Comments Add Comment

चिसाङखोलाका सुकुम्बासी फकाउँदै भानुभक्त ढकाल र सुनील शर्मा

७ मंसिर, बिराटनगर । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ५ भएर बग्ने चिसाङ खोलाको किनारमा सुकुम्बासी वस्ती छ । पूर्व-पश्चिम राजमार्गको उत्तर र दक्षिण क्षेत्रमा खोला किनारमा उनीहरुले बासस्थान बनाएको ३० वर्षभन्दा बढी भइसक्यो ।

हरेक चुनावअघि उम्मेदवारबाट स्थायी बसोबासको व्यवस्था गर्ने आश्वासन पाएका यस वस्तीका नागरिकले यसपटक पनि उस्तै आश्वासन पाएका छन् तर, विश्वास गरेका छैनन् ।

सुकुम्बासी वस्तीका बयोबृद्ध खडानन्द पोखरेल त्यहीँको चोकमा दिन कटाइरहेछन्, चुनाव आएको उनलाई थाहा छ तर, अनुहारमा कुनै उत्साह छैन । ‘हरेक नेताले गाउँमा पुगेर स्थायी बसोबासको व्यवस्था गर्छु भन्छन्, तर अहिलेसम्म केही भएको छैन, अनि हामीलाई चुनाव किन लाग्नुपर्‍यो ?’ उनले आक्रोश पोखे ।

चिसाङ खोला किनारको एकै खालको बस्तीमा यस पटक पनि दलका उम्मेदवारहरू पुगेका छन् । झण्डासहित पुगेका उम्मेदवारहरूले सुकुम्बासी समस्या समाधान हुने र गारोसारो पर्दा उपचार पनि गरिदिने लगायतको आश्वासन दिएर मतदाता फकाउन प्रयासरत छन् ।

यहाँका केही सुकुम्बासीको घरमा फरक-फरक दलका झण्डा पनि फहराइरहेको देखिन्छ ।

०४२ सालमै बसेको बस्तीमा रहेका पोखरेलले ०३७ सालको पञ्चायती निर्वाचनयता लगातार भोट हालिरहेको तर सुकुम्बासीका समस्या कहिल्यै समाधान नभएको बताए ।

‘जितेर गएपछि त गयो गयो, चिसाङ खोलामा साउनमा आउने भेल जस्तै हुन नेता भएका फर्केर कहिले आउन जानेका छैनन् उनले भने ‘काम गर्न जानेका छैनन् चुनावका बेला आश्वासन मात्रै वाँडेका छन्’ उनले गुनासो गरे ।

यो ठाउँ मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा पर्छ । जहाँ वाम गठबन्धनबाट एमाले नेता भानुभक्त ढकाल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेता सुनील शर्मा उम्मेदवार छन् ।

हिउँदमा बन र नदीजन्य काम गरे पनि बर्षायाममा चिसाङ खोलाको बाढीले त्रसित भएर बस्दै आएका सुकुम्वासीहरुले चुनावका बेला पाउने गरेको आश्वासनमा विश्वास गर्न छाडेका छन् ।

उनीहरूले आफ्नो समस्या जसले समाधान गर्छ त्यसैलाई भोट दिने बताउँछन् । चिसाङ पुल मुन्तिरको वस्तीमा बस्ने सन्तबहादुर तामाङले चुनाव आए पनि भोट हाल्न मन नलागेको बताए ।

‘अस्ति भर्खरै (स्थानीय निर्वाचन) पनि भोट हालेकै हो त, खै के भयो हाम्रो वस्तीमा ?’ उनले भने- ‘उधारो त धेरै हालियो, लालपूर्जा नपाई किन दिनु भोट ।’

उनी जस्तै लोकवहादुर अधिकारीको परिवार पनि चिसाङ टोलको सुकुम्वासी वस्तीमा बसेको २४ वर्ष भयो । तर, उनको पनि अहिलेसम्म आफूबसेको जग्गाको धनीपूर्जा हातमा परेको छैन ।

६८ वर्षीय अधिकारीलाई अझैपनि डर छ, ‘कतै सरकारले नै यो वस्ती खाली गर्ने पो हो कि ?’

उनले आफू बसेको ठाउँको जग्गाधनी पुर्जा दिलाउने र चिसाङ खोलाको भेल रोक्न उचित तटवन्धन गरिदिने उम्मेदवारलाई भोट हाल्ने बताएका छन् ।

चिसाङ खोला छेउका करीव दुई सय घर सुकुम्बासी नजिकको जंगल र चिसाङ खोलाकै भरमा बाँचेका छन् । धेरै युवा गाडी लाइनमा छन् । केहीले मात्रै सेना र प्रहरीमा जागिर खाएका छन् ।

लिम्वु, मगर, राई, तामाङलगायत जनजाती समुदायको बाहुल्य रहेको चिसाङ खोला सुकुम्बासी वस्तीका महिला नजिकैको जंगलबाट निगुरो र सालका पात टिपेर धरान, विराटनगर, इटहरीलगायतका शहरमा बिक्री गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment