Comments Add Comment

प्रमुख तीन गठबन्धनबाट दोस्रो चरणमा ३६ महिला उम्मेदवार (सूचीसहित)

भावी मुख्यमन्त्रीको दाबेदारमा एकमात्र महिला नेतृ अष्टलक्ष्मी शाक्य !

१७ कात्तिक, काठमाडौं । प्रमुख दलहरुले गठबन्धन बनाएर चुनाव लड्दा पनि प्रत्यक्षमा महिला उम्मेदवारको संख्या संविधानले तोकेको भन्दा निकै कम देखिएको छ ।

संविधानमा ३३ प्रतिशत महिला सांसद हुनैपर्ने बाध्यकारी व्यवस्था छ । तर, प्रत्यक्षतर्फ अधिकांश उम्मेदवार पुरुष भएका कारण महिला समानुपातिकबाटै आउनु पर्ने भएको छ ।

महिलाले प्रत्यक्षमै प्रतिस्पर्धा गर्छौं भन्दा पनि नेताहरु अनुदार बनेको आरोप महिला नेतृहरुको छ । काठमाडौं १ मा एमाले जिल्ला इन्चार्ज समेत रहेकी साबित्रा भुसालको टिकट पक्का भइसकेको थियो । तर, अन्तिममा माओवादीका अनिल शर्मालाई लागि छाड्यो ।

यस्तै कञ्चनपुर क्षेत्र नम्बर १ को ख मा एमालेले विद्यार्थी नेतृ मर्यादा विष्टलाई टिकट दिइसकेको थियो । तर, बेला नभएको भन्दै उनको टिकट कुलवीर चौधरीलाई दिइयो ।

कांग्रेस र माओवादीमा पनि महिलाको उस्तै गुनासो छ । गठबन्धन भएपछि चुनाव जित्ने सहज ठानेर पुरुष नेताहरु झनै महिलाप्रति अनुदार बन्दै आफैं टिकट हत्याउन अग्रसर भएपछि महिला उम्मेदवार कम भएको महिला नेतृहरुको आरोप छ ।

‘जिल्ला तहदेखि नै सर्वसम्मत भएकाहरुले टिकट पाएका छन्, नत्र माथिबाट पहुँच बनाएर टिकट पाउन महिलालाई गाह्रो देखियो’ एक नेतृले भनिन् । प्रत्यक्षमा पुरुष नेताहरु अनुदार भएका कारण अब त्यसको क्षतिपूर्ति उनीहरुले समानुपातिबाट भर्नुपर्ने नेपाल ल क्याम्पसका पूर्वसभापति रहिसकेका अधिवक्ता नवराज थपलियाले बताए ।

पहिलो चरणमा प्रमुख दुई गठबन्धनबाट जम्मा ९ जना महिला उम्मेदवार भएकामा दोस्रो चरणमा केही बढेको छ ।

दोस्रो चरणको चुनावमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा ९ महिला उम्मेदवार बनेका छन् । कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट ६ जना महिला उम्मेदवार छन् भने मधेसवादी दलको गठबन्धनबाट प्रतिनिधिसभामा एकजना पनि उम्मेदवार छैनन् ।

प्रदेशसभातर्फ २० जना महिला मैदानमा छन् । एमालेबाट ९ महिला प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।

प्रदेश नम्बर १ः एमालेका थारु महिला मैदानमा

प्रदेश नम्बर एकबाट सबैभन्दा बढी एमालेले ३ जना महिला नेतृलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । तीमध्ये दुईजना थारु महिला छन् । एमालेबाट झापा २ मा पवित्रा निरौला खरेल, सुनसरी ३ मा भगवती चौधरी र उदयपुर १ मा मञ्जुकुमारी चौधरी छिन् ।

तीनैजना महिला २०७० को चुनावमा पनि प्रतिस्पर्धी थिए । मञ्जुले चुनाव जितेकी थिइन् भने पवित्रा र भगवती झिनो मतले पराजित भएका थिए । भगवती चौधरीले यसपटक पनि पूरानै प्रतिद्वन्द्वी विजयकुमार गच्छदारको सामना गर्नुपर्ने भएको छ ।

मञ्जु चौधरीले कांग्रेसका नेता डा. नारायण खड्कासँग प्रतिस्पर्धा गर्नेछिन् भने पवित्रा निरौलाले कांग्रेसका झापा जिल्ला सभापति उद्धव थापाको सामना गर्नुपर्ने भएको छ ।

कांग्रेसले दोस्रो चरणमा प्रदेश १ बाट प्रतिनिधिसभातर्फ भाैतिक योजना राज्यमन्त्री सीता गुरूङलार्इ तेह्रथुमको उम्मेदवार बनाएको छ । उनी यसअघि दुर्इ पटक समानुपातिकबाट सांसद बनेकी हुन् । प्रत्यक्षतर्फ उनको यो पहिलो अनुभव हो । पहिलो चरणमा यसअघि खोटाङबाट सरस्वती बजिमयको उम्मेदवारी परिसकेको छ । माओवादीले पनि प्रतिनिधिसभामा प्रदेश १ बाट महिला उम्मेदवार दिएन ।

प्रदेशसभातर्फ एमालेले इलाम १ को ख बाट खिनु लिनुङ्वा लिम्बु र उदयपुर २ को ख बाट कला घलेलाई उम्मेदवार बनाएको छ । माओवादीले मोरङ ३ को ख मा गीता तिमल्सिना र उदयपुर १ को २ को क मा भेषकुमारी राउत कोपिलालाई उम्मेदवार बनाएको छ ।

प्रदेश नम्बर २ः मधेशी महिला कम

मधेसी समुदायको सघन बसोबास रहेको प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ वामपन्थी गठबन्धनबाट उर्मिला अर्याल र कांग्रेसबाट किरण यादव दुई महिलामात्र उम्मेदवार छन् । मधेसमा बलियो जनाधार भएका राजपा र फोरमबाट भने महिला उम्मेदवार छैनन् ।

प्रदेश २ मा कांग्रेसले महोत्तरी २ मा किरण यादवलाई उम्मेदवार बनाएको छ भन अन्य क्षेत्रमा महिलालाई टिकट दिएन । एमालेले महोत्तरी १ को क मा शारदा थापा र सर्लाही १ को ख मा बेची लुङ्गेलीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

माओवादीले उर्मिला अर्याललाई पर्सा ४ मा प्रतिनिधिसभा सदस्य र ज्वालाकुमारी साहलाई बारा ३ को क मा प्रदेशसभा उम्मेदवार बनाएको छ । राजपाले प्रदेशसभातर्फ महोत्तरी १ को क मा रुपा यादव, २ को खमा सुरिताकुमारी साह र ३ को ख मा रानी शर्मा तिवारीलाई उम्मेदवार बनाएको छ ।

प्रदेश नम्बर ३ः अष्टलक्ष्मी भावी मुख्यमन्त्री

प्रदेश ३ मा कांग्रेसले दुई महिला नेतृलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । महालक्ष्मी उपाध्याय मकवानपुर २ र अम्बिका बस्नेत काठमाडौं ३ मा उम्मेदवार बनेकी छन् ।

माओवादीले पार्टी प्रवक्ता पम्फा भुसाललाई ललितपुर ३ बाट उम्मेदवार बनाएको छ । एमालेले भने प्रदेशसभामा मात्र महिलालाई उम्मेदवार बनाएको छ । पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य काठमाडौं क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेकी छन् । उनलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ ।

काठमाडौंमा एमालेले क्षेत्र नम्बर १ को कमा विष्णमाया भुसाल र १० को क मा रमा आले मगरलाई प्रदेशसभा उम्मेदवार बनाएको छ । माओवादीले कुमारी मोक्तानलाई मकवानपुर २ क मा र लालकुमारी पुनलाई ललितपुर १ को क मा उम्मेदवार बनाएको छ ।

प्रदेश ४ः प्रतिनिधिसभामा एक्ली पद्मा

प्रदेश ४ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने एकजनामात्र महिला पद्माकुमारी अर्याल भएकी छन् ।

एमाले केन्द्रीय सदस्य अर्यालले कांग्रेस बरिष्ठ नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै प्रदेश ४ बाट प्रदेशसभातर्फ माओवादीले विना विभागीय मन्त्री आशा कोइरालालाई तनहुँ २ को क बाट उम्मेदवार बनाएको छ । कांग्रेसले निवर्तमान सांसद शारदा पौडेललाई कास्की ३ को ख बाट उम्मेदवार बनाएको छ ।

प्रदेश ५ः चार महिला चुनावी मैदानमा

प्रदेश ५ मा कांग्रेसले सुशीला चौधरी र वाम गठबन्धनले दुर्गा पौडेललाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएको छ ।

चौधरीले दाङ १ मा वामपन्थी गठबन्धनका उम्मेदवार एमाले नेता मेटमणी चौधरीसँग र प्युठानमा पौडेलले कांग्रेसका डा. गोविन्दराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रदेशसभातर्फ एमालेले बाँके १ ख मा आरती पौडेल र रुपन्देही ४ ख मा पल्लबी शुक्ललाई उम्मेदवार बनाएको छ ।

प्रदेश ७ः महिलाबीचको प्रतिस्पर्धा

प्रदेश ७ मा यसपटक रोचक संयोग के परेको छ भने देशभरीमै महिलाको मात्रै प्रतिस्पर्धा कैलाली १ मा हुनेछ । कैलाली १ मा वामपन्थी गठबन्धनबाट एमाले केन्द्रीय सदस्य गरिमा शाह र कांग्रेस नेतृ ईश्वरी न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

कैलाली ५ मा कांग्रेसबाट डा. आरजु राणा देउवा चुनावी मैदानमा छिन् भने कन्चनपुर १ मा माओवादीले बिना मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment