Comments Add Comment

मतदाता शिक्षामा राजनीतिक दलहरु गम्भीर हुनुपर्नेमा जोड

१४ मंसिर, वीरगञ्ज । राजनीतिक दलहरुले चुनावी घरदैलोसँगै मतदाता शिक्षा लैजानुपर्नेमा पर्साका बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुले सुझाएका छन् ।

उनीहरुले मत बदर भएकै कारण उम्मेदवार हार्ने अवस्था नआओस भन्नेमा सबै सरोकारवाला सचेत हुनुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगले समतदाता शिक्षामा करोडौं खर्च गरेको भएपनि त्यो प्रभावकारी नदेखिएको र सबै ठाउँमा नपुगेको भन्दै वुद्धिजीवी र नागरिक समाजका अगुवाले दल र उम्मेदवारले घरदैलोसँगै मतदातालाई पनि मत खसाल्न शिक्षित बनाउनुपर्ने बताए ।

नागरिक समाजका अगुवा एवं अधिवक्ता पन्नालाल गुप्ताले स्थानीय तहको निर्वाचनमा पनि राज्यले मतदाता शिक्षामा खासै ध्यान नदिएको तर मतदाता स्वयमले मत खसाल्ने तरिकाको बारेमा सिकेको दावी गरे ।

निर्वाचन आयोगले प्रत्येक मतदाताको घरमा गएर मतदाता शिक्षा दिन कार्यकर्ता खटाएको दावी गरेपनि त्यसो नभएको दावी उनको छ ।
‘प्रत्येक राजनीतिक दल चुनाव जित्ने इच्छा राखेरै चुनावमा लडेका हुन्छन् । त्यसका लागि को भन्दा को कम भनेर आचार संहिता विपरितका गतिविधि गर्न तत्पर देखिन्छन् । तर, उनीहरुले पनि मतदाता शिक्षामा खासै गम्भीरता देखाउन सकेका छैनन् ।’ गुप्ताले भने ‘स्थानीय तहमा मतदाता स्वयंमले सिकेका कारण कम मत बदर भएको छ । अहिले पनि त्यसै गर्नुपर्ने अवस्था छ ।”

वीरगञ्ज पब्लिक कलेका निर्देशक एवं प्राध्यापक दिपक शाक्यले निर्वाचन सही नभएको खण्डमा लोकतन्त्र नै विषालु हुने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले मतदाता शिक्षामा आयोगको मात्रै भर परेर नहुने बताए ।

जिल्ला मताधिकार सञ्जाल पर्साका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ पर्सा पूर्व अध्यक्ष केसि लामिछानेले मत सही तरिकाले खसाल्न नजानेकै कारण मत बदर हुने र जित्नुपर्ने उम्मेदवारले हार्ने गरेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम वञ्जारा, पूर्व अध्यक्ष दिपेन्द्र चौहान लगायतले दलै पिच्छे मिडिया र मिडिया सेन्टर खोलिएको र उनीहरुले सम्प्रेसण गर्ने समाचारले मतदातालाई अन्यौलमा पार्ने गरेको बताए ।

आयोग गम्भीर नभएको राजनीतिक दलका अगुवाको आरोप

नेपाली काँग्रेसका पर्सा जिल्ला सभापति अजय द्विवेदीले लोकतान्त्रिक परिपाटीबाट नै लोकतन्त्र खतरामा रहेको अवस्थामा मतदाता शिक्षा प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

नेकपा एमालेका पर्सा जिल्ला संयोजक प्रभु हजाराले मतदाता मतदान गर्ने विषयमा अझै अलमलमा रहेको आफूहरुले पनि बुझेको बताए ।

उनले कोण सभामा नमूना ब्यालेट पेपर देखाएर मतदान गर्न सिकाउने गरेको जानकारी दिए ।

राजपाका सहमहासचिव नेजामुद्धिन समानीले निर्वाचन आयोगले नै मतदाता शिक्षित होस भन्ने नचाहेको आरोप लगाए । उनले प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि दुईवटा मतपत्र हुनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment