Comments Add Comment

सोलुखुम्बुमा शान्तिपूर्ण मतदान, तिङ्लाका मतदाता भोट हाल्न गएनन्

१० मंसिर, सोलुखुम्बु । सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । तिङ्लाका मतदाताले भने मतदान बहिस्कार गरेका छन् ।

जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

जिल्लाको सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको छ । चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहे पनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए ।

तल्लो क्षेत्रमा भने बिहानैबाट मतदाताहरुको लाइन लागेको छ ।

यसअघि स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक तिङ्लावासीले यसपटकको निर्वाचनमा पनि यतिबेलासम्म कोही पनि मतदानका लागि गएका छैनन् ।

तिङ्लामा रहेका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन् ।

यसबेलासम्म सुरक्षित रुपमा मतदान कार्य भइरहेको र सुरक्षा अवस्था मजबुत रहेको प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment