+
+
Shares

बाबुरामप्रति ओली नरम, प्रचण्ड गरम

विकास मरहट्टा विकास मरहट्टा
२०७४ कात्तिक २९ गते १९:४७

२९ कात्तिक, गोरखा । वाम गठबन्धनका उम्मेदवारहरुलाई भोट माग्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वसहकर्मी डा. बाबुराम भट्टराईप्रति आक्रमक देखिए । उनी भन्दै थिए, बाबुराम घर न घाटको हुँदैछन्, दाया लागेको छ ।’

तर, प्रचण्डसँगै मञ्च शेयर गरेका एमाले अध्यक्ष केपी ओली बाबुरामप्रति तुलनात्मक रुपमा नरम देखिए ।

प्रचण्ड र ओलीले तीन वटा सभालाई संयुक्त रुपमा सम्बोधन गरे । तर, घैरुङ बतासेमा आयोजित सभामा भने प्रचण्डलाई मात्र पठाएर ओली लमजुङतिर लागे ।

तीन वटै सभामा प्रचण्ड नयाँ शक्तिका संयोजक एवं कांग्रेसको समर्थनमा गोरखा-२ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका बाबुरामप्रति आक्रमक रुपमा प्रस्तुत भए । उनले बाबुरामलाई पढेको तर बुद्धि नभएको नेता समेत भन्न भ्याए ।

भच्चेकको सभामा प्रचण्डले भने, ‘म बाबुरामजीलाई भन्न चाहन्छु, खुरुक्क माओवादीमा फर्किनुस्, तपाईको भलो त्यसैमा छ । दायाँबायाँ गर्नुभयो भने घर न घाटको बन्नुहुन्छ ।’

अघि थपे, तपाईले जित्नु पनि हुन्न, उम्मेदवारी छोडि्दनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु ।’

पालुङटारमा भएको चुनावी सभामा उनले भट्टराईमाथि कम्युनिष्ट आन्दोलनबाट भागेर पूँजीपतिको शरणमा गएको आरोप लगाए । उनले भने, ‘कम्युनिष्ट आन्दोलनप्रति घात गरेर प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने, अनि अहिले फेरि गोर्खाली जनतासँग भोट माग्ने ? यो नैतिक अधिकार कसले दियो ?

प्रचण्डसँगै ओलीले तीन वटै सभालाई सम्बोधन गरे । तर, निशानामा बाबुरामभन्दा कांग्रेस पर्‍यो । भच्चेकमा अधिकांश समय कांग्रेसको आलोचना गरेका उनले अन्तिममा बाबुरामतर्फ संकेत गर्दै कर्कलोलाई बञ्चरोको काट्नै पर्दैन भने ।

पालुङटारमा भने बुढो रुखको आड लागेर सिसा र प्लाष्टिकको आँखा लिएर हिँडेको टिप्पणी गरे । ‘एक अध्यक्ष र केही कलाकार भएको नयाँ शक्तिलाई बोकेर काग्रेस प्रजातन्त्र जोगाउन कुदेको छ,’ ओलीले भनेका छन्, ‘तर नयाँ शक्तिको बबुरा अध्यक्ष लिएर हिँडेको देख्दा कांग्रेसप्रति समवेदना प्रकट गर्छु ।’

अघि थपे, ‘यो ठाउँमा कांग्रेसप्रति माया लाग्छ, रुखको हाँगा-साँगा भाचेर हल्लाउँदै हिड्नुहुन्थ्यो । तर, अहिले रुख छैन, आँखा निकालेर हिड्न पनि मिलेन ।’

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?