Comments Add Comment

झापा–११ लाई हराउँदै आर्मी सताक्षी गोल्डकपको फाइनलमा

४ मंसिर, झापा । झापामा जारी सताक्षी गोल्डकपमा घरेलु टोली रमपम झापा–११ लाई हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनल यात्रा तय गरेको छ ।

सोमबार भएको खेलमा झापालाई ३–० गोल अन्तरले पाखा लगाउँदै आर्मीले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो ।

फाइनलमा प्रवेश गरेसँगै आर्मीले कम्तिमा २ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछ ।

आर्मीको जितमा स्ट्राइकर नवयुग श्रेष्ठ नायक बने । सुरुवातदेखि नै आक्रमक खेल प्रदर्शन गरेको आर्मीका लागि श्रेष्ठले दुई गोल गरेका थिए । उनले खेलको १३ औँ र २७ औं मिनेटमा गोल गरेका थिए ।

सन्तोष तामाङको फ्रि–किकलाई सदुपयोग गर्दै नवयुग आर्मीलाई अग्रता दिलाएका थिए । २७ औँ मिनेटमा उनले वान टु वान गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

दोस्रो हाफको ३३ औँ मिनेटमा दीप लामाले पुनः अर्को गोल गर्दै अग्रतालाई तेब्बर बनाए ।

खेलको म्यान अफ द म्याच दुई गोल गर्ने आर्मीका नवयुग श्रेष्ठ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । मंगलबार हुने अन्तिम सेमिफाइनल खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment