
२२ कात्तिक, काठमाडौं । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो ।
सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक हो ।
‘तरकारीको मूल्य घटबढ भइरहन्छ । केही तरकारीले त मूल्यमा रेकर्ड नै राखे’ श्रेष्ठले भने, ‘ मूल्य दैनिक रुपमा घट्ने/बढ्ने हुनुपर्ने हो तर, यो पटक बढेको बढ्यैछ । तिहार अघिदेखि महंगो भएको तरकारीको मूल्य अझै घटेको छैन । ‘
अहिले अधिकांश तरकारी किलोेको सय रुपैयाँ घटीमा पाइन छाडेको छ । कालिमाटी बजारमै मूल्य उच्च भएपछि खुद्रा बजारमा मूल्य अनियन्त्रित बनेको छ ।
अहिले बजारमा स्याउ भन्दा गोलभेँडा महंगो भएको छ । कालिमाटी बजारमा गोलभेँडाको खुद्रा मूल्य किलोको १२० रुपैयाँ पुगेको छ । खुद्रामा एक सय ५० सम्ममा बिक्री भइरहेको छ ।
सेतो आलुको मूल्य किलोको ७० रुपैयाँ रहेको कालीमाटी बजारमा काउलीको मूल्य ११० रुपैयाँ पुगेको छ । कालिमाटीमा बोडी र मटरकोशा किलोको १३० रुपैयाँ पुगेको छ । हरियो प्याज १४० रुपैयाँ प्रतिकेजी छ ।
एक किलो घिउ सिमी किन्न ११० र तितेकरेला १२० रुपैयाँ खर्चिनुपर्छ । गाजर पनि किलोको १३० रुपैयाँ भएको छ । कालिमाटी बजारमै परवर ८० रुपैयाँ पर्छ भने हरियो फर्सीको मूल्य ७० रुपैयाँ पुगेको छ ।
भिण्डीको मूल्य सय रुपैयाा प्रतिकेजी छ भने पालुंगो र चमसुरको साग कािलेको ११० रुपैयाँमा बिक्री भइरहेको छ । कागतीलाई केहीको ६ सय रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।
भेडेँ खुर्सानी किलाको १३० रुपैयाँ पर्छ भने हरियो लसुुनको मूल्य किलोको १७० रुपैयाँ छ । हरियो धनियाँ किलोको ३९० रुपैयाँ पुग्दा हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
कालिमाटी बजारमा च्याउ किलोको २ सय रुपैयाँमा बिक्री भइरहेको छ । ब्रोकाउली प्रतिकेजी १३०, चुकन्दर ९०, जिरीको साग ११०, पार्सले १२० रुपैयाँ पुगेको छ ।
कालिमाटी बजारमा काठमाडौंकै सबैभन्दा सस्तो तरकारी पाइन्छ । यहाँबाट नै खुद्रा विक्रेताले लगेर विक्री गर्ने भएकाले अन्य क्षेत्रमा तरकारीको मूल्य योभन्दा उच्च हुन्छ ।
रायोका साग नै मुठाको ५० भन्दा बढी तिरिरहेका छन्, उपभोक्ता । आलूकै मूल्य पनि अस्वभाविक रुपमा बढेको छ ।
किन बढ्यो मूल्य ?
कालिमाटी बजार विकास समितिको भनाइलाई मान्ने हो भने उत्पादन कम भएर नै मूलयवृद्धि उच्च भएको हो ।
भारतबाट आउने सुकेका तरकारी महंगिएको बताउँछन् समितिका उप-निर्देशक श्रेष्ठ । ‘यो वर्ष धेरै वर्षा भयो । त्यसले तरकारी बालीहरु प्रभावित भए । त्यसैले मागअनुसार बजारमा तरकारी आउन सकेको छैन,’ श्रेष्ठले भने, ‘तरकारीको मूल्य घट्दै नघट्नुको कारण पनि यही हो ।’
समितिले अझै केही समय तरकारीको मूल्य नघट्ने अनुमान गरेको छ । तरकारीमा लगातार मूल्यवृद्धि भइरहँदा तरकारी उत्पादकहरुले भने राहत पाएका छन् । काठमाडौंमा तिहार अघिदेखि लगातार तरकारीको मूल्य बढिरहेको छ ।
कालिमाटीमा तरकारीको मूल्य कति छ ? (प्रतिकेजी- रूपैयाँमा)
| कृषि उपज | अधिकतम |
|---|---|
| गोलभेडा ठूलो | ११० |
| गोलभेडा सानो | १२० |
| अालु रातो | ७० |
| अालु सेतो | ५० |
| प्याज सुकेको | ९० |
| गाजर | १३० |
| बन्दा | ९० |
| काउली स्थानिय | ११० |
| मूला सेतो | ४० |
| भन्टा लाम्चो | ८० |
| भन्टा डल्लो | ८० |
| बोडी | १३० |
| मटरकोशा | १३० |
| घिउ सिमी | ११० |
| तितो करेला | १२० |
| लौका | ६० |
| परवर | ८० |
| फर्सी पाकेको | ४० |
| फर्सी हरियो | ७० |
| भिण्डी | १०० |
| बरेला | ६० |
| पिंडालू | ६० |
| स्कूस | २५ |
| रायो साग | ७० |
| पालूगो साग | ११० |
| चमसूरको साग | ११० |
| तोरीको साग | ७० |
| मेथीको साग | ११० |
| प्याज हरियो | १४० |
| तरुल | ७० |
| च्याउ | २०० |
| ब्रोकाउली | १३० |
| चुकुन्दर | ९० |
| जिरीको साग | ११० |
| सेलरी | १२० |
| पार्सले | १२० |
| सौफको साग | ११० |
| पुदीना | १२० |
| गान्टे मूला | ७० |
| इमली | १३० |
| तामा | १५० |
| तोफु | ९० |
| गुन्दुक | २०० |
| स्याउ | १२० |
| केरा | ७० |
| कागती | ६०० |
| अनार | २०० |
| सुन्तला | ८० |
| तरबुजा | ७० |
| मौसम | १०० |
| भुर्इ कटहर | ११० |
| काक्रो | ४० |
| नासपाती | ११० |
| मेवा | १०० |
| लप्सी | ६० |
| अदुवा | ७० |
| खु्र्सानी सुकेको | २५० |
| खु्र्सानी हरियो | ९० |
| भेडे खु्र्सानी | १३० |
| लसुन हरियो | १७० |
| हरियो धनिया | ३९० |
| लसुन सुकेको चाइनिज | २५० |
| लसुन सुकेको नेपाली | २५० |
| छ्यापी सुकेको | २२० |
| माछा ताजा | २६० |
प्रतिक्रिया 4