Comments Add Comment

‘सबै हिसाबले १ नम्बर प्रदेशको मुख्यमन्त्री मै हुँ’

चीन र भारतका नाकाबाट फाइदा लिन्छौं,सप्तकोशी उच्च बाँध मानिदैन

७ मंसिर,भोजपुर । प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका रुपमा चर्चित रहेका एमाले पोलिटव्यूरो सदस्य शेरधन राई पूर्व सूचना तथा सन्चारमन्त्री पनि हुन् ।

एमालेको १ नम्बर प्रदेश सहसंयोजक रहेका राईलाई मुख्यमन्त्री बनाउने गरी पार्टीले प्रदेशसभाको उम्मेदवार बनाएको हो । योगेश भट्टराई आफैं मुख्यमन्त्रीको तयारीमा थिए । तर, राई लिम्बु बाहुल्य रहेको प्रदेशमा सोही समुदायको मुख्यमन्त्री बनाउने तयारीस्वरुप राईलाई प्रदेशमा पठाएर भट्टराईलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको चर्चा एमालेमा छ । दुई पटक भोजपुर-२ बाट सांसद जितेका राई यसपटक सोही क्षेत्रबाट प्रदेशसभाको उम्मेदवार छन् । चुनावी प्रचारप्रसार सकेपछि अनलाइनखबरसँग कुरा गर्दै राईले मुख्यमन्त्री बनेपछि गर्ने कामका एजेण्डा समेत सुनाए ।

प्रस्तुत छ,एमाले नेता राईसँग गरिएको कुराकानी ।

चुनाव प्रचार प्रसारको अन्तिम चरणमा हुनुहुन्छ, कस्तो आउला परिणाम ?

हो हामी चुनावी प्रचारप्रसारको अन्तिम समयमा छौ । रातीबाट मौन समय सुरु हुँदैछ । परिणाम स्पष्टै छ कि म लगायत वाम गठवन्धनका उमेदवारहरु भारी मतले जित्ने कुरामा कुनै शंका छैन ।

तपाई चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ अघिल्ला र यसपटकको चुनावमा फरक पाइरहनु भएको छ ?

जनताले चुनेका जनप्रतिनिधिहरुको सर्वोच्च थलो संविधानसभाबाट जारी भएको संविधानले जनतालाई सर्वशक्तिमान र मालिक बनाएपश्चात हुन लागेको पहिलो चुनाव भएकाले यो चुनावको महत्व धेरै छ । जनता शक्तिशाली र अधिकार सम्पन्न भएर आफनो अधिकारको उपभोग गर्नका लागि आफ्नो भाग्य र भविश्यको रेखा कोर्न आफनो सरकार आफैले वनाउने चुनावभएकाले अलि फरक अनुभुति भइरहेको छ त्यो स्वाभाविक पनि हो ।

अघिल्ला पटक भोट दिएका मतदातालाई आफुतिर तान्न के गरिरहनु भएको छ ?

म २०५६ र २०७० को निर्वाचनमा भारी मतले दुई पटक निर्वाचित भइसकेको व्यक्ति हुँ । भोजपुरको माटोमा जन्मिएर यहिंको लागि सानो उमेरदेखि निरन्तर त्याग, निष्ठा, नैतिक मूल्य र इमानको राजनीति गर्दै आइरहेको छु । ०५६ सालमा चुनाव जित्दा मेरो पार्टी जिम्मेवारीको हैसियत सानो थियो । मेरो अनुभव पहिलो थियो एउटा योजनाको लागिी धाएर, मागेर हिडनुु पर्ने, संसदमा थपडी वजाएर बस्ने हैसियत थियो । तर, आज म ०७० को चुनावमा भारी मतले जितेर गएपश्चात म संसदको एक महत्वपूर्ण समितिको सभापति मात्र होइन संविधान जारी भए लगत्तै सूचना तथा सञ्चार मन्त्री एवं सरकारको प्रवक्ताको जिम्मेवारी सफलतापूर्वक सम्हालेर यतिवेला वेग्लै हैसियतमा चुनाव लडिराखेको छु । मेरो उम्मेद्वारीले जिल्लावासी मतदातामा वेग्लै उत्साह छाइराखेको छ । यसकारण कि यसपटक म दिन सक्ने, डाडूँपन्यू हातमा लिएर पस्कन सक्ने हैसियतमा चुनाव लडिराखेको छु । त्यसैले मैले धेरै भोटका लागि कसरत गर्नुपर्ने स्थिति छैन । सबै मतदाताको नजर म मा एकलौटी रुपमा केन्द्रित छ ।

तर, दुई पटक जिताएर मन्त्रीसम्म वनाउदा भोजपुुर चाही विकासमा खासै फड्को मार्न सकेन भन्ने कतिपयको आरोपलाई चाही के भन्नुहुन्छ नि ?

यो आरोपसँग म सहमत छैन । यो आरोप सतही चिया गफमा फुर्सदिला मान्छेहरुले समय विताउने कुरा मात्र हो । आज भोजपुरले विकासमा जे सफलता र उचाई प्राप्त गरेको छ यो हाम्रो पालामा, हाम्रो अगुवाइमा भएको हो । पक्कै पनि विकासको रˆतार चाहेको गतिमा नहोला तर हामी विकास र समृद्धिको वाटोमा तीव्र गतिमा अगाडि बढीराखेका छौ ।

तपाईलाई प्रदेश नं १ को मुख्यमन्त्रीको दावीसहितको उमेदवारीको रुपमा सर्वत्र हेरिएको छ । आफूलाई कुन कुन आधारले मुख्य मन्त्रीको लागि योग्य ठान्नुहुन्छ ?

निश्चय नै केन्द्रमा दुईदुई पटक जितेर, केन्द्रीय सरकारको महत्वपूुर्ण मन्त्रालय सम्हालेर राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलिरहेको व्यक्ति प्रदेशमा उमेदवार वनेको यो अवस्थामा भावी मुख्यमन्त्रीको रुपमा मलाई सवैले हेेर्नु स्वाभाविक छ र साँचो कुरा पनि त्यही हो । मसँग दुईदुई पटक संसदमा काम गरेको अनुभव छ ।

म केन्द्रीय सरकारको मन्त्री भएर एकरत्ती विवादमा नआई सफल मन्त्रीको रुपमा काम गरिसकेको,पार्टीको पोलिटव्युरो सदस्य प्रदेश नं १ को पार्टीको सहसंयोजकको हैसियतमा काम गरिरहेको मान्छे हो । त्यत्तिमात्र होइन म मा बलियो इच्छा शक्ति छ । मेरो दिमागमा लोप र स्वार्थको कुरा एक कञ्चो छैन । गर्न सकिन्छ र सक्छु भन्ने दुढ भावना भएको नेता हो म । त्यसैले सवैको नजर म मा केन्दि्रत छ । म मुख्यमन्त्री बन्न योग्य मात्र होइन सवै हिसावले उपयुक्त पात्र पनि हो ।

मुख्यमन्त्री भएर प्रदेशका लागि तपाईका योजना के के हुनेछन ?

हामीले केन्द्र र प्रदेशवाट घोषणापत्रहरु जारी गरेका छौ, मुख्य आधार र मार्गदर्शन त्यही हुनेछ । हामीले सिंगो प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना समेत तयार गरिराखेका छौ । प्रदेश नं १ आफैमा राम्रो संभावना भएको प्रदेश हो । तराई पहाड र हिमाल जोडिएको भुगोल, विश्वको सर्वोच्च शिखर सगरमाथा मात्र होइन, ८ हजार र ७ हजार भन्दा बढीका अग्ला हिमालहरु र नेपालको सवभन्दा होचो ठाउँ झापाको कचन कवल पनि हाम्रै प्रदेशमा पर्दछ । हाम्रा दुई ठूला छिमेकी मुलुकहरुसँगको प्रत्यक्ष नाका सम्वन्ध उत्तरतर्फ चीनसँग किमाथांका र ओलाङ्गचुङ्गगोला र दक्षिणतर्फ भारतसँगको प्रत्यक्ष सम्बन्ध प्रदेश नं १ सँग जोडिएको छ । यसबाट हामीले प्रशस्त व्यापारिक तथा आर्थिक फाइदा लिन सक्छौं ।

साँस्कृतिक धार्मिक स्थलहरु चाहे त्यो बराहक्षेत्रधाम होस, हलेसीधाम वा पाथीभरा, बुढासुव्वा र मनकामना होस यही प्रदेशमा पर्दछन । झण्डै कुल विद्युत उत्पादन क्षमताको एकतिहाई विद्युत उत्पादन क्षमता वोक्ने अरुण नदी, तमोर नदी, सुनकोशी र दुधकोशी मात्र होइन थुप्रै नदी, खोला नालाहरु यही प्रदेशमा छन् ।
पर्यटकीय हिसाबले सवभन्दा सुन्दर रमणीय स्थलहरु, तालतलैया सँयौ पोखरीहरु हामीसँग छन् । कृषि, वन्यजन्तु, वनस्पती जडीबुटीको विविधता पाइने यो प्रदेशमा यसको विकासको लागि काम गर्नेछु ।

प्रदेश नं १ मै पर्ने जनताको चासो र प्रत्यक्ष सरोकारको विषयमा कोशी उच्च बाँध निर्माणको विषयमा तपाईको धारणा के छ ? यसले त पूर्वी पहाडका जनता विस्थापित हुने कुराहरु आइरहेका छन तर तपाइको पार्टी अध्यक्ष केपी ओलीले वनाउने कुरा गरिरहनु भएको छ नि ?

हो यो कोशी उच्चवाँध एउटा सवैको चासो र सरोकार रहेको एउटा विवादास्पद ठूलो परियोजना हो, जो डीपीआरको चरणमा रहेको र डीपीआरको लागि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेर आउनुभएको कुरा सार्वजानिक भइसकेको छ । सरकारलाई र प्रधानमन्त्रीलाई हेक्का छ छैन थाह छैन तर यो उच्चबाँधले लाखौ जनतालाई विस्थापित गर्छ ।

थुप्रै धार्मिक साँस्कृतिक स्थलहरु मात्र होइन, आदिवासी मुलवासीहरुको थातथलो र उनीहरुको पहिचानको नामेट पार्ने काम गर्छ त्यसैले यो त्यत्तिकै एकपक्षीय ढंगले निर्माण हुने परियोजना हुनै सक्दैन । सिंगो राष्ट्र, सरोकारवाला जनता, सबै समुदायको हित स्वार्थ र लाभलाई ध्यानमा राखेर मात्र अगाडि बढाउन सकिन्छ । यसबाट हाम्रा नागरिकले प्रत्यक्ष र अनुभुति हुनसक्ने गरी फाइदा लिने गरी योजना बनाएर अघि बढ्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment