ।
‘ट्याकटाइलको भरमा हिँड्दा कहिले पोलमा ठोकिन्छ । कहिले खुट्टा ढुंगामा बजारिन्छ । कहिले पेटीमा बेच्न राखेका सामान कुल्चेर गाली खाइन्छ,’ ब्राइट नेपाल सोसाइटीका अध्यक्षसमेत रहेका अधिकारी भन्छन्, ‘बरु, यो नबिछ्याउँदासम्म हामीलाई यति अप्ठ्यारो थिएन ।’
ब्रेलमार्गका टायलहरु फुटेर र उप्किएर लगातारको बाटो भेट्न पनि मुस्किल पर्न थालेको उनी बताउँछन् । भएका स्थानमा पनि दृष्टीविहीनलाई त्यसको भर परेर निर्धक्कसँग हिँड्ने अवस्था नभएको गुनासो दृष्टीविहीनहरुको छ ।
पेटीमा बिछ्याएका टायल क्षतविक्षत अवस्थामा छन् । अधिकांश स्थानमा पहेँला टायलको अस्तित्व नै देखिँदैन ।
त्यसैले दृष्टीविहीनहरु पनि ट्याकटाइलको भर परेर हिँड्न छाडिसकेका छन् । राज्यले खर्चेको करोडौं रुपैयाँ बालुवामा पानी खन्याएजस्तै भएको छ ।
सडक पेटीमा टायल बिछ्याइँदै गर्दा दृष्टिविहीनलाई लागेको थियो, काठमाडौंको भीडमा हिँड्न अब सजिलो हुन्छ । वर्षदिन नहुँदै उनीहरुमा निराशा छाएको छ ।
‘ट्याकटाइलको भरमा हिँड्दा कहिले पोलमा ठोकिन्छ, कहिले खुट्टा ढुंगामा बजारिन्छ भने कहिले पेटीमा बेच्न राखेका सामान कुल्चेर गाली खाइन्छ’
अनलाइनखबरले काठमाडौंका सडकपेटीमा पहेँलो ब्रेलमार्गको अवस्था अनुगमन गर्यो । त्यस क्रममा ट्याकटाइल बिछ्याउँदा भएका कमजोरीदेखि त्यसको संरक्षणमा राज्यको बेवास्ताका विभिन्न तथ्य भेटिए ।
बाटो नै भुलाइदिने अवस्था
ब्रेलमार्गले दृष्टीविहीनहरुलाई सेतोछडी प्रयोग गरेर हिँड्न सहज हुन्छ । पेटीमा यो टायल लगातार बिछ्याउँदा दृष्टिविहीनले बाटो भुल्दैनन् । र, गन्तव्यमा पुग्न सजिलो हुन्छ ।
तर, काठमाडौंका दृष्टीविहीन यसको भर परे भने आफू ‘कन्र्फम’ भएका बाटो पनि भुल्ने अवस्था छ ।
किनभने, विभिन्न स्थानमा ट्याकटाइल फुटेका छन् । विशेषगरी, इन्टरचेन्जका ट्याकटाइल फुटेका कारण यसको मात्रै भरपर्दा एकतिर जानुपर्ने दृष्टीविहीन अर्कोतर्फ जाने अवस्था छ ।
‘अब ट्याकटाइलमै भर परेर हिँड्न छाडिसक्यौं । यसले गन्तव्यमा पुर्याउँदैन,’ अधिकारी भन्छन्, ‘यसभन्दा त बरु हिजो केही नभएको बेलामा नै सजिलो थियो ।’
दुर्घटनाको जोखिम
ट्याकटाइलले दृष्टीविहीनलाई दुर्घटनाको सम्भावना कम गर्नुपर्छ । तर, काठमाडौंको ट्याकटाइलको अवस्था हेर्दा यसले झन् उनीहरु दुर्घटनामा पर्ने जोखिम बढाएको छ । यसलाई बिछ्याउँदा नै दृष्टीविहीनमैत्री बनाइएको छैन ।
विभिन्न स्थानमा ट्याकटाइलको मार्गमा रहेका धरापहरु हटाइएको छैन । अघि बढिरहँदा हुने जोखिमबारे सूचना दिने ‘इन्टरचेन्ज’ संकेत गर्ने टायलहरु पनि उप्किइसकेका छन् ।
सोही कारण दृष्टीविहीनहरु बिजुलीको पोलमा ठोकिने, नालामा पर्ने, सीधा गाडी गुडिरहेको सडकसम्मै पुग्ने अवस्था देखिन्छ । दृष्टीविहीन सुदन तन्डुकार भन्छन्, ‘साँघुरो ठाउँमा ट्याकटाइल बिछ्याइएको छ, कतिपय ठाउँमा बीचमै पगेर टुंगिन्छ । यसको भर पर्दा त हाम्रो खुट्टा मर्किने समस्या पनि बढेको छ ।’
अवैज्ञानिक निर्माण
ब्रेलमार्ग बनाउँदा वैज्ञानिक तवरले काम भएको छैन । यसलाई बिछ्याउँदा इन्जिनियरहरु निर्माणकर्मीको साथमा नबस्दा जथाभावी राखिएको छ ।
कतिपय स्थानमा सीधा लगेर पोल, सडक र प्रतीक्षालयलगायत संरचनामा जोडिएको छ । कतै बनाउँदा-बनाउँदै बीचमै छाडिएको छ ।
केही स्थानमा इन्टरचेन्जको संकेत गर्ने टायलहरु (गोलो थोप्लो भएको टायल) बीचमै टाँसिएका छन् । त्यसले दृष्टीविहीनलाई झन् ‘कन्फ्युजन’मा पारिदिने गरेको छ ।
झन् उप्किएपछि जथाभावी रुपमा यसलाई टाँसिएको भेटिन थालेको छ । उप्किएका टायलहरु अहिले पेटीका विभिन्न भागमा छरिएको देख्न सकिन्छ ।
अत्यधिक हेलचेक्र्याइँ
ट्याकटाइल टायल बिछ्याउन सरकारलाई एसियाली विकास बैंक (एडीबी)ले सहयोग गरेको हो । यो आयोजनामा एडीबीले करिब ७० प्रतिशत र सरकारले ३० प्रतिशत लगानी गरेका छन् ।
लुम्बिनी-रमण जेभी कन्स्ट्रक्सन र रमण-तामाङ जेभी कन्स्ट्रक्सन कम्पनीले सडक विभाग र काठमाडौं महानगरपालिकाअन्तर्गत् छुट्टाछुट्टै आयोजनामार्फत् टायल बिछ्याएका थिए ।
तर, उनीहरुको काम गुणस्तरीय थिएन । बिछ्याएको केही समयमै उप्किन सुरु गरेको टायल अहिले क्षतविक्षत भइसकेको छ ।
यसमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन एकाइ पनि उत्तिकै दोषी छ । उक्त एकाइले पेटी उप्काए पाइप बिछ्याएको थियो । तर, फेरि टायल राख्ने बेलामा माटोको लेबल नमिलाई बिछ्याउँदा ट्याकटाइलको अवस्था झनै दयनीय बन्यो ।
उसै पनि, ठाउँ-ठाउँमा उप्किरहेको टायललाई उप्काएर फेरि टाँस्नुपर्नेमा मेलम्चीले झन् हेलचक्र्याइँ गरिदिँदा यसको बेहाल भयो ।
सडक विभाग र महानगरपालिकाले ट्याकटाइलको संरक्षणका लागि कुनै योजना नै बनाएननन् । महानगरका इन्जिनियर सुरुज महर्जन उप्किएका ट्याकटाइल फेरि बिछ्याउन अर्को कार्यक्रम बनाइने बताउँछन् ।
गुणस्तरहीन टायल
यस्तो ट्याकटाइल केशरमहल, जमल, राष्ट्रिय सभागृह, पुरानो बसपार्क, टुँडीखेल, त्रिपुरेश्वर, दरबारमार्ग, कमलादी, सिंहदरबार, भद्रकाली र नयाँबानेश्वर क्षेत्रमा बिछ्याइएको थियो । १५ किलोमिटर सडकपेटीको सुधार गर्न १० करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो ।
यसमा रेलिङ जडानको कार्यक्रम पनि थियो । काठमाडौं महानगरपालिकाअन्तर्गत्को दिगो शहरी यातायात आयोजना कार्यान्वयन एकाइले नै यो काम गरेको थियो ।
करोडौं खर्च भएको परियोजनाको काम भने गुणस्तरहीन हुँदा पनि महानगरपालिका मौन छ ।
यसमा प्रयोग भएका टायल नै गुणस्तरहीन भएको आरोप दृष्टीविहीनहरु लगाउँछन् । प्रायः सडक पेटीमा प्रयोग हुने टायल ठूलो चाप थेग्न सक्ने हुनुपर्छ ।
पेटीमै सवारी साधन हुइँक्याउने अराजक संस्कृति यो परियोजनाको असफलताको अर्को कारक हो । त्यसलाई हेरेर पनि टायल बाक्लो र बलियो हुनुपथ्र्यो । तर, अत्यन्तै पातलो टायल प्रयोग भएको देखिन्छ, जसलाई टाँस्ने काम पनि गतिलोसँग भएको पाइँदैन ।
सभ्यहरुको ‘असभ्य’ शिकार
ट्याकटाइललाई यो दुर्दशामा लैजानुमा सरकार र निर्माण व्यवसायी मात्रै दोषी छैनन् । काठमाडौंमा सडकपेटीमा घुम्ने हो भने धेरै स्थानमा पार्किङ भेटिन्छ । दृष्टीविहीनले छाम्दै हिँड्ने ट्याकटाइल पनि यसको चपेटामा छ ।
यदि यसका प्रयोगकर्ता पूर्ण रुपमा टायलको भर परेर हिँडे भने सवारीमै गएर ठोकिने अवस्था छ । यत्रतत्र गरिएको पार्किङले दृष्टीविहीनलाई सडकमा पेटीबाट झर्नै पर्ने अवस्था बनाइदिएको छ ।
‘गाडी-बाइक चढ्ेर सभ्य बन्दै हिँड्नेहरुले पनि हामी हिँड्ने बाटोमै पार्किङ गरिदिनुहुन्छ,’ दृष्टीविहीन तन्डुकार भन्छन्, ‘सभ्यहरुको असभ्यताले पनि समस्या बढाएको हो ।’
के हुनुपथ्र्यो ?
ट्याकटाइल सडकपेटीमा प्रयोग गरिने विशेष प्रकृतिको वस्तु हो । विदेशमा ट्याकटाइलका रुपमा सेन्थेटिक र रबर पनि प्रयोग गरिन्छ । ट्याकटाइलका रुपमा काठमाडौंमा भने सिमेन्टका टायललाई नै प्रयोग गरिएको थियो ।
ट्याकटाइलको मान्यताअनुरुप स्पर्श गर्दा दृष्टिविहीनलाई फरक महशुुस गराउन टायलका बीचभाग केही अग्लो बनाएर उठाइएको छ । धर्साधर्सा परेर बीच भाग उठाइएको डाँडीमा टेक्दा अन्य टायलभन्दा यसले फरक अनुभुति गराउँछ ।
यसले गर्दा दृष्टिविहीनलाई छडी नै प्रयोग नगरी हिँड्न सहज हुनुपर्ने हो । यो ट्याकटाइलमा छडीले हान्दा अन्य टायलभन्दा फरक आवाज पनि दिन्छ । सामान्यतया ट्याकटाइल पेटीको बीच भागमा जोडिनुपर्छ । दृष्टिविहीनले ट्याकटाइलको अग्लो/होचो भागलाई छडीले चिन्दै हिँड्छन् ।
सहजै हिँड्न सकिने ठाउँमा लामो आकारका पाटा भएका टायल प्रयोग गरिएको छ । तर, पेटीको दिशा परिवर्तन हुने ठाउँ (इन्टरचेन्ज)मा दृष्टिविहीनलाई संकेत दिन गोलो-गोलो डाँडी भएको टायल प्रयोग गरिएको छ ।
सचेत हुनुपर्ने जोखिमयुक्त ठाउँमा संकेत दिनेगरी यसलाई प्रयोग गरिएको छ । गोलो डाँडी आएको टायल भेटेपछि ‘अगाडि जोखिम छ’ भन्ने दृष्टीविहीनले सजिलै बुझ्छन् । काठमाडौंका पेटीमा भने यसलाई त्यति ध्यान दिएर निर्माण गरिएको छैन ।
सचेतनाको कमजोर पाटो
काठमाडौंका सडकपेटीलाई पूर्ण रुपमा अपांगमैत्री बनाउनेगरी काठमाडौं महानगरपालिकाले ट्याकटाइल टायल प्रविधि अपनाएको थियो ।
तर, यसबारे आम सर्वसाधारण र दृष्टिविहीनहरुलाई खासै जानकारी पनि गराइएन । धेरैले त यो टायल किन हालियो भनेर अझै पनि जानकारी पाएका छैनन् ।
त्यसैकारण पनि यसको महत्व धेरैले बुझेनन् । त्यसैले यसको संरक्षण गर्ने चेतना नागरिकस्तरसम्म पुगेन । त्यसैले उप्किएपछि त्यसलाई पुनः टाँस्न न त स्थानीय जागे, न महानगरपालिका र सडक विभाग नै ।
यसैका कारण पेटीका ट्याकटाइल बिछ्याएको एक वर्ष नबित्दै अस्तित्व मेटिने अवस्थामा पुगेको छ ।