Comments Add Comment

प्रदीप गिरीका प्रतिद्वन्द्वी भन्छन्- पहिले भाइलाई हराएँ, अब दाइको पालो !

'प्रदीप गिरी विद्वान होइनन्ः गंगाप्रसाद यादव

१७ मंसिर, लहान । अनलाइनखबरकर्मीको टोलीसँग भेट्नासाथ एमालेका केन्द्रीय सदस्य तथा सिरहा १ का प्रतिनिधिसभा उम्मेदवार गंगाप्रसाद यादवले गुनासो गरे- तपाई मिडियावालासँग मेरा केही गुनासा छन् । केही नबुझी प्रदीप गिरीलाई चर्चित नेता, विद्वान, दार्शनिक नेता भनिरहनुभएको छ, एकपटक बस्तीपुर गएर सोध्नुस् गाउँलेहरुलाई कि उनीहरुको परिवारले कति मधेसीको उठिबास लगाइदिएको छ । गिरी परिवारले एउटै जग्गा ४ जनालाई बेचेर पैसा लिए, तर कसैले जग्गा पाएनन् ।

गंगा यादव रोकिएनन् र बोल्दै गए- प्रदीप गिरी तपाई मिडियावाला र हिन्दूस्तानका मान्छेहरुलाई के के न हो भन्ने लागेको होला, तर यहाँका जनता उनीहरुकै खान्दानबाट शोषित भएका छन् । दुई चारवटा किताब पढ्दैमा विद्वान भए होलान्, तर यस क्षेत्रका जनताले अहिलेसम्मको जमिन्दारी र शोषणाको हिसाब-किताब लिनेवाला छन् ।

यति भनिसकेपछि यादव चुनावी कुराकानी गर्न तयार भए । लहान नगरपालिकामा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा मेयर निर्वाचित भएका एमाले नेता मुनी साहले चलाएको होटल बिशालमा अनलाइनखबरकर्मीसँग कुरा गर्न आएका यादवले आफू धेरै मतले चुनाव जित्ने दावी पेश गरे ।

पहिले स्थानीय चुनावमा प्रदीप गिरीका भाइलाई गाविस अध्यक्षमा हराएका गंगा यादव यसपटक दाइलाई हराउने दाबी गरिरहेका छन् ।

संयोग के छ भने, प्रदीप गिरी र गंगाप्रसाद यादव एकै गाउँटोलका हुन् । गिरी राष्ट्रिय राजनीतिमा जति चर्चित छन्, गंगा यादव स्थानीस्तरमा त्यति नै चर्चित र भिजेका नेता हुन् । दुईपटक बस्तीपुर गाविसको अध्यक्ष निर्वाचित भएका गंगाको राजनीतिक जीवन नै गिरी परिवार विरुद्धको संघर्षबाट शुरु भएको हो । यसपटक चुनावी संघर्षमा उनले गिरीसँगै भिड्नुपर्ने भएको छ । हामीले कुराकानी पनि यहीँबाट शुरु गर्‍यौं ।

प्रदीप गिरीजस्तो चर्चित र दार्शनिक नेतासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, उहाँको व्यक्तित्वले नै तपाईलाई ओझेल पारेको होला होइन ?

प्रदीप गिरी राम्रो काम गरेर चर्चित भएका हो्इनन्, नराम्रो काम गरेर चर्चित भएका हुन् । तपाई मिडियावालाका लागि उनी चर्चित होलान, दार्शनिक होलान्, तर यहाँ गाउँघरतिर उनका बारेमा जनताको धारणा सकारात्मक छैन । मलाई प्रदीप गिरीको ठाउँमा अरु कुनै कांग्रेस नेता प्रतिस्पर्धामा आएको भए अलि गाह्रो पर्न सक्थ्यो । तर, गिरी आउँदा सजिलो किन पनि भएको छ भने हामी एउटै गाउँका बासिन्दा हौं । उनको खानदानको वृतान्त यहाँका सबैलाई थाहा छ ।

प्रदीप गिरीजी नेपालमा अहिलेसम्म कुनै पनि अधिकारका आन्दोलनमा उपस्थित हुनुभएको छैन । म त मधेसमै जन्मेर, मधेशी जनताकै लागि काम गरेको छु

यहाँका जनता गिरी परिवारबाट दुई पुस्तादेखि नै शोषित पीडित छन् । अन्त निरंकुशता, सामन्तवादको कुरा सुनिन्छ, तर यहाँ चाहिँ सामन्तवाद र शोषण दमन गिरी खानदानबाटै भएको छ । म त सानै उमेरदेखि तीनका विरुद्ध लड्दै राजनीतिमा आएको हुँ । शुरुमा शोषण विरुद्ध लडियो । पछि चुनावमा प्रदीप गिरीकै भाइसँग लडेर जितेको हुँ । यसपटक दाइसँग परेका मात्र हो, समग्रमा हाम्रो लडाइँ सधैं गिरी खानदानको शोषण विरुद्ध नै हो ।

उहाँजस्तो बौद्धिक नेतालाई तपाईले यति सारो लान्छना लगाउँदा जनताले कति पत्याउँछन् ?

त्यो त यहाँका जनतालाई थाहा छ । दोस्रो कुरा उहाँको बौद्धिक र दर्शनको उपयोग कहाँ भएको छ । प्रजातान्त्रिक समाजवादी भन्नुहुन्छ, २८ वर्षको अवधिमा उहाँको बौद्धिकताको प्रयोग कांग्रेसले कहीँ गरेको त मैले देखेको छैन । राज्यसत्ता सञ्चालनमा उहाँको बौद्धिकताको प्रयोग कहाँ गरेको छ कांग्रेसले ? यदि त्यस्तो नेता भएको भए त कांग्रेसले राज्य सञ्चालनमा उहाँलाई छुटाउने नै थिएन नि । बोक्रे गफाडीलाई तपाईहरुले बौद्धिक बनाइदिनुभएको छ ।

तर, उहाँले त कांग्रेसकै पनि गलत निर्देशन मान्नुहुन्न, जस्तो कि संविधावनमा हस्ताक्षर गर्न मान्नुभएन, अहिले पनि कांग्रेस खराब पार्टी हो भनिरहनुभएको छ, उहाँको व्यक्तित्व अलि फरक नै होइन र ?

उहाँले कांग्रेसको हृवीप किन मान्नुभएन, संविधानमा किन हस्ताक्षर गर्नुभएन,  त्यसको पछाडि अलग्गै राज छ । यो कुरामा धेरै नजाउँ, किनकि म अहिले धेरै आरोप लगाउनेवाला छैन । तर, कांग्रेसले स्वेच्छाले उहाँलाई उम्मेदवार बनाएको होइन । अरुको दबावमा कांग्रेसले उहाँलाई उठाउनु बाध्यता हो ।

कसको दबावमा कांग्रेसले उहाँलाई उठाएको होला त ?

त्यो को हो भन्ने दुनियाँलाई थाहा छ । मेरो मुखबाट किन बोल्न लाउनुहुन्छ ? संविधानमा हस्ताक्षर नगरेको, नाकाबन्दीको समर्थन गरेको कुराहरुबाट धेरै कुरा थाहा भइहाल्छ ।

तर, उहाँले संविधानमा हस्ताक्षर नगरेको कुरालाई चुनावी मसला बनाएर मधेसीको मन जित्ने प्रयास गरेको त देखियो नि ?

आफू प्रजातन्त्रवादी हुँ भन्ने व्यक्तिले असहमति जाहेर गर्ने लिखित रुपमा गर्ने प्रक्रिया हुन्छ । उहाँले संविधानसमामा अनुपस्थित भएर संविधान अनुमोदन गर्नुभएको छ । उहाँको असहमति भए त उहाँको लिखित असहमति हुनुपर्थ्यो । उहाँले संविधानमा मैले हस्ताक्षर गरिनँ भनेर जनतालाई सीधासाधा छन् भनेर ढाँट्दै हुनहुन्छ । संसदको तलबभत्ता खाने, बैठकमा अनुपस्पिथित हुने आफूले पाएको जिम्मेवारी पूरा नगर्ने ढोँगी व्यक्ति हो उहाँ ।

तर, यही कारणले उहाँ मधेसवादी र तपाई मधेस विरोधी भन्ने आरोप त निकै लागेको रहेछ नि, कति दबावमा हुनुहुन्छ तपाई ?

मलाई त उहाँले मधेस बिरोधी भनेजस्तै लाग्दैन र भन्ने हिम्मत पनि छैन । म त यहीँ जन्मेर यहीँको माटोसँग मिसिएको मान्छे हुँ । मेरो राजनीति नै मधेसी जनताको अधिकारको आन्दोलनमा बितेको छ । हरेक अधिकारका आन्दोलनमा भौतिक सहभागिता छ । बरु प्रदीप गिरीजी नेपालमा अहिलेसम्म कुनै पनि अधिकारका आन्दोलनमा उपस्थित हुनुभएको छैन । म त मधेसमै जन्मेर, मधेशी जनताकै लागि काम गरेको छु, म आफैं मधेसी हुँ । मधेसीको पीडा मलाई जति उहाँलाई के थाहा छ ? उहाँको त खानदानै मधेसीमाथि शोषणा गरेर आएको हो ।

तपाईको मुख्य चुनावी प्रतिस्पर्धा चाहिँ कोसँग हुने देख्नुहुन्छ, जबकि यहाँ फोरमका नेता पूर्वमन्त्री राजलाल यादव पनि कडै टक्करमा हुनुहुन्छ जस्तो छ होइन ?

मैले खासै प्रतिस्पर्धी देखेको छैन । प्रदीप गिरी र राजलाल यादव दुवैप्रति मेरो सम्मान छ । तर, उहाँहरु यसअघि पटक-पटक सांसद र मन्त्री भएर पनि केही काम गर्नुभएन भन्ने जनताले भनेका छन् । प्रदीप गिरी एकपटक प्रत्यक्ष र ८ वर्ष समानुपातिक सांसद हुनुभयो ।

तर, उहाँले जनताका लागि सिन्कोसमेत भाँच्नुभएन, यो मेरो आरोप होइन । एकपटक त उहाँको परिवारबाट दुईजना सांसद बन्नुभयो, उहाँ र उहाँकी बुहारी सरिता गिरी । तर पनि यस क्षेत्रको विकासमा कुनै काम भएन ।

तर, म दुईपटक गाविस अध्यक्ष हुँदा बस्तिपुरमा यी हाम्रा उम्मेदवारको घर अगाडि बत्ति लगिदिने मै हुँ । पानी लगिदिने मै हुँ, बाटो बनाइदिएको मैले नै हो । सानो बजेटबाट मैले जुन काम गरेको छु, त्यो त जनताले देखेकै छन् । यिनीहरुले ठूलो अवसर पाउँदा पनि केही गरेनन, मैले त सानो गाविस अध्यक्ष हुँदा नै काम गर्न सक्छु भनेर पुष्टि गरिसकेको छु ।

प्रदीप गिरीसँग प्रत्यक्ष चुनावी भेटचाहिँ पहिलोपटक हो ?

उहाँको र मेरो सिधै प्रतिस्पर्धा त पहिलो पटक हो । तर, अप्रत्यक्ष रुपमा धेरैपटक भएको छ । उहाँको भाइलाई म विरुद्ध गाविस अध्यक्ष लडाउनुभयो । उहाँ आफैं आएर मलाई हराउन लाग्नुभएको हो । तर, मैले उहाँको भाइलाई हराएँ । यसपटक दाइलाई नै हराउन पाइने भयो मलाई खुसी छ । गिरी खान्दासँगको यो आखिरी लडाइ हो मेरो ।

तपाईले स्थानीय तहको चुनावको परिणामलाई आधार बनाएर चुनाव जित्ने दाबी गरिरहनुभएको छ, तर प्रदीप गिरी आएपछि त स्थानीय तहको परिणाम भन्दा पनि राष्ट्रिय व्यक्तित्व भएका कारण मत तलमाथि होला नि होइन ? जस्तो कि लहानमा मुनी साहले मेयरमा पाएको मत तपाईलाई सबै आउँछ त ?

यो कुनै तर्क होइन । यहाँ प्रदीप गिरी र मेरो व्यक्तित्व स्थानीयस्तरमा गएर बुझ्न्स, काठमाडौको धारणाले होइन । अर्को कुरा, लाहानमा मुनी साह थियो, तर अन्त त मुनी साह थिएन । सखुवा नान्कारपटी गाउँमा ३०/३२ वर्षको युवाले गाउँपालिका अध्यक्ष जितेको छ एमालेबाट । सानो राजनीतिक जीवनमा उसले जितेको छ । यो एमालेको पक्षमा आएको मत हो । यो निरन्तरको मत हो, यो क्षेत्र मतको आधारमा कम्युनिस्ट बाहुल्य क्षेत्र हो । किसान आन्दोलनका बेला सामन्त जमिन्दारविरुद्ध ठूलाठूला आन्दोलन भएको ठाउँ हो । जालझेल, पैसा, मासुको खेल गरेर धोती सारी बाँडेर गरिव जनताको मत लिएर कतिपय अवस्थामा कांग्रेसले जितेको हो ।

त्यो त यसपालि पनि दोहोरियो भने त तपाई हार्ने हुनुभयो नि ?

त्यो अहिले पनि होला होइन भइरहेको छ । म जनताको घर घरमा मत मागेर हिँडेको छु । तर उहाँहरु क्याम्पिङ गरेर बस्नुभएको छ । मासु, दारुको भोज चलेको छ । गाउँका मुखिया ठेकेदार बोलाएर पैसा दिएर मत किन्न खोजिरहनुभएको छ । प्रदीप गिरी भोट गाउँमा गाउँमा जानुहुन्न, गाउँका केही मान्छे बोलाएर मोलतोल गरिरहनुभएको छ । तर, पैसा दिए पनि अब मत उहाँकोमा जाने कुनै सम्भावना छैन । मेरो जितप्रति कुनै शंका छैन ।

यो पनि पढ्नुहोस्

कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्- प्रदीप गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment