Comments Add Comment

डा. निलमको ‘जेनेटिक जिन्दगी’: आफू खान्छिन् पेनकिलर, छोरालाई आयुर्वेदिक


काठमाडौं । आकाशमा उदाएको चन्द्रमालाई एउटा कविको आँखाले प्रकृतिको सुन्दर रचना देख्ला । एउटा प्रेमिको नजरबाट प्रेमिकाको सौन्दर्य देख्ला । अनि, एउटा भोकोले त्यसमा रोटीको बिम्ब देख्ला ।

‘फूलको आँखामा फूलै संसार’ भनेझैं एउटा चिकित्सकको आँखामा पनि रोग र विरामी नै संसार हुँदा रहेछन् । पाँच वर्षदेखि जेनेटिक विशेषज्ञका रुपमा कार्यरत डा. निलम कुँवर ठाकुरसँग भेट्दा हामीलाई यस्तै अनुभव भयो ।

विरामी देख्नासाथ उनको जेनेटिक चेतले प्रश्न गरिहाल्छ, कतै उसलाई कुनै वंशाणुगत समस्या त छैन ?

एक पटकको प्रसंग हो, उनका आफ्नै छोरा १३ महिनाका भएका थिए । छोराले हातले पोइन्ट गर्नुपर्ने, त्यसो गरेनन् । उनलाई चिन्ता लाग्यो ।

‘मेरो बाबुले त १३ महिनामा हातले देखाउनुपर्ने किन देखाएन ?’ घर परिवारमा बारम्बार उनले यही कुरा दोहोर्‍याउन थालिन् ।

परिवारका अन्य सदस्यलाई पनि उनले के भनिरहेकी हुन्जस्तो लाग्यो होला । तर, उनको चिकित्सकीय मन अनेक सोचिरहेको हुन्थ्यो ।

छोरालाई दिनको चार पल्ट जाँच्ने अनि एउटा घाउ खटिरा आए पनि ‘यस्तो पनि भएको हुनसक्छ या उस्तो भएको हुन्छ’ भनेर विभिन्न कोणबाट सोच्ने त उनको दैनिकीको एउटा पाटो बनिसकेको छ । परिवारका सदस्यसमेत उनको यो बानीमा अभ्यस्त भइसकेका छन् ।

डाक्टरको पहिलो हेराइ

डा. निलमले सिनामंगलस्थित ‘काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेकी हुन् । त्यसपछि कोलोम्बो विश्वविद्यालय र नर्वेको ओस्लो युनिभर्सिटीको ‘जोइन्ट भेन्चर’मा जेनेटिक विषयमा स्नातकोत्तर गरिन् ।

आफ्नो विषयमा उनी कति पोख्त छिन् भने कुनै पनि विरामीलाई उनी जेनेटिक कोणबाट हेर्छिन् ।

वंशाणुगत रोगहरुमा आधारित अनुसन्धान र उपचार गर्दैआएकी डा. निलम विरामी जाँच्दा मात्र नभई बाटोमा हिंडिरहेका सामान्य बालबालिका देख्दा पनि कतै उनीहरुलाई वंशाणुगत समस्या त छैन भन्ने सोच्छिन् । बच्चाको आँखा तल त छैन ? नाक टेढो त छैन ? भन्ने भाव उनको मनमा जागिहाल्छ ।

कुनै बच्चा अलिकति असामान्य रहेको उनी हेरेरै थाहा पाउँछिन् । अनि, सँगै रहेका पतिसँग भन्छिन्, ‘हेरिस्योस् न, त्यो बच्चाको कान त अलिक एब्नर्मल छ । यसलाई कतै डाउन सिन्ड्रोम त छैन ?’

त्यति मात्र होइन, कुनै आफन्त घरमा आउँदा होस् वा कसैलाई भेट्न जाँदा, उनको दिमागमा त्यही कुरा आउँछ । कुनै मानिससँग कुराकानी गर्दा उनको दिमागमा उसको आकृति ‘सेभ’ भइहाल्छ ।

यो मान्छेको मुख अलि टेढो पो छ त । कान पनि अलि बांगेको हो कि ? नाक पनि अलि सीधा होइन कि के हो ? उनको मनमा जिज्ञासा उत्पन्न हुनथाल्छ ।

एक पटक उनी मुलुकबाहिर रहेका आफन्तसँग स्काइपमा च्याट गरिरहेकी थिइन् । च्याटमा उनले बच्चालाई देखिन् । उनलाई बच्चाको कान अलि असामान्यजस्तो लागिहाल्यो ।

‘यो बच्चाको कान त अलि नमिलेको हो कि के हो ? यसलाई डाउन सिन्ड्रोम त छैन ? बच्चाको स्वास्थ्य परीक्षण गराउनुस्,’ उनले ती आफन्तलाई सल्लाह दिइन् ।

एउटा चिकित्सकले भनिसकेपछि नमान्ने कसको आँट ? परिवारका सदस्यले पनि तुरुन्तै बच्चाको परीक्षण गराइहाले ।

‘साँच्चै बच्चामा डाउन सिन्ड्रोम पो रहेछ,’ उनी हाँसिन् ।

डा. निलमका अनुसार एउटा चिकित्सकका लागि रोग पत्ता लगाउनु निकै जटिल काम हो । एउटा विरामीलाई उसको रोगबारे बताउन पनि निकै अध्ययन गर्नुपर्छ । डा. निलमको बानी छ, विरामीको लक्षणलाई लिएर नोट बनाउने र त्यसको विस्तृत अध्ययन गर्ने ।

कहिलेकाहीं हेर्नासाथ रोग पत्ता लागे त ठीकै हो । लक्षणका आधारमा विरामीबारे अध्ययन गर्नै उनलाई २/३ दिन लाग्छ । उनीसँग जँचाउन जानेहरुलाई अवश्य हेक्का होला, उनले २/३ दिनपछि बोलाएर मात्र परामर्श दिन्छिन् ।

चिकित्सक विरामी हुँदा

हाड, छाला र मासुले बनेको शरीर भएकाले चिकित्सकहरु विरामी नहुने कुरै भएन । हामीसँग कुराकानी गर्दा पनि डा. निलमलाई खासै सञ्चो थिएन ।

‘चार दिनदेखि म आफैं विरामी भएकाले अरु विरामी हेर्न सकेकी छैन,’ ग्वार्कोस्थित ग्लोबल हस्पिटलको चौथो तलामा रहेको क्लिनिकल ल्याबमा भेटिएकी उनले भनिन्, ‘आज विदाको दिन, यहाँ आइहालेको भएर विरामी हेर्ने हो, नत्र जाने ।’

‘विरामी पर्दा अर्को डाक्टरकहाँ कत्तिको जानुहुन्छ ?’

हाम्रो जिज्ञासामा उनी हाँसिन् । उनको हाँसोले औषधिबारे एउटा चिकित्सकलाई भन्दा राम्रो जानकारी अरु कसलाई होला भन्ने भाव दर्शाइरहेको थियो । त्यसैले त छोरा विरामी भएमा आत्तिइहाल्ने र बालरोग विशेषज्ञकहाँ दौडिहाल्ने डा. निलम आफूचाहीं कडा समस्या नभएसम्म अन्य चिकित्सककहाँ खासै जाँदिनन् ।

माइक्रोस्कोपमा धेरैबेर बस्दा वा धेरै विरामी जाँच्दा धपेडीका कारण उनलाई बेला-बेलामा टाउको दुख्ने गर्छ । त्यसैले सधैंभरि एउटा पेन किलर ब्यागमा राख्छिन् ।

यद्यपि, उनी औषधिमा त्यति जोड गर्दिनन् । किनकि, उनी आफैं पनि औषधिको डोज पुर्‍याउन सक्दिनन् ।

‘चिकित्सककले पनि डोज नपुर्‍याई औषधि ?’ हाम्रो जिज्ञासा ।

‘किनकि हामीसित समय नै हुँदैन,’ उनको जवाफ ।

दोहोरो जिम्मेवारी

सेतो कोटसहित चिटिक्क परेको लुगा लगाएर हिँड्ने चिकित्सकहरुको व्यक्तिगत जीवन कस्तो होला ? धेरैको जिज्ञासा हुनसक्छ । हामीले पनि त्यही जिज्ञासा राख्यौं ।

‘विहान पाँच बजे उठेदेखि हामीले मानौं दश वटा हातले काम गर्नुपर्छ । एउटा चिकित्सक त्यसमा पनि महिलालाई त काम गर्न झन् गार्‍हो छ,’ डा. निलमले भनिन् ।

हुन पनि उनको दैनिकी कम व्यस्त छैन । विहान उठ्यो, बच्चा हेर्‍यो । खाना पकाउनु परिहाल्यो । बच्चाको रेखदेख, पतिलाई यो देऊ, त्यो देऊ, सासु-ससुराको हेरचाह । विहान ८ देखि साठे ८ बजेसम्ममा अफिस पुग । विरामी हेर । कार्यक्रम, सभा, समारोह ।

‘भनेको समयमा छुट्टी पनि मिल्दैन । महँगीका कारण बुढाबुढी दुवैले काम गर्नु परिहाल्यो । महिला चिकित्सकलाई झन सकस छ,’ उनले भनिन् ।

बीपीए फ्री र आयुर्वेदिक

एउटा चिकित्सक त्यसमा पनि जेनेटिक रोग विशेषज्ञ, खानपानमा सजग हुनु स्वाभाविकै हो । त्यसमा पनि प्लास्टिकमा प्याक गरिएका खानेकुरा खानु हँुदैन, बीपीए पि|m हुनुपर्छ भन्ने गरिन्छ ।

‘ममा भने त्यो लागू हुँदैन । जिन्दगीभर प्लास्टिककै भाँडा प्रयोग गरियो, हामीलाई त केही हुन्न भन्ने लाग्छ,’ उनले भनिन् ।

बच्चाको हकमा भने त्यो लागु हुँदैन । बच्चालाई काँसकै कचौरा, थाल र चम्चाले खुवाउँछिन् ।

‘सामान किन्दा पनि बीपीए  फ्री  नै खोज्छु । खेलौना पनि बीपीए फ्री छ कि छैन हेर्छु,’ उनले भनिन् ।

खानेकुरा पनि अर्गानिक नै खोज्छिन् । त्यसो त, उनको खेती नै छ । अन्नपात, तरकारी आदि अधिकांश चिज घरबाट आउने भएकाले उनको परिवारले शहरमा ती चिज खासै किन्दैन ।

एउटा कुरा अचम्मको रहेछ । एलोपेथिक औषधिमा आधारित चिकित्सक भए पनि उनी बच्चालाई सकेसम्म आयुर्वेदिक औषधि नै खोज्छिन् ।

‘रुघा लाग्दा पनि आयुर्वेदिक नै ख्वाउँ कि भन्नेचाहीं मनमा आइहाल्छ,’ उनले भनिन् ।

समय पायो कि हिँड्यो

खानपान र जीवनशैलीबारे ‘चिकित्सकहरु अरुलाई सल्लाह दिन्छन्, आफूमा लागू गर्दैनन्’ भन्ने आम आरोप छ । डा. निलमको हकमा पनि यो धेरै हदसम्म लागु हुन्छ ।

‘एउटा मानिस भएपछि त्यो स्वाभाविक पनि हो,’ उनले भनिन्, ‘तर, अचेलका डाक्टरहरुमा त्यो परिवर्तन आइसक्यो । डाक्टरहरुले आफूलाई मेन्टेन गरिसकेका छन् । आफैं चट्ट पर्छन् ।’

हल्का चुलबुले स्वभावकी डा. निलमको अर्को एउटा बानी छ, मौका पायो कि हिँडिहाल्ने, दिन होस् कि रात । बच्चा सानै भएकाले ‘मर्निङ वाक’ गर्ने समय उनलाई हुँदैन । त्यसैले मौका मिल्नासाथ उनी हिँड्नमै जोड गर्छिन् ।

जतिबेला मिल्छ, कम्तीमा २-३ किलोमिटर हिँड्छिन् । यसरी नै उनले गर्भवती हुँदाको तौल ८० किलोबाट घटाएर ६०-६५ मा झारिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment