+
+
Shares

सप्तरीको चुनावः गठबन्धनविरुद्ध वागी नै वागी (सूचीसहित)

एस.के. शान एस.के. शान
२०७४ कात्तिक १७ गते ९:३३


१७ कात्तिक, सप्तरी । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि सप्तरीमा १ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, प्रतिनिधि सभातर्फ ४ निर्वाचन क्षेत्र रहेको सप्तरीमा ५९ जनाले उम्मेदवारी दिएका छन् भने ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ का लागि १४ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ बाट १८, ३ बाट १२ र क्षेत्र नम्बर ४ बाट १५ जना चुनावी मैदानमा खडा भएका छन् ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर १ को १ बाट ९ र १ को २ बाट पनि ९ जनाले नै उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर २ को १ बाट १३ जना र २ को २ बाट २२ जनाले उम्मेदवारी दिएका हुन् ।  क्षेत्र नम्बर ३ को १ बाट १९ जना र ३ को २ बाट १४ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ४ को १ बाट ११ जना र क्षेत्र नम्बर ४ को २ बाट १२ जनाले प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रको घुइँचो

दलहरुले जित्नका लागि गठबन्धन बनाए पनि दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य छ ।

प्रतिनिधिसभाका लागि कूल ५९ जनाले उम्मेदवारी दिएको जिल्लामा २१ जनाबाट ले स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रदेशसभाका लागि १०९ जनाले उम्मेदवारी दिएकोमा ३९ जना स्वतन्त्र छन् ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि ५ जनाले, क्षेत्र नम्बर २ बाट ८ जनाले, क्षेत्र नम्बर ३ बाट ३ जनाले र क्षेत्र नम्बर ४ बाट ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सभाअन्तर्गत क्षेत्र नम्बर १ को १ बाट २ जना, १ को २ बाट ३ जना, क्षेत्र नम्बर २ को १ बाट ४ जना, क्षेत्र नम्बर २ को २ बाट १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै क्षेत्र नम्बर ३ को १ बाट ७ जना, ३ को २ बाट ४ जना, क्षेत्र नम्बर ४ को १ बाट ४ जना र ४ को २ बाट ३ जनाले प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

केन्द्रीय नेताहरुविरुद्ध वागी

आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सप्तरीमा वाम, लोकतान्त्रिक र मधेसी सबै गठबन्धनभित्र असन्तुष्टि देखिएको छ । असन्तुष्टिपछि गठबन्धनका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी परेको छ ।

उपेन्द्र यादवविरुद्व जयप्रकाश ठाकुर

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उनीविरुद्ध राजपाका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । राजपा–फोरम गठबन्धनबाट उम्मेदवारी दिएका यादवविरुद्व ठाकुरले उम्मेदवारी दिएका हुन् ।

आफ्नो सक्रियतालाई पार्टीले अवमूल्यन गरेर बाहिरका नेतालाई उम्मेदवार बनाउन खोजेकाले उम्मेदवारी दिएको ठाकुरले बताए ।

सत्यनारायण मण्डलविरुद्ध प्रकाश खतिवडा

एमालेले वाम गठबन्धनबाट स्थायी कमिटी सदस्य एवं २ नम्बर प्रदेश इञ्चार्ज सत्यनारायण मण्डललाई क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभाको उम्मेदवार बनाएको छ । तर मण्डलविरुद्ध एमालेका जिल्ला कमिटी सदस्य प्रकाश खतिवडा वागी बनेका छन् ।

खतिवडाले ठूला नेतालाई खुसी पार्नका लागि नेतृत्वले देखाएको रबैया अलोकतान्त्रिक भएको बताए । उनले आफू तल्लो तहबाट निर्वाचित भए पनि केन्द्रले एक्कासि मण्डललाई उम्मेदवार बनाएपछि आफ्ना समर्थकहरुको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

माओवादीमा भाँडभैलो

उम्मेदवारीले माओवादीमा पनि असन्तुष्टि बढेको छ । राजपाबाट बुधबार मात्रै माओवादीमा प्रवेश गरेका शशी यादवलाई क्षेत्र नम्बर ४ को २ बाट प्रदेश सभा सदस्य टिकट दिएपछि माओवादीभित्र विवाद बढेको हो । पार्टीले अन्याय गरेको भन्दै माओवादीका क्षेत्रीय सचिव बालेश्वर यादवले त शशीविरुद्ध वागी उम्मेदवारी दिएका छन् ।

बुधबारसम्म यो प्रदेशसभाबाट यादवकै नाम चयन भएको थियो । तर केही घन्टा अगाडि पार्टी प्रवेश गरेका व्यक्तिलाई टिकट दिएपछि आफ्ना समर्थकहरुको आग्रहमा उम्मेदबारी दिएको उनले बताए ।

मनिषविरुद्ध दुई वागी

राजपा महासचिव मनिष सुमन पनि आफ्नो गृहजिल्ला सप्तरीबाट प्रदेश सभाको उम्मेदवार बनेका छन् । उनी क्षेत्र नम्बर २ को २ बाट उम्मेदवार बनेका छन् । तर उनीविरुद्ध उनकै पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले उम्मेदवारी दिएका छन् ।

टिकटका लागि चार दिनसम्म भोक हड्तालमा बस्दासमेत पार्टीले बेवास्ता गरेपछि भोक हड्ताल अन्त्य गरेर वागी उम्मेदवार बनेको उनले बताए ।

यस्तै मनिष सुमनविरुद्ध गठबन्धन आवद्ध दल संघीय समाजवादी फोरम नेपालका नेता भीमराज यादवले उम्मेदवारी दिएका छन् । राजविराज नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।

नवलकिशोरविरुद्ध झा

राजपा र फोरम गठबन्धनका साझा उम्मेदवार राजपाका केन्द्रीय उपाध्यक्षविरुद्ध पनि उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा १ को २ बाट उम्मेदवारी दिएका राजपाका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साहविरुद्ध संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झाले उम्मेदवारी दिएका हुन् ।

मृगेन्द्र–अनिरुद्ध आमनेसामने

मधेशी दलको गठबन्धनबाटै क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका राजपाका नेता मृगेन्द्र सिंह यादवविरुद्ध पनि वागी उम्मेदबारी दर्ता भएको छ । यादवविरुद्ध संघीय समाजवादी फोरम नेपालका जिल्ला इञ्चार्ज अनिरुद्ध यादवले उम्मेदबारी दर्ता गराएका हुन् ।


विन्देश्वरविरुद्ध उपेन्द्र

राजपा फोरम गठबन्धनबाट क्षेत्र नम्बर ३ को २ बाट उम्मेदवारी दिएका विन्देश्वर यादवविरुद्ध फोरम नेपालले वागी उम्मेदबार उभ्याएको छ । यादवविरुद्ध फोरम नेपालले सप्तरी सचिव उपेन्द्र यादवलाई वागी उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?