Comments Add Comment

धनुषामा विमलेन्द्र निधि भर्सेस राजेन्द्र महतोः को कति बलियो ?

१७ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्य पदका लागि धनुषा ३ मा उम्मेदवारी दिएपछि कांग्रेस नेता विमलेन्द्र निधिले लेखे, ‘मिथिलाको राजधानी जनकपुर मेरो घर हो । यहाँ मैले बामे सर्न सिकेँ, पढेँ, हुर्किएँ । मेरो राजनीति धनुषाबाट सुरु भएर राष्ट्रिय भयो …’

पूर्वगृहमन्त्री निधिको फेसबुक स्टाटस चुनावी प्रतिस्पर्धी राजपाका राजेन्द्र महतोप्रति लक्षित छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सर्लाहीका हुन् । तर, योपटक उनले धनुषामा निधिसँगको चुनावी प्रतिस्पर्धा रोजेका छन् ।

उसो त महतोलाई उम्मेदवार हुनबाट रोक्न निधिले कांग्रेस र राजपाबीच तालमेलको प्रयास पनि नगरेका होइनन् । तर, सर्लाही ४ मा अमरेशकुमार सिंहले नछाडेपछि महतोले निधिसँगकै प्रतिस्पर्धा रोजे ।

महतोले यो चुनावलाई ‘मिनी जनमतसंग्रह’ को संज्ञा दिएका छन् ।

राजपाका उम्मेदवार महतोले भोलि सहिद दुर्गानन्द झाको गाउँबाट चुनावी अभियान सुरु गर्दैछन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ‘निधिलाई रोज्ने कि मधेस मुद्दाको वकालत गर्ने महतोलाई रोज्ने’ भनी मतदातालाई प्रश्न गरेका छन् ।

कस्तो छ निधि र महतोको अवस्था ?

धनुषा ३ मा जनकपुर उपमहानगरको १ देखि १६ र २०, २३ देखि २५ वडा पर्छ । यस्तै नगराइन नगरपालिकाका साथै धनौजी र मुखियापट्टी मुसहरमिया गाउँपालिका र विदेह नगरपालिकाको वडा नम्बर ९ यो क्षेत्रमा पर्छ ।

स्थानीय चुनावमा नगराइन र धनौजी र मुखियापट्टी कांग्रेसले जितेको थियो भने जनकपुर उपमहानरमा राजपा १० हजार मतान्तरले विजयी भएको थियो । तर, यो क्षेत्रमा पर्ने स्थानीय तहहरुका वडाध्यक्षको मत विश्लेषण गर्दा कांग्रेसको १८ हजार १३१ र राजपा-फोरम गठबन्धनको १७ हजार २८० मत छ ।

निधिको प्रतिष्ठासँग जोडिएको स्थानीय चुनावमा उनको पार्टी नराम्ररी पराजित भयो । उनले पार्टीका प्रमुख दावेदारहरुलाई छाडेर विश्वासपात्र मनोजकुमार साहलाई मेयरको टिकट दिएका थिए । तर, राजपाका लालकिशोर साहले त्यहाँ चुनाव जिते ।

कांग्रेसका पूर्वनेता समेत रहेका साहको आफ्नै भोट पनि थियो । तर, निधिसँग रुष्ट भएकाहरुले पनि साथ दिएपछि उनको सहज जित भयो ।

राजपाका नेताहरुका अनुसार महतोले धनुषा ३ बाटै प्रतिनिधिसभामा उम्मेदवारी दिनुको कारण जनकपुर उपमहानरको नजिता पनि हो । मधेस आन्दोलनको राप र तापसँगै निधिविरोधी मत आफूतिर तान्ने महतोको रणनीति देखिन्छ ।

तर, स्थानीय तहको मतका आधारमा निधि वा महतो कसैको हारजित अनुमान लगाउन सकिन्न ।

राजनीतिक आरोह अवरोह

कांग्रेस नेता निधि महेन्द्र नारायणका छोरा हुन् । विद्यार्थी राजनीतिबाट आएका निधिले ०५१ मा बाबुको विरासत थाम्दै आम चुनाव जिते । ०४८ मा महेन्द्र नारायणले जितेको धनुषा ३ त्यसपछि विमलेन्द्र निधिको क्षेत्र बन्यो । तर, ०५६ कृष्ण मल्लसँग पराजित भए । ०६४ र ७० को संविधानसभामा उनी विजयी भए ।

महतो सदभावना पार्टीबाट राजनीतिमा आएका हुन् । ०४८ र ०५१ को आम चुनाव सर्लाही २ मा कांग्रेसकी मीना पाण्डेसँग पराजित महतो ०५६ मा सूर्यबहादुर थापा र मीना पाण्डेलाई हराएर पहिलो पटक सांसद भए । त्यसपछि थुप्रैपटक मन्त्री भएका महतोले आफ्नै अध्यक्षमा पार्टी खोले र ०६४ मा संविधानसभा सदस्यको चुनाव जिते । तर, ०७० मा सर्लाही ४ मा उठेका उनी तत्कालीन महसपाका महेन्द्र राय यादवसँग पराजित भए ।

जनकपुरको चुनावमा जातीय समीकरणले पनि काम गर्छ । साहुजीहरुको भोट राजपा उम्मेदवार महतोतिर जाने देखिन्छ भने ब्राह्मण भोटलाई निर्णायक मानिएको छ । स्थानीय चुनावका बेला ब्राह्मण भोटर निधिसँग रिसाएका थिए, जसलाई फकाउने प्रयास निधिले त्यसबेलादेखि नै जारी राखेका छन् ।

कांग्रेसकै कोइराला खेमा पनि आफ्नो राजनीति सिध्याएकोमा निधिसँग असन्तुष्ट देखिएको छ । तर, भोलि पार्टी सभापति र प्रधानमन्त्रीसम्म हुन सक्ने सम्भाावना भएको भन्दै निधिलाई हराउन हुन्न भन्ने सफ्ट कर्नर राख्नेहरु पनि देखिएका छन् ।

जनकपुरको चुनावी जोडघटाउमा अर्थ राख्ने एमालेले धनुषामा उम्मेदवार उठाएको छैन । वाम गठबन्धनको सिट बाँडफाँटबाट माओवादीको भागमा परेकाले माओवादीका रामसिंह यादव छन् । तर, उनले एमालेको सबै भोट पाउनेमा शंका छ ।

यस्तै जनकपुर बमकाण्डमा जेल परेका सञ्जय साह गुटले कसलाई साथ दिन्छ भन्ने पनि हेर्नुपर्छ । उम्मेदवारी दर्तापछि भर्खर चुनावी अभियान सुरु भएकाले धनुषा ३ मा निधि कि राजेन्द्र अहिले भन्न सकिन्छ । तर, भिडन्त रोचक हुनेमा शंका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment