Comments Add Comment

प्रचण्डनिवास पुगेर राष्ट्रपतिले सम्झिइन् मदन भण्डारीको मृत्यु

पतिवियोगको पीडा सुनाउँदै पुत्रवियोग बिर्साउने प्रयास

५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान ९ बजेतिर दोस्रोपटक प्रचण्डनिवास लाजिम्पाटमा पुग्दा प्रचण्डपत्नी सीता दाहाल पुत्रवियोगमा भावविह्वल अवस्थामा थिइन् ।

आइतबार बिहान प्रचण्डलाई सहानुभूति दिन पुगेकी राष्ट्रपति भण्डारी भोलिपल्ट दोहोर्‍याएर प्रचण्डनिवास पुगिन्, सीता दाहाललाई सम्झाउन ।

राष्ट्रपति भण्डारीले प्रचण्डनिवासमा सीतासँग करिब २० मिनेट बिताइन् । यसक्रममा उनले ०५० साल जेठ ३ गते आफ्ना पति मदन भण्डारीको मृत्युको घटना सम्झिइन् ।

‘मेरा श्रीमान् दासढुंगा दुर्घटनामा बित्नुभो, दुईवटी छोरीहरु सानै थिए,’ राष्ट्रपति भण्डारीले प्रचण्डपत्नी सीतालाई शान्त्वना दिँदै भनिन्, ‘यस्तो बेलामा सम्हालिनुबाहेक हामीसँग अर्को कुनै विकल्प हुँदैन, मैले पनि आफूलाई सम्हालें र अघि बढें ।’

हुन पनि अहिले सीता दाहालले भोगेको पुत्रवियोगको पीडा भन्दा राष्ट्रपति भण्डारीले ०५० सालमा भोगेको पतिवियोगको पीडा भयावह थियो । सीतासँग आफ्ना पति प्रचण्ड छन्, छोरीहरु हुर्केका छन् र नातिनातिना एवं बुहारीहरु छन् । तर, विद्यासँग त्यसबेला कलिला छोरीहरुको भविश्य कोर्ने चुनौती शिवाय अर्थोक थिएन । तर, उनले आफूलाई राजनीतिमा निरन्तरता दिइन् र यतिबेला राष्ट्रपति बन्न पुगेकी छिन् ।

प्रचण्डनिवास लाजिम्पाट पुगेर सीतालाई राष्ट्रपतिले आफ्नै संघर्षमय वियोगको कथा सुनाएपछि सीताले पनि विस्तारै आफूलाई सम्हाल्न थालेको लाजिम्पाट स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोतले भन्यो- ‘राष्ट्रपतिज्यूले भेटिसकेपछि सीता म्याडम नर्मल बन्न थालिनुभएको छ धेरै सम्हालिनुभएको छ, त्यसअघिसम्म उहाँ विक्षिप्त अवस्थामा हुनुहुन्थ्यो ।’

प्रगतिशील काजकिरिया

प्रचण्डनिवास लाजिम्पाटमा प्रकाश दाहालको काजकिरिया प्रगतिशील ढंगबाट गरिएको छ । त्यहाँ कोही पनि कपाल खौरेर कोरा बसेको छैन ।

निवासको ढोका छेउमा प्रकाशको तस्वीर र आगन्तुक पुस्तिका राखिएको छ । परिवारका सदस्यलाई समवेदना दिन जाने मानिसहरुले आगन्तुक पुस्तिकामा नाम लेख्छन् र तस्वीर नजिक पुगेर श्रद्धाञ्जली अर्पण गर्छन् ।

मंगलबारसम्म लाजिम्पाटमा प्रचण्ड परिवारलाई सहानुभूति दिन पुग्नेहरुको बाक्लो उपस्थिति देखिँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्डले भने- मैले त चित्त बुझाउँला, परिवारलाई सम्हाल्न गाह्रो छ (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment