Comments Add Comment

गाउँपालिका अध्यक्ष कक्षाकोठामा, विद्यार्थी चौरमा

२२ कात्तिक, रौतहट । माथिको तस्वीरमा देखिएको बोर्ड रौतहटको यमुनामाई गाउँपालिकाको हो । तर, यथार्थ के हो भने यो भवन जनता माध्यमिक बिद्यालयको हो र गाउँपालिकाले कार्यालय स्थापना गर्नुअघि यस भवनका कोठाहरुमा २ देखि ६ कक्षासम्मका बिद्यार्थी पढ्ने गर्थे ।

२० वर्षपछि भएको निर्वाचनमार्फत चुनिएर आएका जनप्रतिनिधिले नै बिद्यालय भवन हडपेर गाउँपालिका कार्यालय स्थापना गरेपछि कात्तिक, मंसिरको शितले भिजेको चौरमा बिद्यार्थीले अध्ययन गर्नुपर्ने बाध्यता छ ।

सरुअठामा रहेको जनता माध्यामिक बिद्यालयको दुई तले भवनमा गाउँपालिका कार्यालय स्थापना भएको छ । र, बिद्यालयका २ देखि ६ कक्षासम्मका करीव २ सय बिद्यार्थी चौरमा अध्ययन गर्न बाध्य छन् । बिद्यालयमा पाँच सयभन्दा बढी बिद्यार्थी अध्ययनरत छन् ।

स्थानिय तहको निर्वाचनको बेला गुणस्तरीय शिक्षा पुर्‍याउने बाचा गरेका जनप्रतिनिधिले नै कक्षाकोठामा बेन्च डेस्कमा बसेर पढीरहेका विद्यार्थीहरुलाई चौरमा बस्न लगाएपछि अविभावक र शिक्षक अचम्मित छन् । ‘बिहान शीतले भिजेको चौरमा बस्नुपर्ने, दिनभरी चर्को घाम झेल्नुपर्ने, खुला भएपछि बिद्यार्थीले ध्यान नदिने अनि गुणस्तरीय शिक्षा कहाँबाट दिने ?’ एक शिक्षकले गुनासो गरे ।

गाँउपालिकाको आˆनै भवन नभएकाले विद्यलयको भवन केही दिनका लागि प्रयोग गर्न गाँउपालिका प्रमुखले आग्रह गरेपछि आफूले केही कोठा उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक नविन सिंहले बताए । ‘केही दिन पछि अर्को भवन खोजेर गाँउपालिका सार्ने शर्तमा हामीले कोठा उपलब्ध गराएका हौं ।’ प्राचार्य सिंहले भने ।

तर विद्यालयको दुई तल्ले भवन पूर्णरुपमा गाँउपालिकाले आˆनो नियन्त्रणमा लिएर प्रमुख तथा उपप्रमुख कक्ष, बैठक कक्ष लगायतका अन्य कार्यालय कक्षहरु निर्माण गरेपछि शिक्षक अविभावकहरु आक्रोशित छन् ।

गाँउपालिका प्रमुख श्रीप्रकाश मुखियाले भने भवन अभावका कारण बाध्य भएर विद्यालयमा कार्यालय संचालन गर्नु परेको बताए । अन्य स्थानहरुमा केही भवन भए पनि कार्यालय सरुअठा भन्दा बाहिर जादाँ स्थानीयले विरोध गर्ने भएकोले बाध्य भएर विद्यालयको कक्षा कोठा प्रयोग गर्नु परेको उनले बताए ।

कार्यालय सञ्चालनको लागि बहालमा घर खोज्दा पनि पर्याप्त कोठाहरु भएको कार्यालय लायक घर नपाए पछि विद्यालय प्रयोग गरेको गाँउपलिका प्रमुख मुखियाले बताए ।

यता विद्यार्थीलाई चौरमा पढन लगाएर भवन गाँउपालिकाको लागी प्रयोग गरेको प्रति जिल्ला शिक्षा कार्यालय रौतहटले आपत्ती जनाएको छ । सुरक्षित र समुचित रुपमा विद्यार्थीको पढन पाउनु पर्ने अधिकार गाँउपालिकाले हनन गरेको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहको तर्क छ ।

गाँउपालिका प्रमुख तथा सरोकारवाला जनप्रतिनिधिहरुलाई तुरुन्त विद्यालय भवनबाट कार्यालय सार्न भनिएको र सो को पत्राचार जिल्ला प्रशासन कार्यालय समेतलाई गरेको शिक्षा अधिकारी सिंहले बताए ।

सोही गाँउमा बन्द रहेको अर्को एक विद्यालयमा गाँउपालिका सार्न आफूहरुले सुझाव समेत दिएको र विद्यार्थी बाहिर पढिरहेको सम्बन्धमा जिल्ला समन्वय समिति तथा शिक्षा विभागमा समेत पत्राचार गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment