Comments Add Comment

मैदानलाई चुम्दै अनिलले लिए विश्राम

२८ कात्तिक, काठमाडौं । सातदोवाटोस्थित एन्फा मैदानमा फिलिपिन्सबिरुद्ध खेल सकिएको जनाउ दिन रेफ्रीले अन्तिम सिठ्ठी बजाए लगतै नेपाली टोलीका कप्तान अनिल गुरुङ एकाएक भावुक भए ।

१० वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्तिम पलमा रहेका उनी मैदानभित्रै टिममेटबाट घेरिए । नेपाली टोलीका गोलरक्षक बिकेश कुथुले त काँधमा राखेर मैदान परिक्रमा गराउँदाको क्षण साँच्चिकै अभूतपूर्व थियो, जुन ३१ वर्षे स्ट्राइकर अनिल गुरुङका लागि जीवनभरको सम्झना हुनेछ ।

त्यसलगत्तै सेन्टरमा पुगेर उनले सम्मानपूर्वक मैदानमा ढोगे । ‘मेरो जीवन यही प्वाइन्टबाट सुरुभयो, सेन्ट्रल लाइन, आज मैले यो प्वाइन्ट र मैदानलाई यति श्रद्धा गर्छु कि यसले मलाई सबथोक दियो, नाम, दाम र सबैकुरा ।’

अनिलले राष्ट्रिय टिम आफूले सधैं मिस गर्ने बताए । उनले आफूलाई साथ र सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे ।

अनिलको विश्रम घोषणा यसअर्थमा भव्य बन्यो कि उनले अन्तर्राष्ट्रिय खेल खेल्दै विदा लिने मौका पाए । अन्तराष्ट्रिय खेल लगतै अखिल नेपाल फुटबल संघ एन्फाले आफ्ना खेलाडीलाई बिदाई गरेको यो पहिलो पटक हो ।

‘मैले फुटबल खेल्दै गर्दा यो सोचेको थिइनँ कि मैले यस्तो बिदाई पाउँछु, अहिले खुसी र दुखी दुवै छु’ भावुक अनिलले भने ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले उनको औपचारिक बिदाई गरेका थिए । मैदानमा उपस्थित समर्थकमाझ अन्तर्राष्ट्रिय खेलपछि भव्य बिदाईको सौभाग्य कुनै नेपाली खेलाडीलाई जुरेको थिएन ।

अन्तिम अन्तर्राष्ट्रिय खेलमा उनले करिव १० मिनेमात्रै खेले । सुजल श्रेष्ठलाई रिप्लेस गरी ८२औं मिनेटमा मैदान छिरेका अनिलको जोशमा कुनै कमी देखिएको थिए, जुन १० वर्ष अघि ११ कात्तिक २०६४ मा थियो ।

त्यो त्यही दिन हो, जुन दिन उनले दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गत ओमानविरुद्ध डेब्यू गरेका थिए ।

मंगलबार राष्ट्रिय टिमबाट ५० अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पूरा गरी उनले सन्यास लिएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि फुटबलबाट टाढिने छैनन् । घरेलु लिगमा अहिले मनाङ मर्स्याङदीमा आवद्ध छन् ।  ‘सकुन्जेल फुटबल खेल्ने’ आफ्नो योजना रहेको उनले सुनाए ।

३१ वर्षीय अनिल गुरुङ फुटबलको शहरकै रुपमा स्थापित भएको पोखराले जन्माएको उत्कृष्ट फुटबलरमध्येका एक हुन् ।

उनी पोखराको प्रतिष्ठित साहारा एकेडेमीका उत्पादन हुन् । साहारा फुटबल क्लवबाटै १३ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका उनी पछिल्ला दश वर्ष अधिकांश समय राष्ट्रिय टोलीमै छन् । सन् २०१४ मा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासँगै अन्य सिनियर खेलाडी म्याच फिक्सिङ प्रकरणमा परेपछि उनले नेपालको कप्तानीको जिम्मेबारी पनि निर्वाह गर्दै आएका थिए ।

पछिल्ला दुई वर्ष उनी राष्ट्रिय टिममा स्थान बनाउन संघर्षरत थिए । ढल्किँदो उमेर र फिटनेस समस्याका साथै टिममा युवा स्ट्राइकरहरुको आगमनले राष्ट्रिय टिममा उनको स्थान केहि खुम्चिएको थियो ।

यसलाई सकारात्मक रुपमा लिँदै उनले सन्यास लिने घोषणा गरे । ‘नयाँ भाइहरुले राम्रो खेलेका छन्, म फुटबलबाट टाढिए पनि नेपाली फुटबलले मेरो समयमा भन्दा राम्रो गर्नेछ’ जाँदाजाँदै उनी आशावादी देखिए ।

अनिलको फुटबल करिअर

१० वर्षअघि राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । पाकिस्तानबिरुद्ध घरेलु शहर पोखरामै २००८ मा भएको मैत्रीपूर्ण खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतबिरुद्ध गोल गरेयता उनी गोलबिहीन छन् । संयोग त अझ के छ भने उनले गोल गरेको कुनै पनि खेल नेपालले हारेको छैन ।

१० वर्षअघि भारतीय क्लब सिलोङ लाजोङमा तीन वर्षका लागि ६३ लाख रुपैयाँमा अनुबन्धित भएका अनिल त्यस समयका सबैभन्दा महंगा नेपाली खेलाडी समेत बनेका थिए । अनिलको यस उपलब्धीले त्यतिबेला नेपाली फुटबलका लागि बेञ्चमार्क नै बनेको थियो ।

त्यसअघि उनी इंग्ल्याण्डको शीर्ष डिभिजनको क्लव चेल्सीको रिजर्भ टिमका साथसाथै तल्लो डिभिजनको बोकिङ फुटबल क्लवमा ट्रायलका लागि छानिएर चर्चामा आएका थिए । भलै उनले त्यहाँ सफलता हासिल गर्न सकेनन् ।

२०६० सालमा ब्रिगेड ब्वाइज क्लवबाट ए डिभिजन लिगमा डेब्यू गरेका अनिलले २०६३ सालको ए डिभिजन लिगमा मनाङ मर्स्याङदीबाट सर्बाधिक गोलकर्ताको पुरस्कार पाए । मनाङले जितेको त्यस लिगमा उनले ३२ गोल गरेका थिए । त्यसअघिको एक सिजन उनले थ्रीस्टारबाट पनि खेले ।

त्यसयता न्युरोड टिम एनआरटी र भारतीय क्लव सिलोङ लाजोङ हुँदै २०६८ सालमा पुनः मनाङ मर्स्याङदी फर्किए । उनकै कप्तानीमा मनाङले २०७० सालको ए डिभिजन लिगको उपाधी जितेको थियो । त्यसयता नेपालमा ए डिभिजन लिग फुटबल आयोजना भएको छैन ।

 

१० वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरमा उनलाई जीवनभर खड्किने कुरा के छ भने यसबीचमा उनी सम्मिलित टोलीले नेपाललाई साफको उपाधि जित्न सकेन । सन् २०११ र २०१३ को साफ च्याम्पियनसिपमा सेमिफाइनलमा पराजित हुनु नेपालका लागि ठूलो झड्का थियो ।

तर, २०१६ मा उनीसहितको टोलीले नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाएको छ, जुन नेपालले अहिलेसम्म जितेको एसियाली स्तरको ठूलो प्रतियोगिता पनि हो ।

यो पनि पढ्नुस्

अनिलको अन्तिम खेलमा नेपालले फिलिपिन्ससँग बराबरी खेल्यो

तस्वीरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment