Comments Add Comment

गुम्बामा तीन दिन झारफुक, चौथो दिनदेखि यौनधन्दा !

अघिल्लो जुनीमा मेरै थियौ भन्दै अस्मिता लुट्दै

७ मंसिर, काठमाडौं । काठमाडौंकी अन्दाजी २६/२७ वर्षकी युवती सबिना (नाम परिर्वतन) लाई केही महिनाअघि छालामा एलर्जी भयो । दक्षिणकालीमा रहेका एकजना लामाले यस्तो समस्या झारफुक गरेरै निको पार्छन् भन्ने उनले साथीभाइबाट सुनिन् ।

साथीभाइको विश्वासमा रोग चट्ट निको हुने सम्झिँदै सविना दक्षिणकालीमा ती लामासमक्ष पुगिन् ।

दक्षिणकाली-१, चाल्नाखेलमा थियो, टासी छुल्ठिम घोम्बो कासुङ नामक गुम्बा । त्यहाँ उपचार गर्ने तान्त्रिक भनिएका व्यक्ति थिए, रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) ।

तीनदिन झारफुक, चौथो दिनदेखि यौन शोषण

पहिलो दिन ती व्यक्तिले झारफुक गरे । दोस्रो दिन आफूले छुँदै पनि रोग निको हुने भन्दै युवतीलाई छुन खोजे । उनी अलि हच्किइन् ।

तेस्रो दिन पनि झारफुक भयो ।

‘तान्त्रिक दैविक शक्ति छ भन्ने सुनेर त्यहाँसम्म पुगेकी थिएँ’, ती महिला भन्छिन्, ‘अरुले रोग पूरै निको भएको समेत सुनाएका थिए ।’

तर, चौथो दिन उनले उनी यौन दुराचारीको शिकार बन्न बाध्य भइन् ।

‘त्यो दिन तिमी मेरो पूर्वजन्मको अर्धाङ्गिनी हौं र यो जन्ममा पनि मेरै हौं भनेर ती व्यक्तिले भने’, उनी सम्झिन्छिन्, ‘त्यसरी पूर्वजन्म र अहिलेको जन्मको कुरा गरेर मलाई रनभुल्लमा पार्‍यो ।’

त्यो दिनलाई उनलाई पहिलेको कोठामा लगिएको थिएन । कोही नभएको सुनसान कोठामा थिइन्, उनी । ती तान्त्रिकले उनलाई शारीरिक सम्बन्ध राख्न बाध्य बनाए ।

कसैलाई बताए रोग बल्झिने धम्की !

छुँदै निको हुने भन्दै ती व्यक्तिले युवतीलाई नग्न बनाउन थाले । र, पटक पटक यौन सम्पर्क गरे । कसैलाई सम्पर्क राखेको कुरा भने ठूलो क्षति हुने भन्दै तान्त्रिकले त्रास देखाउँथे ।

‘कसैलाई सुनाउँदा रोग फेरि बल्झिने भन्थ्यो’, पीडित युवती भन्छिन्, ‘रोगको उपचार गराउन मसँगै यौन सम्पर्क राख्नुपर्छ समेत भन्ने गर्थ्यो ।’

एक दिन ती युवतीले परिवारसमक्ष समस्या सुनाउन पुगिन् । उनलाई तान्त्रिक भनिएका व्यक्तिको व्यवहार ठीक लागिरहेको थिएन । र, उनले आफन्तलाई यो कुरा सुनाइन् ।

त्यसपछि यो घटना सीआइबीसमक्ष पुग्यो । अहिले सीआइबीले ती तान्त्रिकलाई पक्रेर उनीमाथि अनुसन्धान थालेको छ ।

१० वर्षदेखि युवतीहरुलाई यौन शोषण गरेको आशंका

धर्मगुरु भनिएका ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) को स्थायी घर सिन्धुलीको दुम्जा हो । उनी काठमाडौंमा १० वर्षअघि आएर गुम्बा सञ्चालन गरी बसेका थिए ।

पहिल्यैदेखि ती गुरु महिलाप्रति आशक्त रहेको अनुसन्धानका क्रममा खुलेको छ । काठमाडौं आएदेखि नै धर्म गुरुको आवरणमा महिलामाथि यौन शोषण गर्ने गरेको प्रहरीको आशंका छ ।

आफूसँग दैवी शक्ति छ भनेर प्रचार गर्दै जुनसुकै रोग निको पार्ने भनेर उनले युवती तथा महिलाहरुलाई भेला पार्ने गरेका थिए ।

युवतीहरुलाई भेला पार्न उनले वेवसाइटको समेत प्रयोग गर्दै आएका थिए ।

छालामा एलर्जी, एपीलीप्सी र छारे रोग भएका बिरामीलाई पूरै निको पार्ने भन्दै प्रचार गरिएको भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका डीआइजी पुष्कर कार्की बताउँछन् ।

उनका अनुसार ती व्यक्तिले पुरुषलाई हत्तपत्त गुम्बाभित्र छिर्न नदिने गरेका थिए । थुप्रै महिलाहरु ती धर्मगुरुको शिकार बनेको हुन सक्ने प्रहरीको आशंका छ ।

अनुसन्धानका क्रममा ती व्यक्तिले विवाह भएकालाई महिलालाई ‘पूर्वजन्ममा आफ्नै अर्धाङ्गिनी र अहिले भुलबस अर्कैको भएको’ भन्दै यौन शोषण गर्ने गरेको प्रहरी बताउँछ ।

विवाह नभएका युवतीलाई भने ‘अघिल्लो जन्ममा पनि आफ्नै र अहिलेको जन्ममा पनि आफ्नै भएको’ भन्दै यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको भनाइ छ ।

अनुसन्धानको क्रममा ती व्यक्तिले विवाह गरेको समेत खुलेको छ । उनले श्रीमतीलाई झापामा राखेर होटल व्यवसाय समेत सञ्चालन गरिरहेको प्रहरीको आशंका छ ।

श्रीमतीसहित उनका छोराहरु झापामा रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment