Comments Add Comment

चितवनमा बद्री तिम्सिनाको प्रवेशले प्रचण्डलाई कति फाइदा ?

बद्री तिमिल्सिना

१९ कात्तिक, चितवन । राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना केही नेताकार्यकर्तासहित शनिबार माओवादीमा प्रवेश गरे । हिन्दु राष्ट्रको पक्षमा चर्को वकालत गर्दै आएका बद्रीको माओवादी प्रवेशलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

कमल थापाको राप्रपा नेपालको जिल्ला अध्यक्ष भएर उनी पार्टी एकतापछि राप्रपाको जिल्ला अध्यक्ष बने । कमल थापाको विश्वासपात्र मानिने उनी पार्टी फुट्दा भने कमल थापा समूहलाई छाडेर विक्रम पाण्डेसँग लागे । र, राप्रपा प्रजातान्त्रिकको चितवन जिल्ला अध्यक्ष बने ।

विक्रम पाण्डेको उम्मेदवारी दर्ताका दिन बद्री चुनावी कमाण्डर बनेर अघिअघि हिँडेका थिए । उनी त्यसको ३ दिनपछि माओवादीमा प्रवेश गर्ने परिकल्पना कसैले पनि गरेका थिएनन् । तर, शनिबार उनी अकस्मात माओवादीमा प्रवेश गरेपछि वाम गठबन्धनमा खुसीयाली छाएको छ ।

मतका आधारमा बद्रीसँग होल्ड भएको संगठित मत कति होला ? यसको यकिन गर्न सकिँदैन । उनी भरतपुर १० का स्थानीय हु्न । भरतपुर क्षेत्रमा उनको सामान्य प्रभाव भए पनि क्षेत्र नं ३ मा भने उनको खासै प्रभाव छैन । त्यहाँ अधिकांश विक्रम पाण्डे सर्मथकहरु नै छन् । तिमिल्सिनाको प्रवेशले पाण्डेलाई खासै ठूलो घाटा भने लगाएको छैन ।

चितवनमा राप्रपालाई जोगाएर राख्नेमा पाण्डे नै प्रमुख व्यक्ति हुन् । राप्रपा र उसका शाखा प्रशाखाहरु पाण्डेकै कारण क्रियाशील छन् । फुटेको राप्रपाले समेत विक्रम पाण्डे राप्रपा प्रजातान्त्रिकका उपाध्यक्षलाई चितवन ३ मा समर्थन गरेबाट पनि यो कुरा थाहा हुन्छ ।

चितवनको रोचक संयोग

प्रचण्डले चितवनबाट यसपटक निर्वाचन लड्नुलाई भावनात्मक सम्वन्ध र जीवनको उत्तरार्द्धमा आफ्नै ठाउँबाट केही गरौं भन्ने उद्देश्य अन्तरनिहित भएको अर्थ दिएका छन् । छोरी रेणु दाहाललाई मेयरमा उठाएर प्रचण्डले चितवन आउने छनक पहिल्यै दिएका थिए । उनले प्रधानमन्त्री भएका बेला जिल्लाका लागि लाखौं रकम छुट्टाएका थिए । यो उनको रिर्हसल थियो । चितवनबाट प्रतिनिधि भएर देशकै नेतृत्व गर्ने उनको दावी छ ।

रोचक संयोग के छ भने, यसअघि प्रचण्डकै नेतृत्वको सरकारमा पाण्डे भूमि सुधारमन्त्री बनेका थिए । ठेकेदारी पेशा र राजनीतिलाई सँगसँगै अघि बढाएका पाण्डेले ‘विकासका लागि विक्रम पाण्डे’ नारा अघि सारेका छन् । भूमिसुधार मन्त्री हुँदा पाण्डेले आˆनो निर्वाचन क्षेत्रअन्र्तगत पर्ने चनौली र माडीमा नापी तथा मालपोत शाखा कार्यालय खोलेका थिए । जग्गाको कामका लागि भरतपुर नै आउनुपर्ने वाध्यतालाई अन्त्य गरेको भन्दै पाण्डेले यसको ‘जस’ लिन खोजेका छन् ।

प्रचण्ड वा पाण्डे दुवैले आ-आफू जित्ने दावी गरेपनि मतको भर दुवैको एमाले र कांग्रेसकै छ । प्रचण्डले दृढ अठोटका साथ चितवन आएको जित्नका लागि मात्रै नआएको बताएका छन् । भरतपुर महानगरको चुनावका क्रममा एमालेसँग भएको तितो सम्वन्धलाई मिठो र सुखदमा बदल्न उनले हरसम्भव प्रयास गरेको देखिन्छ । संयुक्त चुनावी कार्यक्रम, मेयरमा पराजित भएका देवी ज्ञवालीलाई निर्वाचन अभियानमा सँगसँगै लैजाने र भावनात्मक रुपमा एमाले कार्यकर्ताको मन जित्ने प्रयासमा छन् प्रचण्ड ।

प्रचण्डले एमाले कार्यकर्ता भावनालाई आफुतिर ‘क्यास’ गर्न भरतपुरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्ने क्रममा मदन भण्डारी र आफ्नो वीचमा भेटघाटको तयारी भएको र भेटघाट भएको भए पार्टी एकता हुने र आजसम्म सँगसँगै हुने प्रतिक्रिया दिए । उनले यति मात्रै भनेनन् केपी ओली र आफ्ना लागि त्यो अवसर इतिहासले फेरि एकपटक ल्याएको बताए ।

कांग्रेसले आफ्नो बलियो क्षेत्र हुँदा हुँदै पनि राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेलाई छाड्नुलाई निकै महत्वका साथ हेरिएको छ । अर्को रोचक संयोग के छ भने भरतपुर महानगरको चुनावमा माओवादीको हँसिया हथौडामा भोट हालेका यहाँका कांग्रेस मतदाताले यसपटक भने हलोमा मत हाल्नुपर्ने भएको छ । ०७० सालपछि यहाँका कांग्रेसका मतदाताले अर्को पार्टीको चुनाव चिन्हमा मतदान गर्नुपर्ने वाध्यता आइलागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment