+
+

फोरम-राजपा तालमेलः सप्तरीमा बागीको बिगबिगी

एस.के. शान एस.के. शान
२०७४ कात्तिक १६ गते १९:५९

१६ कात्तिक, सप्तरी । सप्तरीको साविकको मलेठ गाविस नजिकै रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहीबार ठूलो मेला लाग्यो । भिड यति खचाखच भरिएको थियो कि पैदल यात्रीलाई पनि हिँड्न समस्या थियो ।

दर्जनौं सवारी साधनको आवतजावतले प्रायः सुनसान रहने औद्योगिक क्षेत्रको बिहीबारको भिड उम्मेदवारी दर्ताको सिलसिलामा देखियो ।

आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि चार वटै क्षेत्रको उम्मेदवारी दर्ताको थलो औद्योगिक क्षेत्रलाई नै बनाइयो । चार वटै क्षेत्रको निर्वाचन कार्यालय पनि त्यही स्थापना गरिएको छ ।

हुन त २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन होस् या २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदबारी दर्तादेखि मतगणना समेत औद्योगिक क्षेत्रमै गरिएको थियो । यस पटक पनि यहीँ उम्मेदवारी दर्ताको थलो बनाउनु नौलो नभएपनि मधेस केन्द्रत दलका लागि भने अर्थपूर्ण छ ।

औद्योगिक क्षेत्रको नाम सुन्नेबित्तिकै पाँच जनाको ज्यान गएको घटनालाई सबैले सम्झ्ने गरेका छन् । २३ फागुन २०७३ मा प्रहरीले यहाँ अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गयो भने एक दर्जन घाइते भएका थिए ।

एमालेले शुरु गरेको मेची महाकाली यात्राको सभा यही राखिएको थियो । शुरुमा राजविराजमा आयोजना गर्ने बताएपनि तत्कालिन मधेशी मोर्चाले बिरोध जनाएपछि औद्योगिक क्षेत्रमा सारिएको थियो । तर, मोर्चाले त्यहाँ पनि बिरोध जनाउँदै बिथोल्न खोज्यो र एमालेको कार्यक्रम औद्योगिक क्षेत्रभित्र भइरहँदा बाहिर प्रहरीले चलाएको गोलीले पाँच जनाको ज्यान गएको थियो ।

औद्योगिक क्षेत्रबाटै एकीकरणको म्यान्डेड

औद्योगिक क्षेत्र यही ठाउँ हो, जहाँबाट बिभिन्न ६ खेमामा रहेको ६ मधेसवादी दलले एकताको सुत्रपात गरेका थिए ।

२३ फागुनमा मारिएका पाँच जनाको स्मृतिमा मधेसी मोर्चाले १४ चैत २०७३ मा औद्योगिक क्षेत्रा श्रद्धाञ्जलीसभाको आयोजना गर्यो ।

खचाखच भरिएको श्रद्धाञ्जलीसभामा ६ वटै दलका अध्यक्ष र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भए । उपेन्न्द्र यादव शुरुमै बोलेर गए पश्चात पार्टी एकीकरणको प्रस्ताव मन्तव्यकै क्रममा गरेका थिए, तत्कालिन फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव ।

राजकिशोरको भनाइमा बाँकी पाँच वटै अध्यक्षले सहमति जनाए । र, फलस्वरुप ६ वटै पार्टी मिलेर राजपाको गठन भएको छ । यी ६ पार्टीको एकीकरणको कुरा गर्ने थलो गजेन्द्रनारायण सिंह औद्यागिक क्षेत्र नै हुन् ।

राजपा एकीकरण भएको सात महिनापछि पुनः केन्दि्रय नेताहरु बिहीबार जमघट भए दलबलसहित । उद्देश्य थियो आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता ।

औद्योगिक क्षेत्रभित्रै बागी

औद्योगिक क्षेत्रबाटै एकताको कुरा उठाएर कार्यान्वयनसम्म गरेका मधेसी दलहरु यहीबाट एक, अर्काबिरुद्ध उत्रिएका छन् ।

एकता गरेका ६ दल र फोरमले चुनावका लागि गठबन्धन गरेका छन् । गठबन्धन भए अनुसार फोरमका अध्यक्ष उपेन्द्र यादव क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।

तर, स्थानीय तहमा सकृय रहेका आफूलाई टिकट नदिएको भन्दै यादवबिरुद्ध राजपाका जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

यादवबिरुद्ध मात्र होइन, राजपाकै महासचिव मनिष सुमनबिरुद्ध पनि बागी उम्मेदबारी दर्ता भएको छ । राजपाका २ नम्बर क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले सुमनविरुद्ध उम्मेदबारी दिएका छन् । सुमन र यादवले प्रतिनिधिसभाको लागि क्षेत्र नम्बर २ को २ बाट उम्मेदवारी दिएका छन् ।

गठबन्धनले गरेको निर्णय सप्तरीमा लागू भएको छैन् । गठबन्धनले क्षेत्र नम्बर ४ को प्रतिनिधीसभाका लागि राजपा नेता मृगेन्द्रकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि फोरम नेपालको समेत उम्मेदवारी परेको छ । फोरम नेपालको तर्फबाट अनिरुद्ध्र यादवले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा अन्तर्गत क्षेत्र नम्बर १ को २ मा गठबन्धनले राजपाका नवलकिशोर साहलाई उम्मेदवार बनाएको छ । तर, फोरम नेपालका प्रदेश सचिव शम्भु झाले उनीविरुद्ध बागी उम्मेदबारी दिएका छन् ।

प्रायःजसो ठाउँमा बागी उम्मेदवारी दर्ता भएको छ । राजपाले उम्मेदपारी दिएको ठाउँमा फोरमले र फोरमले उम्मेदवारी दिएको ठाउँमा राजपाका नेताहरुले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?