Comments Add Comment

‘कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्’

'ढाँटेर राजनीति गर्दिनँ, कम्युनिष्टले जित्दैमा अधिनायकवाद आउँदैन'

१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई हप्काइरहेका थिए । बहिनी डा.मन्जुला गिरीलाई पनि चुनावका बेला अलि व्यवस्थित हुन निर्देशन दिइरहेका थिए । यस्तो लाग्थ्यो, उनी चुनावका उम्मेदवार नभएर, कुनै लथालिंग घरका अभिभावक हुन् ।

‘तपाईहरु मलाई नै खोज्दै किन आउनुभएको ? यो मेरो सहयोगी पनि पत्रकार बन्दैछ, पत्रकार भन्यो कि कुनै ग्रहको भगवान आएजस्तो हुँदो रहेछ, लिएर आइहाल्छ म भा’ठाउँ’ झर्को मान्दै गिरीले हामीतिर हेरेर एकछिन कराए । अब कुनै पनि पत्रकारलाई समय नदिनू भन्दै उनी २० हजार रुपैयाँ खोज्न निस्किए ।

बहिनीलाई मोबाइल किन्न पैसा चाहिएको रहेछ, सहयोगीलाई भनेर २० हजार दिलाए, अनि हामीसँग कुरा गर्न बसे ।

सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप गिरीले यो अन्तिमपटक हो भन्दै भोट मागेका रहेछन् ।

उनले खुलस्त पार्दै भने- म ढाँटेर राजनीति गर्दिन, कांग्रेस पार्टी राम्रो हो पनि भनेको छैन, मेरो पार्टी खराब छ, तर मलाई अटाउने पार्टी कांग्रेस बाहेक अरु देखाइदेऊ न त भन्दा कुनै पनि पार्टी कांग्रेसभन्दा असल देखिएनन् । यसपटक चुनाव लडेर कांग्रेसको एक सिट बढ्छ भने बढोस् भनेर चुनाव लडिदिएको हुँ ।

प्रदीप गिरीसँग चुनावी प्रतिस्पर्धाको अवस्थाबारे बुझ्न गएका हामीले कुराकानी कसरी थाल्ने भन्ने मेलो पाउन सकेनौं । दार्शनिक नेता गिरीमा चुनावी मुड नै थिएन । चुनावमा उम्मेदवार बनेका नेताहरु आफ्ना कुरा मिडियाबाट मतदातामा लैजान आतूर हुन्छन् । तर, गिरी भने पत्रकारसँगै झर्को मानिरहेका थिए । तर, पनि हामीले चुनावमै केन्द्रित रहेर प्रश्न शुरु गर्‍यौं ।

तपाई लामै ग्यापमा प्रत्यक्ष चुनाव लड्न आउनुभयो, त्यो पनि क्षेत्र परिवर्तन गरेर, किन हो ?

मैले आफ्नो संसदीय जीवनको शुरुवात प्रत्यक्ष निर्वाचनबाटै गरेको हो । बीचमा दुईपटक स्थानीय कारण संविधानसभामा समानुपातिकमा बसेको हुँ । यसपटक मैले चुनाव लड्न चाहेँ, पार्टीका मान्छेले पनि मलाई जन्मथलोमै बोलाए । त्यसैले यहाँ आएको छु । यसमा अरु केही भनिरहनुपर्ने कुरा छैन ।

तर, तपाईको कर्मथलो छाडेर जन्मथलो रोज्नुभएको हो ?

चुनाव लडेको ठाउँलाई कर्मथलो भन्ने अवधारणा धेरै दुर्भाग्यपूर्ण हो । सांसद त एउटा क्षेत्रका लागि होइन नि । आफ्नो क्षेत्रका लागि त नगरपालिकाको मेयर, गाउँपालिका अध्यक्ष भए भइहाल्थ्यो नि । दुर्भाग्यवस कांग्रेसजस्तो ऐतिहासिक पार्टीले नै सांसदलाई क्षेत्रमा सीमित गरिदियो । तपाईजस्तो प्रबुद्ध व्यक्तिले पनि मलाई अहिले कर्मथलोको प्रश्न उठाउनु भनेको त्यसकै द्योतक हो । यसका कारण धेरै छन् । यो त कांग्रेसको गढ हो नि । सोह्रैआना मैले रोजेर भन्दा पनि पार्टीले पनि यहीँ पठायो ।

यो मधेस आन्दोलनको उद्गम थलो लहानसहितको क्षेत्र पनि हो, पछिल्लोपटक एमाले निकै बलियो बनेको देखिन्छ, कत्तिको दबावमा हुनुहुन्छ ?

मतगणनाको हिसाबले हेर्ने हो भने, म भविष्यवाणी गरिदिन्छु, मेरो दुवै प्रतिस्पर्धीको मत जोडेर पनि बढी मत पाउँछु । चुनाव जित्ने भन्ने कुरामा मलाई कुनै समस्या छैन । बिचारको हिसाबले मधेसमा फोरमसँग मेरो बिचारधारा नजिक छ, मेरो बिचाराधारा सिके राउतहरुसँग मिल्दैन ।

मधेस पृथ्वीनारायण शाहको पालादेखि नै यस राज्यबाट बहिस्करणमा परेको छ । मधेसीले यो राज्यमा सहभागिता र पहुँच पाएका छैनन् । राज्य भनेको प्रतिनिधिसभा होइन । प्रतिनिधिसभा त राज्यको अनुहारमात्र हो । अनुहारलाई देखाउन मधेसी, जनजाति, महिला पनि छन् भनेर देखाउन सकिन्छ । तर, तिनले संरचनात्मक परिवर्तन गर्दैनन् । शरीर पुरानै छ भने मधेसीले मूलधारबाट बहिस्कृत नै छन् । तिनका एजेण्डा मैले उठाएको छु ।

तपाईका विपक्षीले तपाईले संविधानमा हस्ताक्षर नगरेको, नाकाबन्दीको समर्थन गरेको जस्ता आरोप लगाएका रहेछन् नि ?

चुनावमा आरोप प्रत्यारोप हुन्छ । विपक्षीहरुले अरु पनि धेरै आरोप लगाइरहेका मैले सुनिरहेको छु । चुनाव प्रचारमा मलाई भन्न मन नलागेको कुरा पनि मैले भनिरहेको हुन्छु । व्यक्तिगत लान्छाना मैले लगाइरहेको छैन । हिजो प्रधानमन्त्री शेरबहादुरजी आउनुभयो, मैले उहाँको बारे बढाइ चढाई बोलेँ । ओलीजी र प्रचण्डजीहरुको बारेमा मन नलाग्दा नलाग्दै पनि गाली गरेँ । यस्तै हो, चुनावमा जे पनि चल्छ ।

मैले संविधानमा हस्ताक्षर नगरेकै हो, यसमा मैले आपत्ति जनाउनुपर्ने कुरा छ र ।

लामो ग्यापपछि प्रत्यक्ष चुनाव लड्नुभएको छ, विगतको र अहिलेको चुनावमा के फरक पाउनुभयो ?

विगतका चुनावभन्दा यो चुनाव कतिपय सन्दर्भमा फरक पनि छ । भर्खरै स्थानीय चुनावमा धेरै खर्च भएछ । खर्च धान्नै नसक्ने गरी बढेछ । यो चाहिँ एउटा अलि समस्याकै कुरा भयो । तर, विगतमा जस्तो आरोप प्रत्यारोप, हिंसा, गोला बारुदको अवस्थ्ाा अहिले कम छ । सभ्य र शिष्ट ढंगले नै प्रतिस्पर्धा भइरहेको छ ।

म पैलो चुनाव लड्दा कांग्रेसको जुन संगठनात्मक ढाँचा थियो, अहिले बिल्कुल फरक भइसकेछ । नाम त कांग्रेसकै छ तर यति ज्यादा विकृत भइसक्यो कि पार्टी भन्ने नै रहेन ।  कांग्रेसमात्र होइन, एमाले र मधेसवादीमा पनि आयाराम गयारामहरु बढेका छन् । कुनै बैचारिक आस्था छैन, यसले चुनावको परिणाममै असर पार्छ । कम्युनिस्टहरुमा समेत बैचारिक प्रतिवद्धता देखिएको छैन, आज एउटा पार्टीमा छ, भोलि अर्कोमा गइसकेको हुन्छ ।

तपाईको स्वभाव पनि अलि फरक खालको छ, के भनेर भोट मागिरहनुभएको छ जनतासँग ?

यो ठाउँ मेरो जन्ममूमि हो । मेरो घर यहीँ बस्तिपुरमा छ । मेरी बहिनी मन्जुला गिरी हेर्नुस, यहीँ बसिरहेकी छ । म किन उम्मेदवार बनेँ भनेर मलाई भोट दिने कारण पब्लिकले सोध्दैन । म यहीँ जन्मेको, हुर्केको, मेरो बानी पनि उनीहरुलाई थाहा छ । उनीहरुले मेरो राम्रो नराम्रो सबै थाहा पाएका छन् । त्यसैले मैले यहाँ यो गर्छु, ऊ गर्छु भनेर केही भोट थपिनेवाला छैन ।

यसका साथै मैले यो संविधान त्रुटिपूर्ण छ भनेर हस्ताक्षर गरेको छैन । मैले यहाँका जनतालाई पनि भनेको छु । यो संविधानलाई मधेसीको पक्षमा बनाउन प्रयास गर्छु भनेको छु । यो संविधान अधूरो छ, अपूरो छ भन्ने सबैभन्दा ठूलो प्रमाण मैले हस्ताक्षर नगर्नु हो, यही कुरा मैले भनेको छु ।

कांंग्रेस खराब पार्टी हो भनेर म आफैंले भनिरहेको छु । तर, मलाई जनताले कांग्रेस भएर होइन, हाम्रो मान्छे हो भनेर भोट दिन्छन् ।

संविधानमा हस्ताक्षर नगरेको कुरालाई चुनावी मसला बनाउनुभएको हो ?

यो तपाईलाई अहिले भनिहाल्ने बेला भएको छैन होला । चुनाव पनि एउटा लडाइ नै हो । जित्छु कि हार्छु भन्ने धेरै सोचेको छैन । भोटरलाई असर गर्छ भनेर मैले धेरै कुरा लुकाउने कुरा पनि छैन ।

साँचो कुरा भन्दा जित हारलाई असर गर्ला, तर मेरो यो अन्तिम लडाई हो । लामो समयदेखि कांग्रेसभित्र लडेँ । ठीक बेठीक जे भए पनि अहिले म अटाउने पार्टी नेपाली कांग्रेस नै रहृयो । यो पार्टीको जति आलोचना गरे पनि, जति उपाहास गर्दा पनि यसका नेताहरुले मलाई विश्वास गरेर टिकट दिए । यो अन्तिम हो, मैले यो पार्टीमा धेरै पाएँ ।

अन्तिम भन्नाले अब तपाई चुनाव नलड्ने ?

मेरो चुनाव लड्ने अन्तिम हो । म यो चुनाव लडेर कांग्रेसको एक सिट बढ्छ भने म चुनाव उठ्छु भनेर उठेको हुँ । अब म चुनाव लड्दा पनि लड्दिनँ । म जनतालाई ढाँटेर राजनीति गर्दिनँ । मैले सत्य बोल्दा चुनाव हार्छु कि भन्ने डर छैन, तर म चुनाव जित्छु ।

अहिले म मधेसका बस्तीहरुमा गइरहेको छु । वास्तवमा मान्छेहरुको चेताना धेरै माथि गएछ । म मधेसको पक्षमा उभिएको छु भन्ने कुरा यहाँका जनतालाई भन्नुपर्ने रहेनछ । उनीहरु सबैले थाहा पाएका छन् । त्यसका लागि चाहिँ तपाईहरुलाई मिडियावालालाई धन्यवाद दिन चाहान्छु ।

आफ्ना प्रतिस्पर्धी एमालेका गंगाप्रसाद यादव र फोरमका राजलाल यादवबारे के भन्नुहुन्छ ?

मेरा प्रतिस्पर्धी आ आफ्ना पार्टीका एकदम गतिला उम्मेदवार छन् । शुरुदेखि नै राजनीति गरेका, राजनीतिमै बाँचेका मान्छे छन् । उनीहरुमा मैले कुनै खोट देखिरहेको छैन । गंगा यादव मेरै गाउँठाउँका हुन्, उनले अहिले मविरुद्ध अलि बढी नै हल्लाखल्ला गरिरहेका छन् ।

दुई महिनाअघिको स्थानीय चुनावको मतपरिणाम हेर्दा चाहिँ हारिन्छ कि भन्ने धरमर लाग्दैन ?

स्थानीय चुनावको परिणामले राष्ट्रिय चुनावलाई असर गर्दैन । सबै चुनाव स्थानीय हुन्छन्, तर एजेण्डा फरक हुन्छन् । अहिले तीन पार्टी छन्, तीन एजेण्डा छन् । बरु उम्मेदवारका रुपमा अरु दुई उम्मेदवारसँग मेरो तुलनै गरेका छैनन् । मलाई श्रेष्ठ नै भनेका छन् ।

पार्टीका रुपमा कता कता पार्टी चाहिँ… .भनेर अनुहार बिगार्ने गर्छन् । मैले हाँसेर भन्ने गरेको छु- मेरो पार्टी खराब छ, बाँकी दुई पार्टी झन् खराब छन् । मेरो पार्टीले थोरै काम गरेको छ, तर अरु पार्टीले त केही गरेकै छैनन् । कांंग्रेस खराब पार्टी हो भनेर म आफैंले भनिरहेको छु । तर, मलाई जनताले कांग्रेस भएर होइन, हाम्रो मान्छे हो भनेर भोट दिन्छन् ।

अनि कम्युनिस्टले जिते भने अधिनायकवाद ल्याउँछन्, रुन पनि पाइँदैन भन्ने कुरा कांग्रेस नेताहरुबाट आइरहेको छ किन हो ?

म त्यो सम्भावना देख्दिनँ । बिचारधाराको संघर्षमा नेकपा एमाले, नेकपा माओवादीको मालेमावाद र कांग्रेसको समाजवाद छाड्दिनुस । प्रजातन्त्र भनेको मुख्यतः व्यक्तिको स्वाधीन चेतनालाई केन्द्रमा राखेर गरिने चिन्तन हो । साम्यवाद भनेको चाहिँ व्यक्तिभन्दा पार्टी ठूलो हो भन्छ । अधिनायकवादी बिचारधाराका बाहक जसरी प्राचीन विचाराधारमा प्लेटो थिए, शंकराचार्य पनि थिए । हेगेल पनि थिए । यसको मतलब उनीहरुले अधिनायकवादी समाज बनाएका थिएनन्, उनीहरुको सोच अधिनायकवादी थियो, व्यक्तिले आँटेर अधिनायकवादी समाज बनाउने होइन ।

जुन यो सूचना संयन्त्रको विकास भएको छ, भूमण्डलीकरण आएको छ, यसको अगाडि कसैले चाहेर पनि अधिनायकवाद ल्याउन सक्दैन । एमाले र माओवादीले अधिनायकवाद ल्याउछन् भन्नु चुनावी प्रचारमात्र हो । शेरबहादुरजीले भनिरहनुभएको छ । यो कुरा म भन्छु, कुनै हालतमा अधिनावयकवाद ल्याउँदैनन् । तर, चुनावको बेला हो, म पनि भन्छु, आधारभूत रुपमा शेरबहादुर देउवा सही हुनुहुन्छ, एमाले माओवादी गलत छन् ।

ठूला दुई कम्युनिस्ट पार्टी मिलेका छन्, कांग्रेसले जति त्रास सिर्जना गरे पनि बहुमत त ल्याउलान् नि होइन ?

म त उनीहरु विरुद्ध कुनै पनि हालतमा बहुमत नल्याउन् भनेर चुनाव लडेको मान्छे । कथम कदाचित एउटै चुनाव चिन्हमा लडेका भए कदाचित (ठूलो अक्षरमा क) बहुमत पनि ल्याउने थिए । कदाचित ठूलो क हुन्छ । तर अहिले अलग अलग चिन्हमा लडेको ठाउँमा त बहुमत ल्याउछन् भन्ने लाग्दैन ।

एमाले जम्मा १०३ ठाउँमा उठेको छ, कांग्रेस १४५ स्थान भन्दा बढी ठाउँमा लडेको छ । समानुपातिमा कांग्रेसको जति सिट एमालेको आउँदैन । कुनै पनि हालतमा एमाले र माओवादी गठबन्धनको स्पष्ट बहुमतको सम्भावना म देख्दिनँ ।

त्यसोभए त प्रचण्ड र केपी ओलीको सहकार्य पनि चुनावसम्मलाई मात्रै हो त ?

विल्कुल । चुनावपछि सहकार्य प्रचण्ड र ओलीको हुँदैन । यसमा कुनै संशय छैन । कुन घटकसँग मिल्ने भन्ने कुरा प्रचण्डजीले त्यहीबेला निर्णय गर्नुहुन्छ । त्योबेला प्रचण्डलाई कांगेसले फेरि पनि काँध हाल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रदीप गिरीका प्रतिद्वन्द्वी भन्छन्- पहिले भाइलाई हराएँ, अब दाइको पालो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment