Comments Add Comment

चितवनका ६ वटा प्रदेशसभामा कसले मार्दैछ बाजी ?

५३ को उम्मेदवारी, १२ भाइबीच प्रतिस्पर्धा

२९ कात्तिक, चितवन । तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा ६ जना प्रदेशसभाका सदस्य निर्वाचित बन्नेछन् । ६ जनाका लागि ५३ जनाको उम्मेदवारी परेको छ ।

वाम गठवन्धनबाट एमालेले ४ र माओवादीले २ स्थानमा मात्रै उम्मेदवार उठाएका छन् । लोकतान्त्रिक गठवन्धनका तर्फबाट कांग्रेसले ६ वटै प्रदेश क्षेत्रमा उम्मेदवारी दिएको छ । राप्रपा प्रजातान्त्रिकले प्रदेशमा एउटा पनि उम्मेदवारी दिएको छैन ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसले राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई सर्मथन गरे पनि प्रदेशमा भने राप्रपा (प्रजातान्त्रिक) लाई कुनै दिइएको छैन ।

प्रदेशका उम्मेदवारहरुको सूची हेर्दा क्षेत्र नं १ (क) मा १० जना र (ख) मा १० जना गरी कुल २० उम्मेदवार छन् ।

त्यसैगरी क्षेत्र नं २ (क) मा ९ जना र (ख) मा १० जना गरी १९ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ३ (क) मा ७ जना र (ख) मा ७ जना गरी १४ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशसभाका लागि दुवै गठबन्धनबाट नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्ता छन् वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारः

दावा दोर्जे VS धनबहादुर गुरूङ

जनजाति बाहुल्य रहेको क्षेत्र नम्बर १ (क) मा वामपन्थी गठवन्धन र लोकतान्त्रिक गठवन्धन दुवैले जनजाति पृष्ठभूमिका नेतालाई उम्मेदवार बनाएका छन् ।

अधिकांश तामाङ समुदाय र विकट भेगमा सीमान्तकृत चेपाङ जातिको मूल वसोवासको थलो यही क्षेत्रमा पर्छ ।

यो प्रदेश क्षेत्रबाट विवेकशील साझा पार्टीका ईश्वर ढुंगाना, नेपाली कांग्रेस वीपीकातर्फबाट गोविन्दप्रसाद रिजाल, नयाँ शक्ति पार्टीका भवानीदेवी घिमिरे, नेकपा मालेका चुडाबहादुर चेपाङ र वैद्य माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रकाशवावु खनाल पनि उठेका छन् ।

त्यसैगरी राजपाका राजकुमार बर्तौला, राष्ट्रिय जनमोर्चाका वासुदेव पाध्या र कमल थापा नेतृत्वको राप्रपाका वीरबहादुर विसुराल पनि प्रदेश १ (क) मा उम्मेदवार छन् ।

वाम गठवन्धनका तर्फबाट उम्मेदवार बनेका दावा दोर्जे लामा एमाले प्रदेश नं ३ का सदस्य हुन् ।

कांग्रेस उम्मेदवार धनबहादुर गुरुङ मजदुर नेता हुन् । कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका गुरुङ समाजसेवीसमेत भएर काम गरेकाले आफूले जित्ने दाबी गर्छन् ।

तर, वामपन्थी रुझान भएको क्षेत्र भएकाले यो प्रदेश क्षेत्र (क) मा एमाले माओवादी गठवन्धन कांग्रेसका लागि निकै भारी पर्ने देखिन्छ । एमाले नेता सुरेन्द्र पाण्डे र जागृतप्रसाद भेटवालको मूल प्रभाव क्षेत्र यहीँ पर्छ ।

राप्ती नगरपालिकाको अधिकांश भूभाग र खैरहनी नगरपालिकाको ३, ६, ७, ८, ९, १० र ११ नम्वर वडा यो प्रदेश क्षेत्रमा पर्छन् । यहाँ कुल ५५ हजार ५ सय ४४ मतदाता छन् भने २६ मतदान स्थल र ६३ वटा मतदान केन्द्र छन् ।

गत स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाकाका १३ मध्ये ११ वडा एमाले एक्लैले जितेको थियो । वडा नं ९ र १२ मात्रै कांग्रेसले जितेको थियो । खैरहनी नगरपालिकाको ७ वटा वडा मध्ये ६ वडा एमालेले जितेको थियो । बाँकी १ वडा कांग्रेसको भागमा परेको थियो ।

कृष्ण खनाल VS उत्तम आचार्य

क्षेत्र नम्बर १ (ख) मा वामपन्थी गठवन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले चितवनका जिल्ला इञ्र्चाज एवम् वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल कांग्रेसका स्थानीय नेता उत्तम आर्चायसँग चुनावी प्रतिस्पर्धामा छन् ।

यो प्रदेश क्षेत्रमा आर्चाय र खनालका साथै नेमकिपाका तुलसी सापकोटा, राष्ट्रिय समाजवादी पार्टी नेपालका धनबहादुर थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पिताम्वर आर्चाय, विवेकशील साझा पार्टीका विनय ढुंगाना, राष्ट्रिय जनमोर्चाका मेघनाथ उपाध्याय, देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठा, नयाँ शक्ति पार्टीका यदुकृष्ण भट्ट र नेकपा मालेका विक्रम कुमालको उम्मेवारी परेको छ ।

खैरहनी नगरपालिकाको वडा नं १, २, ४, ५, १२ र १३ र रत्ननगर नगरपालिका यो प्रदेश क्षेत्रमा पर्छ ।

गत स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालिका एमाले एक्लैले जितेको थियो भने खैरहनीका ६ वटा वडामध्ये एमालेले १ र बाँकी ५ वडा कांग्रेसले जितेको थियो । त्यस्तै रत्ननगर नगरपालिकाका १६ वडामा १० वटा वडा एमाले र ६ वटा कांग्रेसले जितेको थियो ।

गत संविधानसभा निर्वाचनमा साविक चितवन निर्वाचन क्षेत्र नं २ मा एमालेबाट उम्मेदवार बनेर कांग्रेसका नेता शेषनाथ अधिकारीसँग थोरै मतान्तरले खनाल पराजित भएका थिए । उनी यसपटक प्रतिनिधिसभा छाडेर प्रदेश क्षेत्रको उम्मेदवार बनेका छन् ।

एमाले चितवनका जिल्ला अध्यक्षसमेत रहिसकेका खनालले कांग्रेसका तर्फबाट उम्मेदवार उत्तम आर्चायको सामना गर्नुपर्नेछ । आचार्य कांग्रेसका पुराना नेता हुन् । नेविसंघ चितवनका पूर्वअध्यक्षसमेत रहेका आचार्यले अहिलेसम्म आफूले कुनै राजनीतिक लाभको पद नलिएको बताउँछन् ।

प्रतिस्पर्धी उम्मेदवार खनालको पूर्व परीक्षण भैसकेको र पराजित बनेकाले यसटपक आफूले जित्ने दाबी आर्चायको छ । उता, वाम गठवन्धनका उम्मेदवार खनाल भने, आर्चायको पराजय निश्चित रहेको वताउँछन् ।

घनश्याम दाहाल VS जितनारायण श्रेष्ठ

क्षेत्र नम्बर २ (क) मा वाम गठवन्धनका तर्फबाट माओवादी जिल्लाका सहइञ्चार्ज एवं केन्द्रीय नेता घनश्याम दाहाल उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठवन्धनका तर्फबाट कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

यो प्रदेश क्षेत्रमा नयाँ शक्ति पार्टीबाट अवुल कलाम, विवेकशील साझा पार्टीबाट जगदीश पन्त, राष्ट्रिय जनमोर्चाबाट डम्वरबहादुर जैसी, राप्रपाबाट तिलकबहादुर गुरूङ, नेमकिपाबाट पदमबहादुर थापामगर, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट वुद्धीलक्ष्मी स्याङ्तान र देशभक्त गणतान्त्रिक मोर्चाबाट विष्णुप्रसाद रिजाल गरी ९ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाको सबैभन्दा कठिन र विकट भूगोल यही प्रदेश क्षेत्रमा पर्छ । अधिकांश चेपाङजातिको बसोबासको मूल थलो र आदिवासी जनजाीत बहुल क्षेत्र यहाँ छ ।

कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको १,३ र २९ यो प्रदेश क्षेत्रमा पर्छ ।

गत स्थानीय निर्वाचनमा कालिका नगरपालिका एमालेले र इच्छाकामना गाउँपालिका कांग्रेसका जितेका थिए ।

महानगरको वडा नं १ र ३ कांग्रेसले र वडा नं २९ एमालेले जितेको ठाउँ हो । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं ३ माओवादीले जितेको थियो ।

यो प्रदेशमा वाम गठबन्धनभन्दा कांग्रेसको आधार बलियो रहेको मानिँदै आएको छ ।

प्रदेश २ (क) मा ५२ हजार २ सय ९८ मतदाता छन् ।

विजय सुवेदी VS प्रकाश अधिकारी

क्षेत्र नम्बर २ (ख) मा लोकतान्त्रिक गठवन्धनबाट प्रकाश अधिकारी उम्मेदवार बनेका छन् । जिल्लाको कांग्रेसको राजनीतिमा अधिकारीलाई स्वच्छ र इमान्दार छवि भएका व्यक्तिका रुपमा लिइन्छ ।

अधिकारी अहिले कांग्रेसका महासमिति सदस्य हुन् । उनी नेपाल प्राध्यापक संघका केन्द्रीय महासचिव र नेविसंघ चितवनका पूर्वअध्यक्षसमेत हुन् ।

यहाँ वाम गठबन्धनका तर्फबाट एमाले नेता विजय सुवेदी उम्मेदवार छन् । सुवेदी एमाले चितवनको ४ पटकसम्म पार्टी प्रमुख चलाएका नेता हुन् । यहाँबाट एमालेले पार्टी जिल्ला उपाध्यक्ष तेजेन्द्रबहादुर खड्कालाई सिफारिस गरेको थियो । खड्काले टिकट पाएनन् र सुवेदीले पाए ।

वाम गठवन्धनका तर्फबाट उम्मेदवार रहेका सुवेदी वृहत्तर चितवन गुरुयोजना निर्माण समितिका संयोजक र भरतपुर अस्पतालको पूर्वअध्यक्ष हुन् ।

सुवेदी र अधिकारीका अतिरिक्त यो प्रदेश क्षेत्रबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका खड्कबहादुर कुँवर, संघीय समाजवादी नेपालबाट जयराम रम्तेल, राष्ट्रिय शिव सेना पार्टीबाट नवराज क्षेत्री, नेपाल मजदुर किसान पार्टीबाट मेनुका थापामगर, नयाँ शक्ति पार्टीबाट राजेश्वर रेग्मी, विवेकशील साझा पार्टीबाट रामचन्द्र तिमिल्सिना, राप्रपाबाट विष्णुप्रसाद खराल, नेकपा मालेबाट सरस्वती शर्मा उम्मेदवार छन् ।

यस प्रदेश क्षेत्रमा ५५ हजार ९ सय १७ मतदाता छन् । यहाँ १२ वटा मतदानस्थल र ५९ वटा मतदान केन्द्र तोकिएको छ ।

यो प्रदेश क्षेत्रमा भरतपुर महानगरपालिकाका ७ वटा वडाहरु पर्छन् । गत स्थानीय निर्वाचनमा यी सवै वडाहरु एमालेले जितेको थियो । महानगरका वडा नं २, ४, ५, ७, १०, ११ र १२ यो प्रदेश क्षेत्रमा पर्छन् ।

दिनेश कोइराला VS कृष्ण भूर्तेल

क्षेत्र नम्बर ३ (क) मा भरतपुर महानगरको निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरको टिकट पाएर पनि रेणु दाहाललाई समर्थन जनाएका दिनेश कोइराला उठेका छन् । यो प्रदेश क्षेत्रबाट वाम गठवन्धनका तर्फबाट एमालेका नेता कृष्ण भूर्तेल उम्मेदवार छन् ।

सादगी र त्यागी जीवन बिताएका भूर्तेल र कोइरालाको कडा प्रतिस्पर्धा यहाँ हुने देखिन्छ । भूर्तेल २०५४ सालमा साविक मेघौली गाविसका अध्यक्ष थिए । जिल्ला विकास समिति चितवनमा एमालेको तर्फबाट पार्टी प्रतिनिधि भएर लामो समय काम गरेका उनले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष बनेर काम गर्दै आएका छन् ।

त्यसैगरी विद्यार्थी राजनीतिबाट आएका कांग्रेस नेता कोइराला कांग्रेसका समकालीन नेताहरुभन्दा बढी इमान्दार मानिन्छन् ।

यहाँबाट भूर्तेल र कोइरालाका अतिरिक्त नेपाल दलित पार्टीका जंगबहादुर सुनार, राष्ट्रिय जनमुक्ति पार्टीका जंगबहादुर पुनमगर, देशभक्त जनगणतान्त्रिक मोर्चाका बाबुराम प्यासी परियार, नयाँ शक्तिका मंकुमाया गुरुङ र राप्रपाका सनबहादुर गुरुङ गरी ८ जना उम्मेदवार छन् ।

यो प्रदेश क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नं ६, ८, ९, १५, १६, १७, १८, १९, २०, २६, २७ र २८ नम्वर गरी १२ वटा वडा पर्दछन् ।

गत स्थानीय चुनावमा ३ वटा वडा एमालेले, एउटा माओवादीले एक वडाध्यक्ष जितेको थियो । यहाँबाट कांग्रेसले ८ वटा वडाहरु जितेको थियो ।
यस प्रदेश क्षेत्रमा ६८ हजार ३ सय ६२ मतदाता छन् । यहाँ २९ वटा मतदानस्थल र ७९ वटा मतदान केन्द्र छन् ।

यहाँ वाम गठवन्धनलाई लोकतान्त्रिक गठवन्धनले राम्रै टक्कर दिने देखिन्छ । यही क्षेत्रको मतको प्याट्रनले क्षेत्र नं ३ को समग्र मतपरिणामलाई प्रभाव पार्ने निश्चित छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि समेत टाउको दुखाइको क्षेत्र यही नै हो । यहाँ माओवादी अपेक्षाकृत रुपमा कमजोर छ ।

साजन महतो VS रामलाल महतो

प्रदेश ३ (ख) मा मामा-भाञ्जा नाता पर्ने दुई थारु उम्मेदवारवीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ । कांग्रेस उम्मेदवार साजन महतो उनका मामा रामलालसँग चुनावी प्रतिस्पर्धामा छन् ।

साजन वाम गठबन्धन उम्मदेवार रामलालका दिदीका छोरा हुन् । साजन महतो लोकतान्त्रिक गठवन्धनका उम्मेदवार हुन् भने, रामलाल महतो वाम गठवन्धनका उम्मेदवार हुन् ।

वाम उम्मेदवार रामलाल महतो माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटिका सदस्य हुन् । भरतपुर अस्पतालको अध्यक्षसमेत भएर रामलालले काम गरिसकेका छन् । त्यसैगरी साजन महतो कांग्रेस चितवन जिल्ला प्रवक्ता हुन् । युवा नेता महतो महासमिति सदस्यसमेत छन् ।

रामलाल र साजनका अतिरिक्त यो प्रदेश क्षेत्रबाट राप्रपाका गिरबहादुर तामाङ, नयाँ शक्तिका तुलाराम विक, विवेकशील साझा पार्टीका दीर्घराज सापकोटा, देशभक्त जनगणतान्त्रिक मोर्चाका देवीलाल पौडेल, संघीय समाजवादी फोरम नेपालबाट पारस सहनी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ललितकुमार चौधरीसमेत गरी ८ जनाको उम्मेदवारी परेको छ ।

यस प्रदेश क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका वडा नं १३, १४, २१, २२, २३, २४ र २५ नम्वर वडा यो क्षेत्रमा पर्छ ।

गत स्थानीय चुनावमा माडी नगरपालिकाको मेयर माओवादी केन्द्रले जितेको थियो भने अधिकांश वडा एमालेले जितेको थियो । महानगरका ७ वडामध्ये माओवादीले २, एमालेले ३ र कांग्रेसले २ वटा जितेका थिए । वाम गठवन्धनका लागि अधीक मत यही प्रदेश क्षेत्रबाट आउने देखिन्छ ।

यो क्षेत्रमा ५७ हजार ४ सय ६१ मतदाता छन् । यहाँ ३३ मतदानस्थल र ७० वटा मतदान केन्द्र छन् ।

यो प्रदेश क्षेत्र आदिवासी थारु समुदायको वहुल क्षेत्र भएका कारणले दुवै गठवन्धनले थारु समुदायबाट उम्मेदवार बनाएका हुन् । जातीय मत एकै ठाँउमा खसाल्न माहिर थारु समुदायको मत यसपटक बाँडिने देखिएको छ ।

पुरानो जनमोर्चाको वलियो प्रभाव क्षेत्र यहीँ छ । माओवादीले पहिले सूर्य सुवेदी पथिकलाई यहाँबाट उम्मेदवार बनाउने तयारी गरेपछि जनमोर्चा पृष्ठभूमिका माओवादीहरुले विरोध गरेका थिए । थारु समुदायको र जनमोर्चा पृष्ठभूमिको उम्मेदवार बनाउन नसक्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै असर गर्ने देखिएकाले रामलालले मौका पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment