Comments Add Comment

भारतीय कम्पनी टाट पल्टिँदा नेपालका ठूला आयोजना अड्किए

 

२१ कात्तिक, काठमाडौं । भारतीय कम्पनी जेपी इन्फ्रा टाट पल्टिँदा नेपालका दुई ठूला आयोजनाको काम अघि बढ्न सकेको छैन ।

जेपी इन्फ्राको मातृ कम्पनी जय प्रकाश (जेपी) एसोसियट्स हो जुन नेपालमा नारायणगढ-बुटवल सडकखण्ड र तनहुँ हाइड्रो ठेक्कामा सर्ट लिस्टिङ भएको छ । यी दुई आयोजना बाहेक जेपी एसोसियट्सले ४० मेगावाटको राहुँघाट जलबिद्युत आयोजना पनि निर्माण गर्न लागेको छ ।

१ सय ४० मेगावाटको तनहूँ जलविद्युत आयोजनामा जय प्रकाश एसोसियट्ससँगै अन्य दुई कम्पनीको प्राविधिक मूल्यांकन गरेर गत जुलाईमा स्वीकृतिका लागि एशियाली बिकास बैंक (एडीबी)मा पठाइएको थियो । तर एडीबीले प्राविधिक मूल्यांकन अहिलेसम्म स्वीकृत गरेर पठाएको छैन ।

भारतको उच्च अदालतले अहिले जय प्रकाश एसोसियट्सलाई २० अर्ब रकम बैंकमा डिपोजिट गर्न निर्देशन दिएको छ । यसको भगिनी कम्पनी समस्यामा परेपछि एडीबीले नेपालमा यसले निर्माण गर्न खोजेका आयोजनाको प्रक्रिया नै अघि बढाएको छैन ।

केही दिनअघि एसियाली बिकास बैैंकले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एडीबीले प्रक्रिया अघि नबढाइदिएकाले तनहूँ जलबिद्युत आयोजना अघि बढाउन समस्या भएको बताएका थिए । साथै उनले आयोजनाको प्रक्रिया समयमै अघि बढाइदिन आग्रहसमेत गरेका थिए ।

आयोजनामा एडीबीले १५ करोड अमेरीकी डलर बराबरको रकम लगानी गर्न लागेको छ । यस आयोजनाको टेण्डर प्रक्रिया एडीबीकै कार्यविधि अन्तर्गत अघि बढाइएको छ ।

यसमा एशियाली बिकास बैंक बाहेक जाइकाले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्न लागेका छन् । आयोजनाको कूल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज र प्रसारण लाइन तथा ग्रामीण विद्युतीकरणको खर्च सहितको हो ।

आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । प्राविधिक मूल्यांकन स्वीकृत भएसँगै आर्थिक मूल्यांकन स्वीकृत गर्नुपर्छ । प्राविधिकरुपमा ठीक ठहरिएका कम्पनीहरुको मात्रै आर्थिक मूल्यांकन हुन्छ ।

भारतमा यसको भगिनी कम्पनी समस्यामा परेपछि एडीबीले तनहुँ हाइड्रो र सडक विभागसँग यसको अवस्था स्पष्ट पार्न भन्दै पत्र लेखेको छ । जसका कारण प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको छैन । योे आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ ।

त्यस्तै बुटवल-नारायणढ ४ लेनको सडक निर्माणका लागि पनि एसियाली बिकास बैंकले ऋण सहयोग गर्न लागेको छ । अहिले २ लेनमा रहेको बुटवल-नारायणगढ सडकखण्डलाई ४ लेन बनाउन लागिएको हो ।

सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि सकिएको छ । अहिले ठेकेदार कम्पनी छनोटको काम भइरहेको छ । निर्माणका लागि आवेदन दिएको कम्पनी जयप्रकाश एसोसियट्सको अहिले प्राविधिक मूल्यांकन भइरहेको छ । यस्तै प्राविधिक मूल्यांकनमा परेको जेपी एसोसियट्सका बारेमा प्रकाशित समाचारलाई लिएर एडीबीले चासो बढाएको छ ।

सडक बिभागका एक उच्च अधिकारीले भने ‘एडीबीले जेपी एसोसियट्सका बारेमा थप स्पष्ट पार भनेर पत्र लेखेको थियो, जसको प्रत्युत्तर तयार पारेर हालै मात्रै पठाएका छौं ।’

जेपी एसोसियट्सको कम्पनी जेपी इन्फ्राले समयमा बैंकको ऋण तिर्न नसकेपछि बैंकहरु केही समयअघि यसलाई इन्सल्भेन्सीमा लान आग्रह गर्दै सम्बद्ध निकायहरुमा पुगेका थिए ।

यी दुई आयोजना बाहेक जेपी एसोसियट्सले ४० मेगावाटको राहुँघाट जलबिद्युत आयोजना पनि निर्माण गर्न लागेको छ । यसको भने भारतीय एक्जीम बैंकले प्राविधिक स्वीकृत दिइसकेको छ ।

यसमा भारतीय कम्पनीले मात्रै आवेदन हाल्न पाउँथे । तीनवटा कम्पनीले बोलपत्र खरिद गरेको भए पनि जेपी एसोसियट्सको मात्रै आवेदन परेको थियो ।

०६६ सालमा सुरु भएको आयोजना ०७३ सालमा सम्पन्न गर्ने लक्ष्य थियो । तर यसअघि निर्माणको जिम्मा लिएको कम्पनी आईभीआरसीएलले समयमा काम अघि बढाउन नसकेपछि आयोजनाले ठेक्का सम्झौता रद्द गरेर नयाँ कम्पनीलाई जिम्मा दिने प्रक्रिया थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment