Comments Add Comment

खुमबहादुरको गृहक्षेत्रमा कांग्रेसको किल्ला जोगिन्छ कि ढल्छ ?

यस्तो छ दाङ क्षेत्र नम्बर १ को चुनावी आँकलन

१३ मंसिर, दाङ । प्रदेश नम्बर ५ को सम्भावित राजधानीका रुपमा चर्चामा रहेको दाङ जिल्लाको निर्वाचनमा धेरैको ध्यान केन्द्रित छ । यहाँ माओवादीका कृष्णबहादुर महरा, एमालेका शंकर पोखरेल र कांग्रेसका दीपक गिरीजस्ता दह्रा नेताहरु उम्मेदवार छन् ।

पहिलो र दोस्रो संविधानसभा चुनावमा दाङमा ५ वटा निर्वाचन क्षेत्र थिए । हाल प्रतिनिधिसभामा ३ वटा निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा ६ सिट छन् । प्रतिनिधिसभाका ३ सिटका लागि ३० जना र प्रदेशसभाका ६ सिटका लागि ५१ जना उम्मेदवार छन् ।

दाङमा ३ लाख ३८ हजार ९५३ मतदाता छन् । महिला मतदाताको संख्या १ लाख ७२ हजार ८३३ र पुरुष मतदाताको संख्या १ लाख ६६ हजार ११८ छ । जिल्लाभर ३९४ मतदान केन्द्र तोकिएका छन् ।

दाङ १: खुमबहादुरको गृहक्षेत्रमा कसले जित्ला ?

कांग्रेस नेता खुमबहादुर खड्काको घर रहेको दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर, मुख्य प्रतिस्पर्धी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् ।

प्रतिनिधिसभाका लागि कांग्रेसबाट पूर्वसांसद सुशीला चौधरी र वाम गठबन्धनबाट एमाले दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरी उम्मेदवार छन् । सुशीला दोस्रो संविधानसभामा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् भने मेटमणि पहिलोपटक आम चुनाव लड्न लागेका हुन् ।

यसैगरी संघीय समाजवादी फोरमबाट अशोककुमार यादव, नयाँ शक्तिबाट होमप्रसाद शर्मा, जनमोर्चाबाट कपिलदेव खनाल, नेकपा मालेबाट रेखा केसी, कांग्रेस बीपीबाट अशोक खड्का र संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालबाट लीलाराम चौधरी प्रतिनिधिसभामा उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारका रुपमा सुरेन्द्र चौधरी, परशुनारायण चौधरी र गौरसिंह महर चुनावी मैदानमा छन् ।

प्रदेशमा उम्मेदवार कोको छन् ?


प्रदेशसभा तर्फ १ (क) मा ८ जना उम्मेदवार छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रजित चौधरी र कांग्रेसका प्रदीप थापा मुख्य प्रतिस्पर्धी हुन् । चौधरीले पहिलो संविधानसभा चुनावमा खुमबहादुर खड्कालाई हराएका थिए भने थापा नयाँ हुन् ।

यसैगरी नयाँशक्तिबाट एकराज चौधरी, राष्ट्रिय जनमोर्चाबाट जगतप्रसाद पोख्रेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट रनबहादुर यादव, मालेबाट सविता जीसी, संघीय समाजवादी फोरम नेपालबाट सीताराम यादव र स्वतन्त्रबाट चूडामणि चौधरी पनि प्रदेशसभातर्फ १ को (क) क्षेत्रमा उम्मेदवार बनेका छन् ।

प्रदेश सभातर्फ १ (ख) मा १० जना उम्मेदवार छन् । तर, वाम गठबन्धनबाट एमालेका रेवतीरमण शर्मा र नेपाली कांग्रेसका जानकीलाल बस्नेत मुख्य प्रतिस्पर्धी हुन् ।

शर्मा पहिलो र दोस्रो संविधानसभा चुनावमा पनि एमालेबाट क्षेत्र नम्बर १ मा उम्मेदवार थिए भने बस्नेत नयाँ हुन् ।

शर्मा र बस्नेतसँगै प्रदेशसभातर्फ १ को (ख) मा राप्रपा प्रजातान्त्रिकबाट किरणकुमार बुढाथोकी, नेकपा मालेबाट कृष्णबहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चाबाट ठाकुरप्रसाद भण्डारी, नयाँ शक्तिबाट दिलबहादुर महतारा, वैद्य माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट नरेन्द्रबहादुर बञ्जाडे, संघीय समाजवादी फोरम नेपालबाट भरतलाल चौधरी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीबाट भक्तबहादुर घर्तीमगर र स्वतन्त्रबाट दिकपाल योगी पनि उम्मेदवार छन् ।

मतदाताको अवस्था

दाङ क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका तथा घोराही उपमहानगरपालिकाका वडा नम्बर १, २, ३ र ५ वडा पर्छन् ।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार एक नम्बर निर्वाचन क्षेत्रमा कुल मतदाता एक लाख ११ हजार ९६ जना छन् ।

स्थानीय तह निर्वाचनभन्दा अहिलेको निर्वाचनमा १५ हजार ८१० मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार एक नम्बर निर्वाचन क्षेत्रमा ५५ हजार ८५९ महिला, ५५ हजार २३६ पुरुष र एक जना तेस्रो लिंगी गरी कुल मतदाता एक लाख ११ हजार ९६ जना छन् ।

लमही नगरपालिकामा ३० हजार ९१, राप्ती गाउँपालिकामा २८ हजार ६८, राजपुर गाउँपालिकामा १२ हजार ३१५ र गढवा गाउँपालिकामा २४ हजार ४५४ मतदाता छन् ।

स्थानीय तह निर्वाचन भन्दा १५ हजारभन्दा धेरै मतदाता अहिले थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमहीमा ५ हजार १५५, राप्तीमा ५ हजार १६३, राजपुरमा १ हजार ८९२ र गढवामा ३ हजार ३८२ जना मतदाता बढेका हुन् ।

क्षेत्रनम्बर १ मा पर्ने घोराही उपमहानगरपालिकाका १, २, ३ र ५ नम्बर वडामा कति बढे भनेर एकीन तथ्यांक त छैन तर, समग्र घोराही उपमहानगरपालिकामा भने स्थानीय तह निर्वाचनभन्दा १५ हजार ८१० मतदाता थपिएका छन् र यी मतदाता ककसको पक्षमा छन् तिनीहरु नै अबको निर्वाचनमा निर्णायक हुनेछन् ।

स्थानीय चुनावको स्थिति

स्थानीय चुनावमा लमही नगरपालिका र गढवा गाउँपालिकामा एमालेले तथा राप्ती र राजपुर गाउँपालिकामा कांग्रेसले जितेका छन् । गढवा, राप्ती र राजपुर तीनवटै गाउँपालिकामा माओवादी दोस्रो भएको छ । लमही नगरपालिकामा भने कांग्रेसले उपप्रमुख जित्दै दोस्रो स्थान पनि बनाउन सफल भएको छ ।

त्यसैगरी एक नम्बर निर्वाचन क्षेत्रमा पर्ने घोराही उपमहानगरपालिकाका वडा नम्बर १ र २ एमालेले तथा ३ र ५ कांग्रेसले जितेका छन् ।

हारजितको सिलसिला र चुनावी विश्लेषण

दाङ १ कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको निर्वाचन क्षेत्र हो । विगतका निर्वाचनमा कांग्रेसका खुमबहादुर खड्का र हरिप्रसाद चौधरीलाई यहाँका मतदाताले जिताउँदै आएका थिए ।

तर, पहिलो संविधानसभा निर्वाचनमा माओवादीका इन्द्रजित चौधरीले खुमबहादुरलाई हराइदिए । यो कांग्रेसका लागि मात्रै होइन पूरै दाङबासीका लागि अप्रत्यासित नतिजा थियो ।

दोस्रो संविधानसभा चुनावमा माओवादी विभाजनको अवस्थामा रहेको र इन्द्रजित मोहन वैद्य समूहमा लागेको कारण हुन सक्छ माओवादी तेस्रो स्थानमा रह्यो ।

दोस्रो संविधानसभा निर्वाचनमा दाङ १ बाट कांग्रेसकी पार्वती डीसी चौधरीले एमालेका रेवतीरमण शर्मा, जो अहिले प्रदेशसभामा उम्मेदवार छन्, लाई हराइन् । माओवादी उम्मेदवार नारायणी शर्मा भने तेस्रो स्थानमा रहिन् ।

पहिलो संविधानसभा निर्वाचनमा खुमबहादुरलाई हराएर चर्चामा आएका इन्द्रजित चौधरी र संविधानसभाका दुबै निर्वाचन लडेका एमालेका रेवतीरमण शर्मा प्रदेशसभामा क्रमशः ‘क’ र ‘ख’मा उम्मेदवार छन् ।

पहिलो संविधानसभामा तेस्रो स्थानमा रहेका शर्मा दोस्रो संविधानसभामा दोस्रो स्थानमा उक्लिएका थिए । अब तेस्रो पटकको आम निर्वाचन जित्ने दाउँमा छन् उनी । यस्तै जीवनमा दोस्रो पटक चुनाव लड्न लागेका इन्द्रजित पनि इतिहास दोहोर्‍याउने प्रयासमा छन् ।

पछिल्ला दुई निर्वाचनमा दाङ क्षेत्र नम्बर १ मा एकपटक माओवादीले र एकपटक कांग्रेसले जितेका छन् । अब तेस्रोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसले जित्ला चासोको विषय बनेको छ ।

तर, माओवादी पार्टी एकता भएको, एमालेसँग मिलेर चुनाव लडेको र राप्रपाको पनि साथ पाएकाले आफूहरु बलियो भएको माओवादी नेता डायमण्डले दावी गरे ।

त्यसो त फोरम लोकतान्त्रिकसँग पार्टी एकता भएकाले कांग्रेसको पनि केही मत बढ्ने पक्का छ । फोरम लोकतान्त्रिकबाट दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका वीरेन्द्र चौधरी नेतृत्वको समूह हालै माओवादी केन्द्रमा प्रवेश गरेकाले कांग्रेसलाई यसपालि घाटा हुने वामपन्थीहरुको दाबी छ ।

तत्कालीन फोरम लोकतान्त्रिकको युवा संगठन विभाग प्रमुखसमेत रहेका वीरेन्द्रले दोस्रो संविधानसभा चुनावमा दाङ क्षेत्र नम्बर १ बाट चुनाव लड्दा चार हजार बढी मत ल्याएका थिए ।

साथै, खुमबहादुरका भतिजा नाता पर्ने डिल्लीबहादुर खड्का एमालेमा प्रवेश गरेकाले उनले केही सय मत थप्न सक्छन् । लमही नगरपालिकाको मेयरमा टिकट नपाएपछि कांग्रेसबाट वागी उम्मेदवार उठेका थिए उनी । लमहीको मेयरमा कांग्रेस हार्नुमा उनकै मत निर्णायक बनेको थियो ।

त्यसो त फोरम लोकतान्त्रिकसँग कांग्रेसको एकता भएको र थारु समुदायबाट फोरमका प्रमुख सचेतकसम्म बनेका योगेन्द्र चौधरीको घर पनि क्षेत्र नम्बर १ मै रहेकाले कांग्रेसका लागि क्षतिपूर्ति मिल्ने आशा कांग्रेस नेताहरुले गरेको देखिन्छ ।

यो पनि पढ्नुहोस्
कृष्णबहादुर महराको उपप्रधानमन्त्री पद दंगालीको हातमा
देउखुरीका मतदाताको अनौठो सोचः जसले दाउरा दिन्छ, उसैलाई भोट !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment