Comments Add Comment

रौतहटमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

१५ मंसिर, रौतहट । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भारतसँग सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै चेक प्वाइन्ट राखेर दर्जनौं स्थानमा सवारीसाधन चेकजाँच गरिरहेका छन् भने सिमावर्ती क्षेत्रहरुमा पनि निगरानी बढाइएको छ ।

सशस्त्रले २६ किलो मिटर लामो खुल्ला सीमानामा भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको सहकार्यमा संयुक्त गस्ती सुरु गरेको छ ।

निर्वाचनका समयमा खुल्ला सिमानाका कारण अपराधिक क्रियाकलापहरु बढ्न सक्ने भन्दै संयुक्त रुपमा गस्ती बढाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए ।

नेपाल भारत सुरक्षा अधिकारीहरुबीच भएको छलफलका आधारमा निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्र कडाइ गरिएको उनले बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त रुपमा गस्ती गरिरहेका छन् ।

निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार सीमा नाकाहरुमा गस्ती बढाइएको उपरीक्षक पोखरेलले बताए ।

नेपाल–भारत सुरक्षा अधिकारीहरुबीच भएको वार्ता अनुसार भारतीय पक्षले पनि निर्वाचनका बेला सीमानाबाट आपराधिक गतिविधि हुन नदिन सहयोग गर्ने बताएका छन् ।

रौतहटको २६ किलोमिटरको भूभाग भारतको बिहारसँग जोडिएको छ । सो क्षेत्रबाट आपराधिक समूह तथा साना हतियारहरु नेपाल भित्रिन सक्ने सम्भावना बढी रहेको छ ।

आधाभन्दा बढी मतदान केन्द्रहरु संवेदनशील रहेको रौतहटमा खुल्ला सिमानाले थप सुरक्षा चुनौती थपेको छ ।

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना गरी झण्डै ७ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment