Comments Add Comment

पाल्पामा ‘क्लिन स्वीप’ गर्ने र शाख जोगाउने होड

१३ मंसिर, पाल्पा । ०४८ यताको चुनावमा पाल्पा कहिल्यै कुनै एक पार्टीको गढ रहेन । पहिलो संविधानसभामा देशभर ढुंगामाटो माओवादी भयो भन्दा पनि पाल्पा उसको गढ बन्न सकेन । तीन मध्येमात्र एक सिट जित्यो ।

तर, योपटक भने वाम गठबन्धनले प्रतिनिधिसभाका दुई सिटसँगै प्रदेशसभाका चारै सिट जितेर पाल्पालाई वामपन्थीहरुको गढ बनाउने दाबी गरेको छ । तर, एमाले र माओवादीसँग एक्लै प्रतिस्पर्धा गरिरहेको कांग्रेस पनि के कम ! शाख जोगाउने प्रयासमा रहेको उसले पनि सबै जित्ने दाबी गरेको छ ।

क्षेत्र नम्बर १ मा ८५ हजार ९८६ मतदाता छन् भने ११ उम्मेदवार चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता दलबहादुर राना र कांग्रेसका विजयराज घिमिरेबीच हुने देखिन्छ ।

पाल्पाको तत्कालीन क्षेत्र नम्बर १ मा एमालेले ०५१ यता कहिल्यै हारेको छैन । ०५१ मा राना आफैंले चुनाव जिते । ०५६ मा उनी मालेतिर लागे तर, एमालेले यो क्षेत्र गुमाउनु परेन । ०६४ मा राना आफैं विजयी भए भने ०७० मा राधाकृष्ण कँडेलले चुनाव जिते । यद्यपि यो पटक भूगोल केही ठूलो भएको छ ।

कांग्रेस उम्मेदवार घिमिरे भने पहिलो पटक सांसदका लागि प्रत्यक्ष चुनाव लडिरहेका छन् ।

२०३५ सालमा गाँडाकोट स्वाथ्यचौकी प्रमुख भएर ५ वर्ष काम गरेका राना पञ्चायतबिरुद्ध लागेको भन्दै जागिरबाट बर्खास्त भएका थिए । त्यसपछि निरन्तर पाल्पाको राजनीतिमा रहेका राणा र पहिलो पटक निर्वाचनमा होमिएका विजयराज घिमिरेबीच त्यति रोचक चुनावी प्रपिस्पर्धा हुने देखएको छैन ।

हारजित जे भए पनि आफू २५ बर्षदेखि जनताको सेवामा निरन्तर रहेकाले जनताले आफूलाई निर्वाचित गर्ने रानाको दाबी छ । कांग्रेस उम्मेदवार घिमिरेले भने जनताले विकल्प खोजेको भन्दै आफू निर्वाचित हुने दाबी गरेका छन् ।

स्थानीय चुनावमा दलहरुले पाएको मतको आँकडाले पनि एमालेलाई हौसाएको छ । पाल्पा क्षेत्र नम्बर १ मा पर्ने स्थानीय तहहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेसको २२ हजार छ भने एमालेको झण्डै २८ हजार । वाम गठबन्धनमा रहेका माओवादीको भोट साढे २ हजार छ ।

एमाले नेता ठाकुर गैर भन्छन्, ‘यो क्षेत्रमा ०५१ सालयता एमालेले जित्दै आएको छ । हाम्रा उम्मेदवार स्थानीय समुदायको हुन् भने पार्टीको संगठन पनि बलियो छ ।’

प्रदेशसभातर्फ १ को कमा कांग्रेसका देवराज ढकाल र एमालेका युवराज खनालसहित ७ उम्मेदवार छन् भने खमा कांग्रेसका दानबहादुर पछाई क्षेत्री र एमालेका नारायणप्रसाद आचार्यसहित ७ उम्मेदवार चुनावी मैदानमा छन् ।

पाण्डे र नेपाल दुबै चुनावी खेलाडी

पाल्पा २ मा भने रोचक प्रतिस्पर्धा छ । कांग्रेस र वाम उम्मेदवार दुबै चुनावी खेलाडी हुन् । ९५ हजार २६९ मतदाता रहेको यो क्षेत्रमा १० उम्मेदवार छन् । तर, प्रतिस्पर्धा कांग्रेसका हरिप्रसाद नेपाल र एमालेका सोमप्रसाद पाण्डेबीच हुनेछ ।

पाण्डे र नेपाल दुबै दोस्रो संविधानसभामा सांसद थिए । नेपाल ०४८ र ०७० मा पाल्पा ३ बाट विजयी भएका थिए भने पाण्डे २०५१, २०५६ र ०७० मा पाल्पा २ बाट निर्वाचित भएका हुन् । ०६४ मा भने पराजित भएका थिए ।

दुवै नेताको स्थानीयस्तरमा राम्रो छवि छ र दुबैलाई चुनावी खेलाडीका रुपमा लिने गरिन्छ ।

स्थानीय तहको मतका आधारमा पनि पाल्पा २ मा कांग्रेस र एमाले उस्तै छन् । तर, एमालेलाई माओवादीको साथ छ भने कांग्रेस एक्लै भिड्नु पर्ने बाध्यता छ ।

पाल्पा १ को तुलनामा २ मा माओवादीको संगठन छ । स्थानीय तहमा एमाले र कांग्रेसले २१/२१ हजार बढी मत पाउँदा माओवादीको ६ हजार बढी मत छ ।

त्यसैले एमालेले माओवादीको साथ लिएर कांग्रेसलाई हराउन सकिने विश्लेषण गरेको छ । तर, कांग्रेसले भने वरिष्ठ नेता माधवकुमार नेपालका सम्धी पाण्डेलाई टिकट दिएपछि एमाले देखिएको विवादबाट लाभ दिने रणनीति बनाएको छ ।

कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना भन्छन्, ‘वाम गठबन्धन केन्द्रमा बनेपनि जिल्लामा असन्तुष्टि छ । एमाले र माओवादीका थुपै कार्यकर्ता कांग्रेसमा आएका छन् । हामी पाल्पाको प्रदेश र प्रतिनिधिसभाको सबै सिट जित्छौं ।’

प्रदेशसभातर्फ २ को कमा कांग्रेसका माधवप्रसाद नेपाल र एमालेका पुरनमान बज्राचार्यसहित १२ तथा खमा कांग्रेसमा रामबहादुर कार्की र वाम गठबन्धनबाट माओवादीका तुलाराम घर्ती मगरसहित ६ उम्मेदवार चुनावी मैदानमा छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment