Comments Add Comment

‘गणेशमानको लौरो’ भन्छन्ः प्रकाशमानसँग भिजन छैन, रविन्द्र मिश्र काँचो मान्छे !

'लिगेसी वीर्यको हुँदैन, गणेशमानको छोरोभन्दा रीस उठ्छ'

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पुराना एवं वौद्धिक नेता हरिबोल भट्टराई काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । करूवा चुनाव चिन्ह पाएका उनी कांग्रेस नेता प्रकाशमान सिंहका बागी होइनन् ।

लक्ष्मीपूजाका दिन स्थापना भएको नेपाली कांग्रेस (वीपी) का केन्द्रीय अध्यक्षको हैसियतले भट्टराईले काठमाडौं १ बाट उम्मेदवारी दिएका हुन् ।

जीवनको उर्जाशील समय नेपाली कांग्रेसको राजनीतिमा खर्चेका ७१ वर्षीय भट्टराईले नयाँ पार्टीको परिचय यसरी दिए- ‘नेपाली कांग्रेस वीपी भनेर मैले कांग्रेसको नयाँ संस्करण सुरु गरेको हुँ, सच्चा नेपाली कांग्रेसचाहिँ यही नै हो ।’

शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस फुटेको हो त ? यो प्रश्नको जवाफमा अध्यक्ष भट्टराईले भूमिकासहितको व्याख्यात्मक टिप्पणी सुनाए- ‘वीपी कोइरालाद्वारा प्रवर्तित विचारलाई नेपाली कांग्रेसले पछिल्लो घडीमा चटक्कै छाड्यो । एकातिर विचार पनि छाडिदियो, अर्कोतिर चरत्रगत हिसाबले कुरा गर्ने हो भने त्यो पनि छाड्यो । धेरै फोहोरी खेलहरु हुन थाले । भ्रष्टाचारका कथाहरु यति बाहिर आउन थाले, त्यसबारे भनेर साध्य नै छैन । यस्तो अवस्थामा नेपाली कांग्रेसमा न विचार छ, न आचार छ, न संस्कार छ ।’

गणेशमानको लौरो !

काठमाडौंमा हरिबोल भट्टराईलाई ‘गणेशमानको लौरो’ भन्ने गरेको सुनिन्छ । काठमाडौं १ बाट स्वयं गणेशमानकै छोरा प्रकाशमानसिंह रुख चिन्ह लिएर चुनाव लडिरहेका छन् । तर, यही ठाउँबाट ‘गणेशमानको लौरो’ किन चुनाव लडेको ?

करिव २ घन्टाको बसाइका क्रममा काठमाडौंका पूर्वमेयर हरिबोलले ०४३ सालको पञ्चायती चुनावमा मेयर बन्दाखेरिको किस्सा सुनाए ।

चुनाव जितेपछि उनलाई कसरी ‘गणेशमानको लौरो’ भन्न थालियो ? यसको जवाफ हरिबोलकै शब्दमाः

हाम्रो दुर्दशा के थियो भने फागुन ७ गतेको प्रजातन्त्र दिवस पनि छतमाथि मनाउनुपथ्र्यो । ०४३ सालमा जमलको पार्टी अफिसको छतमा भेला भएका थियौं । त्यसबेला गणेशमानजीकै आग्रहमा स्थानीय चुनावमा भाग लिने निर्णय भइसकेको थियो । गणेशमानजीले मलाई र तीर्थराम डंगोललाई उठाउनु भयो ।

गिरिजा, किसुनजी र गणेशमान तीनैजना नेताको रोहवरमा जिल्ला समितिले निर्णय गरेर हामीलाई उठाएको हो । हामी उम्मेदवार भइसकेका थियौं, तर धेरै प्रचार भएको थिएन । चैतको २० गते चुनाव थियो । चुनाव आउन एक महिनाजति मात्रै समय थियो ।

त्यसबेला ठाउँठाउँबाट कांग्रेसकै कार्यकर्ताले हरिबोलले चुनाव जित्दैन भनेर कार्यालयमा मान्छे पठाइरहेका थिए । कहिले दमननाथ ढुंगानाको, कहिले कसको मान्छे आउने गरेका थिए । आखिर मेरो नाम पनि धेरै चलेको थिएन । पार्टीभित्र पो ट्यालेन्ट मान्छे भनेर चिनिन्थें, बाहिर त त्यति चर्चा थिएन । त्यही भएर हरिबोलले जित्दैन भनेर अर्कालाई छिराउने खोज्नेहरुले अनेक-अनेक कुरा गरिरहेका थिए ।

यस्ता कुराहरु आएपछि त्यो छतमा आयोजित प्रजातन्त्र दिवसमा गणेशमानजीले भन्नुभयो- ‘यहाँ अहिले हामीले आउटपोष्ट कब्जा गर्नलाई यो नगरपञ्चायतको चुनावमा लडाउँदैछौं । हामीले हरिबोल भट्टराईलाई उम्मदेवार बनायौं । यहाँ आधार केही पनि छैन, चुनाव जित्दैन भन्छन् । मैले यहाँ लठ्ठी उठाए पनि यो नगरपालिकाको मेयरमा जिताउँछु भने हरिबोल भट्टराई त मान्छे हो । योग्य मान्छे हो । योग्यता भएको प्रखर वक्ता हो । विचार बुद्धि भएको योग्य कार्यकर्ता हो । सिद्धान्तनिष्ट कार्यकर्ता हो, उसले किन नजित्ने ?’

लठ्ठी उठाएर त जितिन्छ भने उ त मान्छे हो किन जित्दैन भन्ने अर्थमा उहाँले भाषण गर्नुभयो । र, पछि मैले जितें । त्यसपछि मान्छेले मलाई ‘गणेशमानको लौरो’ भनेर प्रचार गरेका हुन् ।

गणेेशमान-हरिबोल सम्बन्धः इतिहासको ‘फ्ल्यासब्याक’

आखिर, गणेशमान सिंहकै लौरो भनिसकेपछि हरिबोल भट्टराई र कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहवीचको सम्बन्ध-सेतु के हो ? यसबारेमा चर्चा गर्नु सान्दर्भिकै होला ।

किन पनि सान्दर्भिक होला भने, अहिले काठमाडौं क्षेत्र नम्बर १ मा गणेशमान सिंहको छोरो र गणेशमानको लौरोका वीचमा चुनावी भिडन्त हुन लागिरहेको छ ।

गणेशमान सिंहसँगको आफ्नो सम्बन्ध राजनीतिक बाहेक अरु केही नभएको हरिबोल बताउँछन् ।

भट्टराईकै शब्दमाः

गणेशमानले जुनबेला ००७ सालको क्रान्ति गर्नुभयो, त्यसबेला म केटाकेटी थिएँ । म २००३ सालमा त जन्मेको । ठूलो हुँदै गएपछि म अलि भावुक देखिन थालें । देशका लागि प्राण उत्सर्ग गरेका सहिदहरु भनेपछि भुतुक्कै हुने ।

गणेशमानजी भन्ने पनि सुनियो । उहाँ राणा शासनकालमै प्रजातन्त्रको पक्षमा लाग्नुभो । श्री ३ लाईसमेत थर्काउने क्षमता राख्नुहुन्थ्यो भन्ने सुनें मैले । जति कोर्रा हाने पनि उहाँले आत्मसमर्पण गर्नुभएन भन्ने सुनें । ०१६ सालमा उहाँ यातायात मन्त्री भएका बेला उहाँको भाषण सुनियो, महाकवि लक्ष्मीप्रसाद देवकोटाको १३ पुण्य तिथिमा ।

त्यसपछि गणेशमानजीको सौर्यबाट प्रभावित भइयो र यही कारणले म उहाँप्रति प्रभावित भएँ । उहाँप्रति मलाई अत्यन्तै श्रद्धा जाग्यो । उहाँलाई सम्झँदा पनि म रोमाञ्चित हुन्थें ।

म ०१६ सालदेखि नै सामाजिक कामहरुमा लागें । बानेश्वरमा बाटाघाटा बनाउने काममा लागेँ । यहाँका जति पनि संस्थाहरु छन्, त्यसको संस्थापकमा प्रायः म नै छु । रत्न पुस्तकालयको संस्थापक अध्यक्ष पनि मै हुँ। रत्नराज्य स्कुलमा प्रधानाध्यापक भएर स्कुल चलाएको पनि हुँ, क्याम्पस खुलेदेखिको अध्यक्ष पनि मै हुँ । अहिले पनि मै छु ।

राजा महेन्द्रले ०१७ सालमा प्रजातन्त्र खोसे । अब यसरी सामाजिक कामले मात्रै हुँदोरहेनछ, डेमोक्रेसी नै चाहिन्छ भनेर डेमोक्रेसीप्रति आकषिर्त भइयो । पञ्चायत आइसकेपछि वीपी, गणेशमानजीहरु थुनामा हुनुहुन्थ्यो । हामी काठमाडौंमै थियौं ।

वीपीहरु निर्वासनमा रहेका बेला मार्शलजुलुम शाक्यको नेतृत्वमा सुरक्षा कानूनअन्तरगत हामी जेल पर्‍यौं । वीपी जेलैमा छँदाछँदै हामीले बाहिर मुभमेन्ट गर्न थालिसकेका थियौंं ।

१५/१६ वर्षको हुँदा अमेरिकी दूताबासको लाइब्रेरी गइन्थ्यो । अब्रहम लिंकनको तस्वीर हेरिन्थ्यो, किताबहरु पढिन्थ्यो । त्यसले डेमोक्रेसी चाहिने रहेछ भन्ने हामीलाई परिसकेको थियो । राजा महेन्द्रले ०१७ सालमा डेमोक्रेसी निमोठेको पनि देखिएको थियो । कसले ल्याउँदैछ त डेमोक्रेसी भन्दा उनै वीपी र गणेशमानहरुलाई खोज्न थालियो । त्यसपछि अब के गर्ने त भन्दा नेपाली कांग्रेसमै लाग्ने भनेर समर्पित भइयो । जेल पर्न थालेपछि सक्रिय हुन थाल्यौं ।

रामराजाप्रसाद सिंहहरु ०२८ सालमा पञ्चायतको स्नातक चुनावमा आए । यही क्रममा रामराजा सिंहलाई भेटियो र स्नातकको चुनावमा रामराजा र दूर्गानन्द झाहरुलाई हामीले सघायौं । उनीहरुलाई जिताउनमा मैले ठूलो भूमिका खेलेको छु । काठमाडौंमा ४०/४५ दिन मैले नै हो अण्डर ग्राउण्ड राखिदिएको । तर, उनीहरुसँग मेरो लाइन मिल्दैनथ्यो, म नेपाली कांग्रेसमै हिँडें । दूर्गानन्दले वीपी कोइरालालाई ‘च्याम्पियन अफ लिबरिटी’ भनेका थिए, यसबाट रोमाञ्चित भएर मैले स्नातकको चुनावमा उनीहरुलाई सघाएँ ।

जेलबाट वीपी र गणेशमान निस्किइसक्नुभएपछि मलाई बोलाउन पठाउनुभयो । वीपीलाई भेट्न पारि गएका बेला त्यहीँ हो गणेशमानजीसँग भेट भएको । मेरो विचारमा उहाँसँग पहिलोचोटि भेट भएको ०२८ सालमा हो । उहाँसँगको भेट राजनीतिक शिवाय अरु कारण केही पनि छैन ।

म गणेशमानलाई अगाध श्रद्धा गर्थें । उहाँले पनि मलाई देख्नुभयो कि यो अलिकति चारित्रिक शुद्धता र वैचारिक निष्ठामा विश्वास राख्ने केटोे हो । यो केटो अलिअलि ट्यालेन्ट पनि छ र यो केटोले केही गर्छ । वीपीले पनि त्यही हिसाबले मलाई ग्रहण गर्नुभयो । त्यसकारण उहाँहरुले मलाई माया गर्न थाल्नुभयो । किसुनजीले मलाई त्यसैगरी मान्नुहुन्थ्यो । इमोसनल मान्छे भएको हुनाले गणेशमानजीसँग मेरो अलि बढी सामीप्य भयो ।

८ महिना काठमाडौंको मेयर !

पञ्चायतविरोधी अभियन्ता हरिबोल भट्टराई काठमाडौंका पूर्वमेयर समेत हुन् । यद्यपि उनी ८ महिनामात्रै मेयरको कुर्सीमा बसे ।

मेयर हुँदाको अनुभव फेरि हरिबोलकै शब्दमाः

काठमाडौं नगरपालिकाको मेयरमा मैले ०४३ सालमा जितें । ८ महिना काम गरेपछि पञ्चायतले मलाई हटायो । म आफूलाई किन मूर्ख हुँ भन्छु भने मलाई कुनै कुरामा चित्त बुझेन भने चुपलागेर बस्दिनँ । तर, म मूर्खचाहिँ हैन ।

हुन त काठमाडौंको मेयर बनेपछि मलाई देशभरिकै मान्छेले चिन्नुभयो । त्यसमाथि पनि मैले राजनीतिक अडान छाडिनँ ।

मेयर हुँदा पनि म पुस १ गतेको महेन्द्र जयन्तीमा गइनँ । बरु ८ महिनामा छाडेर फर्किएँ । नछाडेको भए गाडी चड्न त पाएकै थिएँ । तर, म त्यस्तो कुराको पछाडि लागिनँ ।

त्यसबेला किशुनजीले पनि हरिबोल, तिमीले नछाडे हुँदैन र भन्नुभएको थियो । मैले दोहोरो व्यवहार गर्न र आफ्नो निष्ठामा सम्झौता गर्न चाहन्न भनेर मेयर पद छाडिदिएँ ।

मैले छाडेपछि गणेशमानजी खुशी हुनुभयो । उहाँले यो हरिबोलको त मुखमै सरस्वती बसेको छ भन्नुहुन्थ्यो ।

हामी पामर, बेइमानहरु !

करुवा चुनाव चिन्ह लिएर काठमाडौं १ मा प्रतिनिधिसभाका लागि उम्मदेवारी दिएका भट्टराई विहीबार साँझ शंखमूल नजिकै आफ्नो घरमा आराम गरिरहेका थिए । किचेनमा बुहारी यताउति गरिरहेकी थिइन् । छेउमा नाति पनि खस्याङ-खुसुङ गरिरहेका थिए ।

यस्तो ७१ वर्षको उमेरमा बूढोमान्छेलाई प्रकाशमान सिंहकै मैदानमा ओर्लेर किन चुनाव लड्नुपर्‍या होला ? तिहारका बेलामा किन नयाँ पार्टी खोल्नुपरेको होला ?

यस्तो आशयको प्रश्न सुनेपछि भट्टराई एकाएक भावुक भएर । उनीभित्र केहीमात्रामा रौद्ररुप देखिन थाल्यो । आँखा पनि गोल गोल देखिए । अनि देशको अवस्था देखेर, सहिदलाई सम्झेर उनले सोफाबाटै छोटो प्रवचन दिए-

‘अहिले हेर्नोस् न । स्वाधीनताका निम्ति मैले राजनीति गर्ने, यत्रो जीवन उत्षर्ग गर्ने, मैले नेपालीका लागि राजनीति गरेको हुँ नि, मैले त युरोपियन युनियनका लागि पनि हैन, क्रिश्चियनका लागि पनि हैन, भारतका लागि पनि हैन, चिनियाँहरुका लागि पनि हैन । कसैका लागि त हैन नि ।

म त हिजै मर्न खोज्या नि त । मेरो देशका शहिदहरुले यिनीहरुले यसैगरी विदेशीको तलुवा चाटुन् भनेर प्रजातन्त्र ल्याइदिया हो ? यसैगरी भ्रष्टाचार गरेर खाओ भने र प्रजातन्त्र ल्याइदिया हो देशका शहीदहरुले ? हँ ? के प्राणको माया कसैलाई लाग्दैनथ्यो होला ? मरेर जानु भो त उहाँहरु ।

उहाँहरुले त यो देश बडा सुनकै टुक्रा हुन्छ भनेर जानु भो नि । जनताले सुनै पाउँछन् भनेर जानु भो नि त उहाँहरु । त्यो रिस्क लिएर प्राण आहुती गर्ने एकाथरि हाम्रै दाजुभाइ, अनि हामी पामर बेइमानहरु चाहिँ भोलि मन्त्री भइन्छ भनेर विदेशीको तलुवा चाट्ने ? अनि सांसद र मन्त्री हुनका लागि अनेकथोक गर्ने ? संसदमा गएर जनताको पक्षमा नीति र कानून बनाउँछु भनेर पो जाने त, गाडी चढ्छु, पैसा कमाउँछु भनेर जानु त अपराधै हो नि । यस्ता यस्ता कुराहरुले मलाई फेरि अगाडि बढ्न घच्घच्याएको हो ।’

अब एकछिन अन्तरवार्ताको शैलीमा प्रस्तुत भइयोः

उसोभए देशको दुरावस्था देखेर तपाईलाई यो ७१ वर्षको उमेरमा चुनाव लड्ने जोश आएछ, हैन त ?

हैन, हैन । मानिसको शरीर शिथिल हुँदै जान्छ, विचार शिथिल हुँदैन । विचार र भावना भन्ने कुरा कहिल्यै सिथिल हुँदैनन् । जस्तो- आत्मा र चेतना मर्दैन भन्छन् नि । मैले अहिले आफ्नो देश र जनताप्रतिको जुन चेतनाको कुरा गरिराख्या छु, म जेबाट प्रोत्साहित र प्रेरित भएर राजनीतिमा लागें नि, त्यो त उही छँदैछ नि । यो त मर्दैन नि ।

तपाईको पार्टीले थ्रेसहोल्ड कटाउला त ?

थ्रेसहोल्ड कट्छ । समानुपातिकमा हामीले सयभन्दा माथि नै संख्यामा उम्मेवारी दिएका छौं । समानुपातिकमा राम्रो भोट आयो भने थ्रेसहोल्ड कटिहाल्छ ।

तपाईले काठमाडौं क्षेत्र नम्बर १ मै उम्मदेवारी दिनुको कारण के हो ?

म जन्मेको १ नम्बरमै हो । यहाँका बाटाघाटाहरु बनाउँदा लुगाभरि धूलो लगाएर ईंटा बोकेको पनि मैले यहीँ नै हो । सामाजिक कामहरु गरेको यहीँ नै हो । मुख्य-मुख्य संघसंस्थाहरुमा काम गरेको पनि यहीँ नै हो । राजनीतिक जीवन पनि शुरुवात गरेको मैले यहीँ नै हो । म जेलनेल गएको पनि यहीँ ठाउँबाट हो । ०४३ सालमा काठमाडौंको मेयर जिताउने प्रमुख मतदाताहरु यहीँ काठमाडौंकै हुन् ।

तर, यही क्षेत्रबाट गणेशमान सिंहका छोरा प्रकाशमान पनि त चुनाव लडेका छन् नि ?

(आक्रोशित हुँदै) गणेशमानको छोरा भन्नेवित्तिकै फेरि मलाई रीस उठ्छ । अघि तपाईले कमल थापाको नाम लिँदा पनि तपाईलाई कुटिदिउँजस्तो लागेको थियो ।

किन ? गणेशमानको छोरा प्रकाशमान सिंह भन्दा किन रीस उठेको ?

लिगेसी वीर्यको हुँदैन, विचारको हुन्छ । लिगेसी भनेको वीर्यको हुँदैन क्या । वीपीको विचार बोक्नेले नै उनको लिगेसी अघि बढाउने हो । गणेशमानजीको विचारलाई बोक्नेले नै उनको लिगेसी बोक्ने हो । गणेशमानको लिगेसी बोक्नेले उहाँको जस्तो त्याग र निष्ठा बोकेर हिँड्न सक्नुपर्‍यो नि त ।

के प्रकाशमान सिंह आफ्ना पिता गणेशमानको लिगेसी बोक्न योग्य छैनन् र ?

प्रकाशमानलाई म धेरै अगाडिदेखि जान्दछु । प्रकाशमानको कुनै भिजन छैन । अध्ययनशीलता छैन । उनीसँग कल्चर पनि छैन । तपाईले सुन्नुभएको छ, उनले कतै विचारको कुरा गरेको ? तल्लो स्तरमा उनी लेनदेनमा पनि छन् । सम्पत्ति भइकन पनि लोभलालच गर्ने ।

मुलुकप्रति समर्पित भएर देशलाई बलियो पार्नुपर्छ, जनताको हितको रक्षा गर्नुपर्छ र त्यसका लागि मर्नै परे पनि तयार हुनुपर्‍यो नि नेता भनेपछि । कसैले भन्छन् नि, उही गणेशमानकै छोरो भएर मात्रै हो, होइन भने फुटपाथमा बसेर ममचा बेच्नेमान्छे हो भन्छन् क्या मान्छेहरु ।

काठमाडौं १ मा प्रकाशमानजस्तै तपाईका अन्य प्रतिस्पर्धी पनि छन्, जस्तै साझा विवेकशील पार्टीका रविन्द्र मिश्र चाहिँ तपाईलाई कस्तो लाग्छ ?

रविन्द्र मिश्र एउटा पत्रकार हुन् । काँचो कचिलो मान्छे क्या ! उनीसँग राजनीतिक हैसियत नै केही छैन । न उनीसँग जनताको पक्षमा केही काम गरेको, संघर्ष गरेको कुनै ट्रयाक रेकर्ड नै छ । एनजीओ आइएनजीओबाट केही कल्याणकारी कामहरु गरेको भए पनि त्यसको रेकर्ड त हुनुपर्‍यो नि । त्यसबाट उनले उठाएको पैसाले कुन ठाउँमा जनतालाई कति लाभ पुग्यो ? त्यो के छ ?

वाम गठबन्धनका उम्मेदवार अनिल शर्मा नि ?

क्रान्तिकारीका उनी व्यक्ति हत्याबाट आएका हुन् । मनुष्य कल्याणका लागि समर्पित हुनुपर्ने राजनीति हो, तर आतंक मच्चाउने, लुट्ने, कुट्ने, काट्ने, व्यक्ति हत्या गर्ने जस्ता पाशविक कुराहरु मानव सेवामा नमिल्ने कुराहरु हुन् । अहिले आएर जति जातीय क्षेत्रीय कुराहरु आएका छन्, यसको श्रेय यही माओवादीलाई छ ।

कांग्रेसले पनि त भोट माग्दा त मेरो नेवार एरिया, बाहुन एरिया भन्ने गरेकै छ नि ?

व्यक्तिले भन्ला । तर, कांग्रेसको सिद्धान्त त्यस्तो होइन । वीपीले परियारलाई पार्टीको महामन्त्री बनाउनुभएको थियो । वीपीसँग राईहरु हुनुहुन्थ्यो, चौधरी हुनुहुन्थ्यो, क्षेत्री हुनुहुन्थ्यो, नेवारहरु हुनुहुन्थ्यो ।

तपाई नवगठित पार्टीको प्रचारका लागिमात्रै उठ्नुभएको हो कि जित्नकै लागि ?

जित्नका लागि उठेको हो नि । चुनावी मैदानमा मान्छे किन जान्छ ? यहाँ मेरो जित्ने नै लक्ष्य छ ।

तपाईको चाहिँ जित्ने आधार के हो ?

एउटा त मैले यो क्षेत्रमा सामाजिक काम गरेको छु । अर्को, यो क्षेत्रबाट मैले जित्ने मुख्य आधार भनेको मेरो प्रजातन्त्रप्रतिको समर्पण र संघर्षशीलता हो । र, अर्को वीपी विचारप्रतिको मेरो निष्ठा हो । २२ वर्षअघि वीपी चिन्तन प्रतिष्ठान खोलेको पनि मैले नै हो । अर्को आधार भनेको यो क्षेत्रका जनतासँग म केटाकेटीदेखि नै छु ।

अर्को कुरो के हो भने मैले भ्रष्टाचार गरेको छैन । मेरो ट्रयाक रेकर्डबाट पनि सैद्धान्तिक विचलन देखिएको छैन । मैले मेयरका रुपमा पाएको सत्ता पनि छाडें, यस्तो कमै मान्छेले मात्र गर्छन् । नेताले नै नछोड् भनेका बेला नछाडेको भए पनि त हुन्थ्यो नि । तर, मैले छाडें । निष्ठामा अप्ठ्यारो पर्ने काम गर्नुहुन्न है किसुनजी भनेर उल्टो उहाँलाई नै सुझाव दिने मान्छे हुँ म ।

अहिलेका मान्छेहरु हेर्नोस् त कति निर्घिणी छन् । अहिलेका नेताहरुलाई नेता भन्न मन लाग्छ तपाईलाई ? अनि हामीले शेरबहादुरको कार्यकर्ता….. भएर हिँड्नु ? यस्तो कुरा मान्छेलाई पच्दैन नि । म त वीपीको, गणेशमानको कार्यकर्ता हुँ । कृष्णप्रसादको कार्यकर्ता भएर आएको मान्छे हुँ । देशका लागि त्याग गरेर आएको मान्छे हुँ । म रत्तिभर पनि कुनै कुरामा विचलित हुन्न भन्ने प्रमाणित भइसकेको छ ।

त्यसैले यदि जनताले साँच्चै बुझ्ने हो भने समाप्त हुन लागेको राष्ट्रियता र प्रजातन्त्रलाई ट्रयाकमा ल्याउनका लागि एउटा बलियो नेता रोज्नुपर्छ क्या । त्यस्तो निष्ठा, आस्था र मनोबल भएको र एकदम सशक्त अडान भएको नेता नभइकन यो अहिले बिगि्रएको, कुहिएको राजनीति ट्रयाकमा आउँदैन । यदि त्यस्तो मान्छे खोज्ने हो भने मजस्तो मान्छेलाई संसदमा पठाउनुपर्छ ।

चुनाव जित्छु भन्नुहुन्छ, खै त प्रचार प्रसार केही छैन त ?

प्रचार त मैले थालेकै छैन । घरदैलो अब भोलि पर्सिदेखि सुरु होला । अहिले त मेरो प्रचार सुरु नै भएको छैन । टेलीभिजनमा ४/५ वटा इन्टरभ्यु दिएँ, त्यति हो । दुईचा वटा एफएम/सेफएमहरुले कुरा गरे ।

राजनीतिमा तपाईले यति ठूलो त्याग र योगदान गर्नुभएको रहेछ, तर नयाँ पुस्ताले तपाईलाई चिनेकै छैनन्, भोट दिनका लागि त मतदाताले चिन्नुपर्‍यो होला नि ?

मलाई थाहा छैन । मलाई त्यहाँसम्म पुर्‍याउने काम त तपाई मिडियाको हो नि । म त पत्रकार हैन नि । म पत्रकार पनि हैन, केही पनि हैन । मैले त निष्ठाका साथ गर्दिने काम हो । मलाई जिम्मा दिए भने जिम्मा राम्ररी पूरा गर्दिन्छु । म अडानमा बस्छु । ज्यान जाला विचलन हुन्न म, कसैले काट्न आओस् कि, मार्न आओस् कि, गोली ठोक्न आओस् । पैसाको भकारी त के, संसारको सारा ढुकुटी लिएर आओस् कि, मलाई त त्यस्तो मान्छे देख्यो भने पिट्दिउँजस्तो लाग्छ । म बिक्ने मान्छे होइन ।

उम्मेदवार जतिसुकै राम्रो भए पनि मिडियाको अन्तरवार्ताले मात्रै जितिन्छ र ? पार्टीले पनि त हाम्रो उम्मेदवार यस्तो छ है भनेर प्रचारको काम त गर्नुपर्‍यो होला नि ?

हो, तपाईले व्यवहारिक कुरा गर्नुभयो । म पो बलियो छु त, मेरो पार्टी त बलियो छैन । म आत्मबलले बलियो छु, तर दुई रुपैयाँ पनि छैन मसँग । साधन स्रोत छैन ।

साधन स्रोत नभएकैले कतिपय जिल्लामा मेरो पार्टीले उम्मेदवारी नै दिन पाएन यसपालि । अनि कहाँबाट, के गर्ने भन्या ? हाम्रो पार्टी नै अस्ति लक्ष्मीपूजाका दिन त खोलेको हो । एक महिना पनि भएको छैन । त्यसैले साधन स्रोतको समस्या छ, संगठन साधन स्रोत नभई हुँदैन । विचार छ, आँट छ । अहिले हाम्रो पार्टीको संकट यही हो क्या ।

कमल थापा मण्डले, म डेमोक्रेटिक !

हरिबोल भट्टराईले नेपाली कांग्रेसबाट विद्रोह गरेर नयाँ पार्टी खोल्नुका मुख्य ५ कारण बताए । ‘सांस्कृतिक पहिचान ज्यादै अमूल्य कुरा हो, त्यसैले हिन्दुराष्ट्रको पहिचान हुनैपर्छ, यो गौरबशाली पहिचान हो,’ भट्टराईले भने, ‘मलाई नेपाली कांग्रेससँग चित्त नबुझ्नुको एउटा कारण के हो भने कांग्रेसले हिन्दुराष्ट्र छाड्यो । धर्मनिरपेक्षको मुद्दामा सही गर्‍यो ।’

धर्म निरपेक्षतासँगै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मुद्दासँगै सुशासनको मुद्दा र सनातन धर्मको मुद्दा यति ५ वटा कुरामा आफ्नो मूल पार्टीसँग मतभेद रहेको उनले बताए ।

के नेपाली कांग्रेसले संवैधानिक राजतन्त्र मान्नुपर्थ्यो ? संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र मान्ने हो भने कमल थापाको राप्रपा र हरिबोल भट्टराईको नयाँ पार्टीमा के फरक छ ?

कमल थापाको नाम लिनासाथ भट्टराई जंगिए । उनले भने- ‘कमल थापाको नाम लिने मान्छेलाई कुटिदिन मन लाग्छ ।’

भट्टराईले अगाडि भने- ‘कमल थापा फरक हो । ऊ मण्डले हो, हामी डेमोक्रेटिक हौं । जन्मजातै फरक छ, क्यारेक्टरै फरक छ । हरे बाबा, वीपीको कुरा त, अब्राहम लिंकनको कुरा गर्न पाइन्न ? नामै लिन नपाइने त कसैको पनि हुँदैन नि । हत्याराले पनि गौतम बुद्धको नाम लिन्छ । कमल थापाले वीपीको नाम लिन पाउँछन् ।’

कसरी स्खलित भयो नेपाली कांग्रेस ?

कांग्रेसभित्र बैचारिक एवं वौद्धिक व्यक्तित्वको छवि बनाएका भट्टराईसँग हामीले केही राजनीतिक-वैचारिक प्रश्नबारे विमर्श गर्‍यौं । नेपाली कांग्रेसले वीपीको बाटो छाडेको र ०४६ सालपछि गलत ट्रयाक समातेको उनले आरोप लगाए ।

नेपाली कांग्रेसको मूल्यांकन हरिबोल भट्टराईकै शब्दमाः

समय जति नै अगाडि बढे पनि वीपीको विचार सान्दर्भिक नै रहन्छ भन्ने मेरो विश्वास छ । वीपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भनेर कुरा गर्नुभो । वीपी कोइरालालाई बुझ्दाखेरि एउटा साधा र आत्मनिर्भर समाज, सुशासन एवं राजनीतिकरुपमा हेर्दाखेरि राजा र पार्लियामेन्ट । वीपीको मूल मन्त्र राष्ट्रियता प्रजातन्त्र र समाजवाद ।

राष्ट्र भनेको जनता हो । संस्कार र सभ्यता एउटा भएपछि मानिसलाई उठबस हुन सहज हुँदोरहेछ र तिनीहरु घुलमेल गरेर बस्छन् र राष्ट्र निर्माण हुन्छ । त्यसकारण संस्कृति यसको बलियो आधार हो । त्यसकारण हामी के भन्छौं भने नेपाल जन्मजात नै हिन्दु राष्ट्र हो । हिन्दु कल्चरले नै नेपाललाई राष्ट्रका रुपमा विकास गरेको हो ।

वीपीले भन्नुभएको थियो., जनता जनता नै हुनुपर्छ, जनता रैतीका रुपमा हुनुहुँदैन । अधिकार खोसेर, स्वतन्त्रता खोसेर कमजोर पारिएका, तेजोबध गरिएका रैचीहरुबाट जनतामात्रै प्रताडीत हुने होइनन्, देशको उन्नतिलाई पनि यसले कमजोर पार्छ, त्यसैले प्रजातन्त्र चाहिन्छ भनेर उहाँले भन्नुभएको हो ।

त्यसैगरी उहाँले समाजवाद भन्नुभयो । पहिले समृद्धिमा पुग र समृद्धि वितरण गर । गरीब पनि त हाम्रो सदस्य हो । विदेशीहरुले सोसियल सेक्युरिटीका कुरा पनि गरेका छन् । वीपीले अवसर सबैलाई देउ भन्नुभयो । अमेरिकातिर पनि सोसियल स्किम बनाउँछन् । कहीँ सोसियल सेक्युरिटी भन्दछन्, कोहीले राहत भन्लान् । अहिलेको संसारमा पूजीँवादीले पनि यो अनुभूति गरेका छन् ।

राष्ट्रिय योजना आयोगमा राजाको फोटो रहेछ, ठीकै छ, तर तपाईहरुले किसानको तस्वीर पनि राखेर योजना बनाऊ भन्नुभयो, वीपीले । भनाइको मतलब सबैभन्दा गरीब मान्छेलाई हेर भन्नुभएको थियो ।
तर, वीपी कोइरालाबाट प्रदत्त व्यवहारिक र सत्यतामा आधारित सिद्धान्त हुँदाहुँदै हामीले अर्काको बैखाशी टेक्नुपर्ने जरुरी थिएन । तर, कांग्रेसले यो सिद्धान्त छाड्यो ।

अर्को, चरित्रगत हिसाबले भ्रष्टाचार बढ्यो । सम्पत्ति र पदप्रतिको साह्र नै लुब्धता नेताहरुमा देखियो । यसले नेताहरुको मनोबललाई चकनाचुर पार्नु स्वाभाविकै हो । यस्तो निकृष्ट मनोवृति लिएर देशको नेतृत्व गर्न सकिने कुरा पनि भएन ।

वीपीले भनेजस्तो हामीले सुशासन पनि दिन सकेनौं । कानूनी राज्य पनि हामीले गराउन सकेनौं । देशको मौलिकता, धर्म संस्कृति र पहिचानलाई पनि जोगाउन सकेनौं । गरीबमुखी नीति लिन सकेनौं । गरीवीको खाडल बढ्दै गयो र एउटा सानो समूहमात्रै धनी हुने किसिमको नीति हामीले लियौं । यो पनि हाम्रा लागि घातक भयो ।

आखिर किन यस्तो हुँदै गयो त ? वीपी कोइरालाले त्यति राम्रो विचार दिँदादिँदै पनि त्यो विचारलाई छाडेर मुलुकलाई यस्तो बाटोमा कसले लग्यो ? किन लग्यो ?

हाम्रो राजनीति कहाँबाट बिगि्रयो भने ०४६ सालसम्म निरंकुशताका विरुद्ध लडिरहँदासम्म हामी ठीक थियौं । बहुदलीय प्रजातन्त्र हाम्रो एकबुँदे एजेण्डा थियो, त्यसैमा हिँडेका हिँड्यै थियौं । सफल पनि भयौं ।

त्यसपछि राष्ट्रियतालाई जगेर्ना गर्ने काममा हामी विस्तारै कमजोर हुँदै गयौं । ०४६ पछि जब हामीले बहुदलीय व्यवस्था स्थापना गर्‍यौं, त्यसबेला हामीले साँच्चै नै चनाखो भएर यसका मूल्य र मान्यताहरु स्खलित हुन नदिन चनाखो हुनुपथ्र्यो । किनभने, विचारका साथसाथै चरित्र पनि चाहिन्छ, चरित्र भएन भने विचार स्खलित भएर जान्छ भन्ने कुरो बुझ्नुपथ्र्यो हामीले । यहाँनेर हामीले बुझ्न सकेनौं ।

किन बुझ्न सकेनौं जस्तो लाग्छ भने, वीपीले भन्नुभएको थियो, कम्युनिष्टहरुसँग मिलेर आन्दोलन नगर्नू । हामीले प्रजातन्त्र ल्याउनका लागि सबैलाई साथ लिएर जाऔं भनेर उनीहरुलाई पनि साथमा लिएर हिँड्यौं । र, त्यो तत्व हावी भएर आयो ।

कम्युनिष्ट तत्व यसरी हावी भएर आयो कि उ त प्रोपोगान्डा गर्न सिपालु थियो । तर, उनीहरुलाई समेत लिड गरेर डेमोक्रेटिक कल्चरमा हामी हिँड्न सकेनौं । त्यसरी आएका कम्युनिष्टहरुलाई डेमोक्रेटिक कल्चरमा ड्राइभ गरेर लिएर जाने सामथ्र्य चाहिँ हामीसँग भएन । वीपी कोइरालाजस्तो नेता भएको भए त हुन्थ्यो होला । तर, नेतृत्व नभएको हुनाले भएन ।

कम्युनिष्ट तत्वको सत्ता नै मुख्य लक्ष्य थियो, अरु आदर्श उनीहरुका थिएन । हामी पनि त्यसैको होडबाजीमा जान लाग्यौं । हाम्रा साथीहरुले पनि कम्युनिष्ट अघि बढेकोमा अत्यासमा परेर आफ्नो धर्म छाडे र सत्तैका लागि लाग्न थाले । डेमोक्रेटिक मूल्य र मान्यतालाई हाम्रा साथीहरुले पनि छाड्दै गए ।

माहात्मा गान्धीले भन्नुभएको थियो, नैतिकता विनाको राजनीति पापाचार हो । त्यसैले प्रजातान्त्रिक हुने हो भने नैतिकतामा बस्नैपर्छ र उसले केही आदर्श मूल्य मान्यताहरुलाई मान्नैपर्छ ।

आफूले मात्रै खाने, आफूमात्रै सत्तामा जाने र भ्रष्टाचारका लागि जे पनि गर्नेतिर हाम्रा साथीहरु जान थाले । सबै प्राप्तिको खेलमा एकोहोरिए । अल्मिलिए । यसले गर्दा हाम्रै संघर्ष गरेर आएका साथीहरु भ्रष्टाचार गर्न थाले । कति त अहिले पनि भ्रष्टाचारको मुद्दा खेपेर बसेका छन् ।

हुन त त्यसबेला कांग्रेसका मान्छेलाई खोजी खोजी सिध्याइयो । कम्युनिष्टका कम मान्छेले भ्रष्टाचार गरेका छन् र ? ती कम्युनिष्टलाई अहिलेसम्म जोगाएर राखिएको छ ।

कांग्रेसको मात्रै दोष छ कि दरबारको पनि ?

दरबारले पनि भयंकर लुज गर्‍यो । राजा महेन्द्रले समय नै बुझ्न सक्नुभएन । वीपी कोइरालाजस्तो एउटा भिजन भएको डाइनामिक मान्छे, राजनेताजस्तो मान्छ, देशको माया गर्ने र संसारमै देशको ख्याती चम्काउऔं भन्ने मान्छे हुनुहुन्थ्यो । छिमेकीले हस्तक्षेप गर्न लाग्यो भने वीपीले तत्कालै पन्छाइदिनुहुन्थ्यो । त्यस्तो मान्छेलाई महेन्द्रले साथमा लिएर हिँडेको भए अहिलेसम्म हाम्रो देश बलियो हुन्थ्यो, बाहिरबाट पनि कसैले हस्तक्षेप गर्न पाउँदैनथ्यो । यो कुरो महेन्द्रले गरेनन् र बिगारे ।

महेन्द्रले बिगारेपछि वीरेन्द्रले आए । उनले एकचोटि त्यो कोर्ष करेक्सन गर्न खोजे । तर, सुरुमा उनलाई दरबारियाहरुले दिएनन् । दरबारियाको चंगुलबाट उहाँ पनि बाहिर निस्कन सक्नुभएन । भनिन्छ, राजा महेन्द्रले पनि बुझेर अलिकति करेक्सन गर्न लागेका थिए, तर ०२९ सालमा उनको निधन भयो । तर, त्यो कुरा देखिएन ।

बहुदल आउने बेलामा ०४६ सालमा इण्डियनहरुले यतिसम्म पनि भने कि बहुदल पक्षको आन्दोलन हामी दबाउँछौं, तर तिमीले भुटानको स्टाटसमा बस्नुपर्‍यो । वीरेन्द्रले त्यो कुरा मानेनन् । वीपीले भनेजस्तो राजाले गद्दीकै लागि पनि राष्ट्रियताको पक्ष लिए । र, आन्दोलन सफल भयो । वीरेन्द्रले त्यसबेला ठीकै गरे र उनी जनतामा पपुलर पनि भए ।

वीरेन्द्रले गणेशमानजीसँगको कुराकानीमा भन्नुभयो कि यो संवैधानिक राजतन्त्रको अभ्यासमा म विल्कुल नयाँ छु, संवैधानिक राजाको इन्स्टिच्युसन चलाउन पनि त एउटा नम्र्स चाहियो नि । त्यसकारण म कतै अल्मलिएँ भने मलाई बाटो देखाउनुहोला । यो कुरो गणेशमानजीले हामीसँग कुरा गर्दा भन्नुहुन्थ्यो । यही क्रममा कतिपय विषयमा वीरेन्द्रले सर्वोच्च अदालतलाई सोध्ने गरेका थिए । यसकारण वीरेन्द्रलाई धेरै दोष लगाउने ठाउँ छैन ।

तर, वीरेन्द्रलाई पनि क्लिन चिट चाहिँ दिँदैनन् विश्लेषकहरु । जस्तो- उनले पनि आफ्ना केही मान्छे राजदूत बनाउन प्रेसर गर्न थाले । अर्कोतिर धेरै नै अधिकारबाट च्यूत भइयो भन्ने ठानेर दरबारियाहरुले माओवादीको हिंसालाई अगाडि बढी नै रहोस् भन्ने ठाने । यसकारण वीरेन्द्रले पनि शुद्ध हृदयले संवैधानिक राजाका रुपमा रहेर प्रजातन्त्रप्रति प्रतिवद्धता देखाए भन्नेमा क्लिन चिट पाउँदैनन् । बाहिरबाट हेर्दा चाहिँ उनले प्रजातन्त्रका मूल्यहरुलाई धेरै कुल्चिएका छैनन् ।

अब यी ज्ञानेन्द्र भन्ने मान्छे त बेबकूफै हुनुहुँदोरहेछ । समय यहाँसम्म पुगिसक्यो, समय बुझ्नुहुन्न उहाँले । उल्टो उल्टो काम गर्नुहुन्छ। अहिलेको युगमा आएर म दाइजस्तो हात बाँधेर बस्दिनँ । टुलुटुलु हेरेर बस्दिनँ भनेे । हस्तक्षेप पनि गरे । ज्ञानेन्द्र संवैधानिक राजा भएर त बसेेनन् ।

गिरिजाप्रसाद र गणतन्त्र

कुराकानीका क्रममा हामीले हरिबोल भट्टराईसँग दुईवटा विषयमा उनको विचार बुझ्न खोज्यौंः एउटा गिरिजाप्रसाद कोइरालाको पछिल्लो राजनीतिक भूमिका र दोस्रो चाहिँ गणतन्त्रः
हाम्रो पहिलो प्रश्न थियो-

राजाले जतिसुकै दुःख दिए पनि वीपी कोइरालाले संवैधानिक राजतन्त्रको सिद्धान्त छाडेनन् । तर, गिरिजाले चाहिँ बारम्बार प्रजातन्त्र खोस्ने राजसंस्थालाई नै हटाएर गणतन्त्र ल्याए । यसमा के भन्नुहुन्छ ?

वीपीले आवेगमा आएर रियाक्सनमा राजनीति गर्नुभएन, गिरिजाचाहिँ आवेगमा आउने मान्छे पर्नुभो क्या । आवेगबाट आउने प्रतिक्रियामा झ्वाम्मै हाम्फाल्ने भएको हुनाले हामी दुर्घटनामा परेको हो । तर, यसको मूल दोषी ज्ञानेन्द्र हो । त्यसको रियाक्टमा आएर दोस्रो दोषी गिरिजा हो ।

दोस्रो प्रश्न- तपाईले यसलाई दुर्घटनामा भन्नुभयो, नेपाली कांग्रेस वीपीले गणतन्त्रलाई मान्छ कि मान्दैन ?

नेपाली कांग्रेस वीपीले अहिलेसम्म गणतन्त्र नै बोकेको छ । नेपाली कांग्रेस वीपीले संसदीय प्रजातन्त्र नै भनिराखेको छ । प्रजातान्त्रिक समाजवाद र राष्ट्रियता भनिराखेको छ । तर, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको अडानमा वीपी हुनुहुन्थ्यो भने नेपाली कांग्रेस वीपी त्यहाँनेर छैन । गणतन्त्रसँग हाम्रो असहमति छैन ।

यसलाई यसरी बुझौं- नेपाली कांग्रेस वीपी सैद्धान्तिकरुपमा राजसंस्थाका बारेमा वीपीको विचारसँग असहमत छैन । तर, व्यवहारमा त्यो क्षमता र हैसियतको राजा नेपालले पाउन सक्ने अवस्था देखिँदैन, त्यसकारण हाम्रो पार्टी राजा फर्काउने उद्यममा लाग्दैन ।

र, अन्तिम प्रश्न- हिन्दुराष्ट्रको पक्षधर भए पनि गणतन्त्रवादी नै हुनुहुँदोरहेछ, संघीयतालाई पनि मान्नुहुन्छ ?

देशलाई विदेशी तत्वहरुले प्रयोगशाला बनाएका छन् । उनीहरुको देशमा प्रयोग नगरिएका कुराहरु हाम्रोमा प्रयोग गर्न आइराखेका छन् । जस्तो हाम्रोमा जुन समानुपातिक भनेर राखिएको छ, यो उनीहरुको देशमा छैन ।

संघीयता ठाउँठाउँमा छ तर यहाँ आत्मनिर्णयको अधिकारसहित जातीय राज्य भनेर यहाँ उरालियो । संघीयता भएका ठाउँमा राज्य फुटेका पनि छन् । संघीयता भनेको धेरै किसिमका राज्यहरुलाई मिलाएर एकीकृत गर्दा र तिनीहरुलाई व्यवस्थापना गर्दा संस्कृति मिल्ने ठाउँहरुलाई राखेर त्यो किसिमको संरचना बनाउने कुरो हो । धेरै युनिटहरुलाई जोडेर एउटा बनाउनपर्ने भयो भने संघ हो ।

पूर्व अर्थमन्त्री डा. रामशरण महतले पनि संघीयता आर्थिकरुपले नेपालमा सम्भव छैन भन्नुभएको थियो, तर विदेशीको एजेण्डाका आधारमा संघीयता ल्याइयो । लहडमा हिँड्ने र विदेशी र यहाँका लहडीहरुले ल्याएका हुन् । यो दुर्भाग्य हो ।

समानुपातिकको प्रयोग पनि विदेशबाट नै आएको हो । मानवअधिकारका नाममा हाम्रो संस्कृतिमाथि अतिक्रमण गरियो । मानव अधिकार त हामी मान्छौं, नेपालको संस्कार संकृति नै समभावी छ, हाम्रो संस्कारै समभावी भएको हुनाले पश्चिमाहरुले हामीसँग मानव अधिकार सिक्नुपर्छ ।

डेमोक्रेसीलाई पनि हामीले बुझेका छौं । हामीसँग आफ्नै संस्कार संस्कृति छ र त्यो उच्च स्रतको छ । यस्तो सभ्यता, ज्ञान विज्ञान र दर्शन हुँदाहुँदै अर्काको संस्कार, संस्कृति र फेसनहरु, नौटंकी कुराहरुलाई ग्रहण गरियो । हामी आफैंसँग हिरैहिरा छन्, तर हामी काँचको झल्याक झुलुकका पछाडि दौडिराखेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment