५ मंसिर, काठमाडौं । पहिलो चरणको निर्वाचनको ५ दिनअघि सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको व्यापक सरुवा गर्न थालेको छ ।
कैलाली, नुवाकोट लगायतका जिल्लामा प्रहरी प्रमुख फेरिए लगत्तै सरकारले सिडिओहरुको सरुवा शुरु गरेको हो ।
गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओ सरुवा भएको छ ।
गृहमन्त्रालयको कार्यभार समेत देउवा आफैंले सम्हालेका बेला चुनावलाई प्रभावित पार्ने गरी प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् ।
पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।
सोलुखुम्बुका सिडिओ भुपेन्द्र खत्रीलाई कांग्रेस नेता बलवहादुर केसीको दबाबमा सरुवा गरी उनको ठाउँमा सूर्य खनाललाई पठाइएको छ ।
त्यस्तै, भोजपुरमा चेतराज बरालको ठाउँमा फणिन्द्र दाहाललाई सिडिओ बनाएर पठाइएको छ ।
स्रोतका अनुसार रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । कांग्रेस नेताहरुको दबाबमा नुवाकोटमा जगदिशराज बराललाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ ।
प्रतिक्रिया 4