Comments Add Comment

सिन्धुपाल्चोकमा ‘बाबु साहेब’ बलिया कि शेरबहादुर ?

यस्ता देखिए पशुपतिसमशेर र शेरबहादुर तमाङका चुनौति

१ मंसिर, बाँसखर्क (सिन्धुपाल्चोक) । नेपाली कांग्रेसले गतसाता काठमाडौंमा पत्रकार सम्मेलन गरेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पशुपति शमसेर जबराको जित सुनिश्चित रहेको घोषणा गरिरहेका बेला सिन्धुपाल्चोकको हेलम्बुमा राणाका प्रतिस्पर्धी शेरबहादुर तामाङ आफू २० हजार मतान्तरमा जित्ने दावी गर्दै थिए ।

सत्तारुढ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जबरालाई जिताउन कांग्रेसले आफ्नै सबै शक्ति लगाएको कारण उसको अपेक्षा स्वभाविक हुन सक्छ । तर, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का ३८ वडामध्ये आधाजसो वडा घुम्दा ७६ वषर्ीय वयोवृद्ध नेता राणाको जित सहज देखिएन ।

यस क्षेत्रका धेरै चुनाव व्यहोरेका अग्रजहरुका अनुसार यहाँ ‘बाबु साहेब’ले चुनावको अन्तिम दुई दिनअघि कुनै जादू चलाए भने सम्भावित परिणाम तलमाथि हुन सक्छ । नत्र अहिलेसम्म राणामाथि शेरवहादुर तामाङ भारी पर्ने देखिन्छ ।

राणाको विरासतमा तामाङको पालैपालो ब्रेक

०२९ सालमा पहिलोपटक सिन्धुपाल्चोक प्रवेश गरेका राणाले पञ्चायती राजनीतिमा लागेपछि आफू जन्मिएको काठमाडौं छाडेर चुनाव लड्नका लागि सिन्धु रोजे । तामाङ समुदायको बाहुल्य रहेको यो क्षेत्रमा उनले ०३८ पछि लगातार ०५६ सम्म ५ वटा चुनाव जिते ।

उनले आफ्नो बिजययात्राको रजत महोत्सव मनाए लगत्तै ०६४ मा भएको पहिलो संविधानसभा चुनावमा माओवादीका दावा तामाङसँग पराजय भोगे । दोस्रो स्थानमा पुगेका एमालेका शेरबहादुर तामाङ ९८ मतले पराजित हुँदा राणा तेस्रो भएका थिए ।

पहिलो पटकको पराजयको बदला लिन ०७० मा दोस्रो पटक प्रतिस्पर्धामा उत्रिएका राणा एमालेका शेरवहादुर तामाङसँग करीव २५ सय मतान्तरमा पराजित भए । त्यसबेला तामाङले १४ हजार ५ सय मत ल्याउँदा राणाको १२ हजार मत आएको थियो ।

दोस्रो पटक पराजय भोगेपछि राणा सिन्धुपाल्चोकमा चुनाव लड्न फर्किदैनन् भन्ने आँकलन धेरैको थियो । तर कांग्रेसको समर्थन लिएर राणा पुनः मैदानमा उत्रिएपछि सिन्धुपाल्चोक २ को चुनाव फेरि रोचक बनेको छ ।

रोचक यस अर्थमा पनि छ कि राणालाई पहिलोपटक हराउने दावा तामाङ र दोस्रो पटक हराउन शेरवहादुर तामाङ अहिले एउटै वामपन्थी गठबन्धनबाट उम्मेदवार छन् । दावा प्रदेशसभाका उम्मेदवार छन् भने शेरबहादुर प्रतिनिधिसभामा पशुपतिका प्रतिस्पर्धी छन् ।

२० हजारले जित्ने शेरबहादुरको गर्जन

अनलाइखबर टिम हेलम्बु गाउँपालिकाको शेरामा पुग्दा वामपन्थी गठबन्धनका उम्मेदवार शेरवहादुर तामाङ घरदैलोमा थिए । सभा शुरु गर्नुअघि उनले अनलाइनखबरसँग भने-अहिले वामपन्थी गठबन्धनको मत लोकतान्त्रिक गठबन्धनभन्दा १० हजार बढी छ,तर म राणालाई २० हजार मतान्तरले चुनाव हराउँछु ।

चुनावी अभियानका क्रममा राणाले एकसरो गाउँ घुम्न नभ्याउँदै शेरवहादुरले दुई चरण घुमिसके । उनले घरदैलोमा पुगेर विकासको लागि राणा होइन आफूलाई मत दिन आग्रह गरिरहेका छन् । तामाङ वस्तिमा तामाङ भाषामै भाषण गर्ने शेरवहादुर अन्य समुदायसँग पनि उत्तिकै घुलमिलमा छन् ।

यसपटक पनि पशुपति शमसेर हारे भने उनको यो हृयाट्रिकक हुनेछ । पशुपतिसमशेर जसरी पनि जित्ने कसरतमा छन् भने शेरबहादुर तामाङ सहज जित निकाल्ने तयारीमा छन् । पशुपतिका लागि यो सम्भवतः अन्तिम चुनाव हो, त्यसैले पनि उनी दबाबमा छन् ।

शेरबहादुर तामाङको लागि पनि यो चुनाव महत्वपूर्ण छ । उनी यसपटक पनि चुनाव जिते भने मन्त्री बन्ने र पार्टीमा पनि माथिल्लो तहमा जाने अवसरको ढोका खुला छ । तामाङले जित सुनिश्चित गर्न सबै शक्ति लगाएका छन् ।

गणितमा शेरबहादुर माथि

सिन्धुपाल्चोक २ मा यसपटक स्थानीय तहको चुनाव अनुसार पहिलो शक्ति रहेको एमाले र तेस्रो शक्ति रहेको माओवादीबीच तालमेल छ । त्यस्तै दोस्रो शक्ति रहेको कांग्रेस र चौथो शक्ति रहेको राप्रपा प्रजातान्त्रिकको अर्को गठबन्धन छ ।

सिन्धुपाल्चोक २ मा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोक नगरपालिकाका केही वडा पर्छन् । तीमध्ये हेलम्बु र इन्द्रावती गाउँपालिका कांग्रेसले जितेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिका एमालेले जितेको छ ।

स्थानीय तहको मत जोड्ने हो भने एमालेको सबैभन्दा बढी २६ हजार ५७० मत छ । त्यसमा माओवादीको १४ हजार २७० मत जोड्दा वामपन्थी गठबन्धनको मत करीव ४० हजार पुग्छ ।

हेलम्बुमा माओवादीले स्थानीय तहको चुनावमा एमाले नेता हस्त पण्डित हराउन कांग्रेसलाई भोट हालेको थियो । अहिले त्यो मत लोकतान्त्रिक गठबन्धनमा नजाने वामपन्थी गठबन्धनका नेताहरुको बुझाइ छ ।

स्थानीय तहमा कांग्रेसले २१ हजार ४८२ मत पाएको थियो भने राप्रपाले पाएको मत जोड्दा लोकतान्त्रिक गठबन्धनको करीव ३० हजार हुन्छ । यो मतमा आफ्नो व्यक्तिगत प्रभावको मत थपेर जित्ने अपेक्षा गरेका छन् । तर, वामपन्थी गठबन्धन यस क्षेत्रमा आक्रामक र बलियो देखिन्छ ।

राणाको भर कांग्रेस,शेरवहादुरको भर संगठन

तामाङ बाहुल्य रहेको यस क्षेत्रमा यो समुदायको मत शेरवहादुर तामाङतर्फ बढी जान सक्छ । राणा आफ्नो पार्टीको बलमा होइन कांग्रेसको बल र आफ्नो व्यक्तिगत मतमा निर्भर छन् । जबकी तामाङका लागि एमालेको संगठन आफंमा धेरै सशक्त छ भने माओवादीको पनि बलियो साथ छ ।

जितप्रति तामाङ जति ढुक्क देखिन्छन्,राणा त्यति छैनन् । राणाको पछि पछि हिडिरहेका कांग्रेस कार्यकर्ताहरु यसपटक बाबु साहेबको खानुपर्छ भन्ने मानसिकतामा छन् । ‘बाबु साहेबले करोडौं रुपैया निकाल्छन् भन्ने आशमा पनि धेरै युवा पछि लागेका छन्’ एक राप्रपा नेताले भने ।

राणालाई जिताउन लाग्नु कांग्रेसको लागि बाध्यता बनेको छ । यदि शेरवहादुरले फेरि पनि जिते भने आउने चुनावमा वामपन्थीलाई रोक्न कांग्रेसलाई झन् कठिन हुनेछ । राणा जिते भने त्यसपछि उनको विरासतमा आफ्नो बिजय कांग्रेसले देखेका छन् ।

एक्लै एमाले भारी बनेको बेला माओवादी समेत मिलेपछि यो क्षेत्रमा चुनाव जित्न सहज नरहेको कांग्रेस नेताहरुनै स्वीकार गर्छन् । सिन्धुपाल्चोकमा राणाका परम्परागत मतदाता बिभाजित हुनु र नयाँ मतदातामा उनीप्रति भन्दा शेरवहादुरप्रति भरोसा हुनु पनि सम्भावित चुनावी नतिजाको कारक बन्न सक्छ ।

निर्वाचनको १० दिन अगाडिसम्मको माहौल हेर्दा बाबु साहेबमाथि शेरवहादुर जबर्जस्त भारी परिरहेको सहज आँकलन गर्न सकिन्छ । तर चुनावको नतिजा भनेको अन्तिम एक दुई दिनको चलखेलबाट तलमाथि हुने र आर्थिक कारणले पनि मत चलायमान हुने तथ्यलाई नजरअन्दाज गर्न सकिन्न ।

शेरबहादुरका चुनौति

शेरवहादुर तामाङका लागि अनुकुलता जति छन्, चुनौति पनि नभएका होइनन् । लगातार उनले यस क्षेत्रमा टिकट पाइरहेका छन् । पार्टीभित्र एउटा समूह आफूहरुमाथि शेरवहादुरले अन्याय गरेको गुनासो गरिरहेको छ ।

स्थानीय चुनावमा मेलम्ची नगरपालिकाको मेयरका धेरै आकांक्षी थिए । तर तामाङले अरु सबै आकांक्षीलाई पेलेर डम्बर अर्याललाई टिकट दिएको अशन्तुष्टि सेलाउन नपाउँदै उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो चुनावमा पनि बालकृष्ण देउजा लगायतका केही नेता प्रदेशसभाका आकांक्षी थिए । तर प्रदेशभसाका दुवै सिट माओवादीले पाएपछि एमालेका नेता चुनाव प्रचारकमात्र बनेका छन् । यद्यपी उनले पार्टीभित्रको अशन्तुष्टि सम्बोधन भइसकेको बताए ।

असन्तुष्ट भनिएका नेताहरु शेरवहादुरको चुनावी अभियानमै छन् । तर पनि राणाले एमालेभित्रका अशन्तुष्टिमा खेल्न खोजेका छन् । ‘शेरवहादुरले पार्टीभित्र आफ्ना प्रतिस्पर्धीलाई माथि उठ्न दिएका छैनन्,उनीमाथि जातिवादीको आरोप पनि लागेको छ’ राप्रपाका क्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले भने ‘एमालेको अशन्तुष्ट मत पनि बाबुसाहेबतिर आउन सक्छ’ ।

को हुन् शेरबहादुर तामाङ

एमाले केन्द्रीय सदस्य शेरवहादुर तामाङ सिन्धु्पाल्चोकका मतदाताका लागि नयाँ पात्र होइनन् । ४८ वर्षीय तामाङले यहि क्षेत्रबाट तीन पटक चुनाव लडिसकेका छन् भने यो उनको चौथो प्रतिस्पर्धा हो ।

१२ वर्षको उमेरदेखि एमालेको राजनीतिमा संलग्न रहेका तामाङ मेलम्ची नगरपालिकाका स्थायी बासिन्दा हुन् । तीन विषयमा स्नातकोत्तर गरेका तामाङ अहिले पीएचडी गर्दैछन् । उनी युवा संघको उपाध्यक्षसम्म भएका थिए ।

सिन्धुपाल्चोक-२ मा चुनाव प्रचारका तस्वीर

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment